राप्रपाभित्र कोही असन्तुष्ट छैन: राजेन्द्र लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा मनोनीत पदाधिकारीलाई आज स्वागत गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन्।

निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको पनि उनले बताए। यो विषयलाई भविष्यमा टुंगोमा पुर्‍याइने उनको भनाइ छ। थापाले महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन हुनुपर्ने बताएका थिए।

‘अहिले कोही पनि सदस्य राप्रपाभित्र असन्तुष्ट हुने अवस्था छैन। निवर्तमान अध्यक्षजीसँग केही विषय छन् त्यसबारेमा हामी छलफलमै छौं। चाँडै हामी सकारात्मक सन्देश प्रवाह गर्छौं,’ उनले भने। अध्यक्ष लिङ्देनले २४ जनालाई पार्टी पदाधिकारीमा मनोनीत गरेका थिए।