र्यापर बालेन शाहले भने : ‘मलाई पैसाको अभाव छैन, सेवा गर्ने लक्ष्यका साथ मेयरमा उठ्न लागेको हुँ’

 

काठमाडौं। नेपालका युवा पुुस्तामाझ निकै लोकप्रिय र्यापर बालेन शाहले केही समय अगाडि नै काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्। आगामी स्थानीय तहको निर्वाचनमा उनले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनेमा हालै पुनः जोड दिएका छन्।

उनले सन्जय गुप्ताको युट्युब पोडकास्टमा आफूले काठमाडौंबासीको सेवा गर्नको लागि मेयरमा उठ्न लागेको बताए।पैसाको लागि मेयरमा उठ्न लागेको हो भन्ने प्रश्न बारम्बार आइरहने पनि उनको भनाइ छ। उनले आफूसँग पुग्दो सम्पत्ति भएकाले सेवाको लागि मात्र मेयरमा उठ्न लागेको पनि उल्लेख गरे।

उनले भनेका छन्,‘पैसाको लागि उठ्यो भनेर कसैले सोच्छ भने, ५ तलाको घर छ मेरो काठमाडौंमा सिधै भन्छु, मैले २५ वर्ष हुँदादेखि गाढी चढ्या हो आफैंले कमाएर। पैसाको लागि त हुँदै होइन। मैले गीत गाउँदा पनि पैसा आँउछ, डिजाइन गर्दा पनि पैसा आँउछ, सुपरभिजन गर्दा पनि पैसा आँउछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आँउछ, मैले इन्डोर्समेन्ट गर्दापनि पैसा आँउछ। मैले कहिँनिर बोल्दिदा पनि पैसा दिन्छन् आजभोली त।’

उनी थप भन्छन्,‘जे गर्दापनि पैसा आँउछ भनेपछि त्यो पैसाको लागि होइन। अनि नामको लागि त पहिल्यै म्युजिक गरिरहेकै छु, मान्छेले गीत सुनिरहेका छन्। चाहिने जति सबैले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन। मेरो बच्चा बेलामा टिचरहरुले सेवा गर्नलाई, काम गर्नलाई पद चाहिँदैन भनेर सिकाउनु भयो तर त्यो पदमा नालायकहरु बसेको पनि देख्न सकिँदैन भन्ने कुरा चाहिँ सिकाउनु भएको थिएन।

मलाई अब त्यो फिल भएको हो। ठिक छ पद चाहिँदैन काम गर्नको लागि, अहिलेसम्म त काम गरिरहेकै छु तर त्यो पदमा नालायक मान्छे बसेको त म देख्न सक्दिन नि, त्यो पनि त एउटा पाप हो नि त।

त्यो देखीदेखी पनि आफु चुप लागेर बस्नु त गल्ती हो नि। त्यहाँ रख्दिनु न त राम्रो मान्छे मैले यत्रो दुख किन गरिरहनु पर्थ्यो, मेरो त आरामको जिन्दगी चलिरहेको छ, आनन्दले चलाइन्थ्यो। मलाई त दुख गरिरहनु परेको पनि थिएन नि त, त्यहाँ राम्रो मान्छे राख्दिनु सबै काम गर्न सक्ने हामीले खोजेको जस्तो मेयर त्यहाँ हो भने त म किन जानु पर्यो त, जानै पर्दैन थियो नि।’