सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज जन्मदिन ,कति वर्ष पुगिन ?

नेपाली फिल्म क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरको आज शुक्रबार जन्मदिन परेको छ । उनी आजबाट ५० बर्ष लागेकी छिन् । नेपाली फिल्म क्षेत्रका केही अभिनेत्री आफ्नो जन्मदिन भव्य रुपमा मनाउँदै आएका छन् । उनी भने जन्मदिन खासै मनाउने नगरेको बताउँछिन् ।

आज परेको जन्मदिनमा पनि उनको विशेष योजना केही रहेको छैन । उनी अहिले उपत्यका बाहिर छिन् । ‘अघिल्ला बर्षका जन्मदिन पनि सेलिब्रेसन नगरेकोले यो बर्ष पनि केही योजना छैन’ करिश्माले बताइन् ।कहिले राजनीति, त कहिले अध्ययन कारणले बेला बेलामा चर्चामा छाउने करिश्मा अहिले भने राजनीतिबाट टाढा छिन् । पछिल्लो समय व्यवसायमा समेत आवद्ध उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी छन् । आउँदो नयाँ वर्षभित्र आत्मकथा ल्याउने उनको योजना रहेको छ ।

विगत ४ बर्षदेखि ‘आत्मकथा’का लागि तयारी गर्दै आएकी करिश्माले पुस्तकमा आफूले अभिनयमा बिताएका, अभिनय क्रममा महसुस गरेका र सोचेका विभिन्न विषयवस्तुहरु समेट्न लागेकी छन् । आफ्नो जीवनका उतारचढाव समेत किताबमा समेटिने उनको भनाई रहेको छ ।

१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट अभिनय करिअर सुरु गरेकी मानन्धरले तीन दशक बढी समय नेपाली कला क्षेत्रमा बिताइसकेकी छन् । केही भारतीय फिल्ममा समेत काम गर्न सफल उनी एक समयकी सफल अभिनेत्री हुन् ।नेपाली फिल्म क्षेत्रमा सदावहार अभिनेत्रीको रुपमा परिचित उनी अहिले पनि अभिनयमा क्रियाशील छिन् । अभिनय मार्फत हरेक नेपालीको ढुकढुकी बन्न सफल उनका  कस्तुरी, ट्रक ड्राइभर, भाउजु, एक नम्बरको पाखे, जिन्दगी, बसन्ती, ढुकढुकी’ जस्ता एकसेएक सुपरहिट फिल्म छन् ।

करिव एक दशक अमेरिकामा समेत बिताएकी मानन्धरको पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा निर्माता र अभिनेत्रीको परिचय बनेको छ । उनी केही अगाडि बन्द भएको कमेडी रियालिटी शो ‘मुन्द्रे कमेडी क्लब’ मा अध्यक्षको रुपमा समेत रहेकी थिइन् ।