बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। एमसीसी र गठबन्धनको भविष्यलाई लिएर आजको बैठक ‘निर्णयक’ हुने बताइएको छ।

बैठकमा प्रधानमन्त्री देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलगायत गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्।

गठबन्धनको जारी बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुनेछ। सरकारले बुधवार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने योजना बनाए पनि नेकपा माओवादी केन्द्रको असहमतिका कारण रोकिएको थियो। माओवादीले जबरजस्ती एमसीसी प्रतिनिधिसभामा अघि बढाए सरकार र गठबन्धन छाड्ने चेतावनी दिएपछि हिजोको बैठकमा एमसीसी पेश भएन।

प्रतिनिधिसभाको अर्को बैठक भोलिका लागि बोलाइएको छ। भोलि एमसीसी पेश गर्ने कांग्रेसले बताउँदै आएको छ। यसै विषयलाई लिएर अहिले गठबन्धनमा छलफल जुटिरहेको हो। गठबन्धनमा रहेको कांग्रेस एमसीसीकीको पक्षमा छ। तर, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनमोर्चा अहिलेकै स्वरुपमा एमसीसी पारित गर्ने पक्षमा छैनन्। जनता समाजवादीले भने आफ्नो मत सार्वजनिक गरिसकेको छैन।

एमसीसीमा सहमति नबने गठबन्धन कायम राख्ने वा विघटन गरेर दलहरू आ-आफ्नो बाटोमा लाग्ने निर्णय पनि गर्ने तयारी छ। यता प्रधानमन्त्री देउवाले कांग्रेसका नेताहरूमार्फत् प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरिरहेका छन्।