एकीकृत समाजवादीको बैठक बस्ने, के के कुराकोबारेमा छलफल गर्ने ?

काठमाडौं। एमसीसीबारे निर्णय लिन नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज (शनिबार)  बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए।

पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ।यस्तै, बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने छ।

खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिनेछ।सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी विरोधमा छन्।

शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग गरेका थिए।उनको आग्रह अनुसार प्रधानमन्त्री देउवाले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए।