माधवकुमार नेपालसहित १४ सांसदको रिट पेशीबाट हटाइयो

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही र सो पार्टी खारेज गर्न दायर भएको रिटमा सुनुवाइपछि पेशी हटाइएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा रिट पेशी तोकिएको थियो।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट आज आइतबार हटाउन माग गर्दै निवेदन दिएपछि यो रिटलाई पेसीबाट हटाइएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको थियो।

लुम्बिनी प्रदेश सभा सचिवालयबाट प्रतिरक्षामा खटिएका व्यक्तिमा रुघा खोकी र ज्वरो देखिएपछि कोभिड आशंका भएको भन्दै पेशीबाट हटाउन माग गरिएको थियो। त्यहीकारण सोमबारबाहेक अरु दिनको पेशीमा यथाशिघ्र सुनुवाइका लागि पेश गर्न आजको इजलासले आदेश दिएको छ।

माधव नेपालसहित १४ सांसदलाई एमालेले गत साउनमा कारबाही गरेको थियो। तर सभामुख अग्नि सापकोटाले उनीहरुलाई कारबाही गरेको सूचना टाँस गरेका थिएनन्।

त्यहीबीचमा उनीहरुसहितलाई राखेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए। त्यसलाई समेत खारेज गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वारेसमार्फत रिट दर्ता गराएका थिए।

सर्वोच्चले यसअघि निर्वाचन आयोग र सभामुख सचिवालयबाट यससम्बन्धी निर्णय गर्दाका कागजात झिकाएको थियो। काममा रोक लगाउन अन्तरिम आदेश माग गरिए पनि अन्तरिम आदेश भने आएको थिएन।