बिहेपछि रेखा थापाले भनिन्- ‘कर्णालीप्रति आकर्षित थिएँ, त्यहीँको केटासँग विवाह गर्न पाउँदा खुसी छु’

काठमाडौं– अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन्। उनले केही समयअघि कोर्ट म्यारिज गरेकी हुन्। जाजरकोट स्थानीय घर भएका अमेरिका निवासी व्यवसायी बलराम शाहीसँग विवाह गरेको उनले बताइन्।

शाहीसँग आफ्नो एक वर्षअघि भेट भएको र त्यही भेट प्रेममा परिणत भएर विवाह गरेको रेखाको भनाइ छ। आउने वैशाखमा विवाह गर्ने तयारी रहे पनि लगन नभएका कारण कोर्ट म्यारिज गरेको उनको भनाइ छ। विवाहबारे वैशाखमै जानकारी दिने तयारी भएपनि कोर्ट म्यारिजका क्रममा उपस्थित फ्यानहरुका कारण ‘लिक’ भएको उनले बताइन्।

उनले भनिन्, ‘विवाह गराइदिने न्यायाधीश (अधिकारी) पनि मेरो फ्यान हुनुहुँदो रहेछ। उहाँले खोइ, मास्क खोल्नुहोस् हेरौं भनेपछि अरुले पनि देखेका थिए।’ उनले राजनीतिमा आइसकेपछि आफ्नो पछाडि बलियो भरोसा हुनुपर्ने महसुस पनि गरेको बताइन्।
उनले भनिन्, ‘राजनीतिमा एक्लै महिलालाई अघि बढ्न सहज रहेनछ। सवैले विवाह गर्न प्रेसर पनि दिइरहेका थिए। त्यसैले मन परेको केटासँग विवाह गरेँ।’

आफू कर्णाली क्षेत्रसँग आकर्षित भएका कारण पनि त्यहीँको केटा भेट्दा अझ खुसी भएको बताइन्। उनले कर्णाली क्षेत्रकै विषयमा ‘मालिका’ फिल्म बनाएकी छिन्।