के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ ।

गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुगेपछि मेलम्चीको पानी फेरी काठमाडौँ आइपुग्नेमा अन्यौलता भएको हो । अघिल्लो वर्ष वैशाख र जेठ गरी २ महिनासम्म अस्थायी बाँधबाट काठमाडौँमा मेलम्चीको पानी आइपुगे पनि बर्सातमा भएको बाढी र पहिरोको वितण्डाले काठमाडौँबासीको सपनामा तुसारापात भएको थियो ।

मनसुनको समयमा हिमाली क्षेत्रदेखि आयोजना स्थलसम्म आएको पहिरो र  बाढीबाट मेलम्ची आयोजना स्थलमा झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान छ । आयोजना स्थललाई हिमालदेखि बगेर आएको ग्रेगानले छोपेको थियो भने आयोजना स्थलका पुल तथा निर्माण उपकरणहरू बगाएर क्षति पुर्‍याएको थियो ।

अहिले आयोजना स्थलमा थुप्रिएको सो ग्रेगान हटाउने काम सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले रातोपाटीलाई जानकारी दिए ।
उनले भने–‘बाढीले आयोजनाको हेडबक्स नै पुरिएको अवस्थामा थियो त्यो सफा गर्ने काम सुरु गरिएको छ । सफा गरिसकेपछि केही मर्मत सम्भार गर्नुपर्ने हुनसक्छ । त्यसपछि अस्थायी रूपमा भए पनि पानी ल्याउन सकिन्छ कि भन्ने आशा गरेका छौँ । अहिले हामीले हेडवर्क्स  डाइभर्सन सुरुङ र अम्बाथान अडिट सुरुङ गरी दुईवटै सुरुङ टालिएका छन् । त्यसलाई खोल्ने काम भइरहेको छ । त्यो खोलेर साधारण मर्मतका काम गर्‍यो भने पानी ल्याउन सकिन्छ भन्ने आधार हो ।’
सुरुमा सुरुङको टालिएको मुख खोल्ने र सो भित्र रहेको पानी पठाउन र रोक्नका लागि बनाइएको गेटको अवस्था परीक्षण गर्ने योजना रहेको पन्तले जानकारी दिए । आयोजना स्थलमा भौतिक संरचना नयाँ निर्माण गर्नुपर्ने सम्भावना कम रहेको र मुख्य रूपमा ढुङ्गा, बालुवा र लेदोले छोपिएको भाग खुला गर्ने काम रहेको छ ।

बाढी पहिरोले ल्याएको ग्रेग्रानले सबैभन्दा धेरै असर हेडवर्क्स मा पारेको छ । झन्डै तीन देखि चार लाख घन मिटर लेदो सहितको ढुङ्गा, बालुवा, गिट्टी र लेदोले सो भाग पुरेको आयोजनाको अनुमान छ । सो भाग सफाइ गर्न बढी समय लाग्ने र सुरुङमा पानी बगाउन मिल्के सम्मको सफाइ गर्ने योजना छ ।

उनले भने–‘अहिले थुप्रिएको ग्रेगानहरु हटाउने नै मुख्य काम हो । हाम्रो अनुमान पहिले बनेर पुरिएका संरचनाहरू फेरी बनाउनु पर्ने अवस्था नहोला भन्ने हो । भत्किएको रहेछ भने नयाँ बनाउनुपर्ने हुन्छ । सफा गर्दै जाँदा खेरी के कतिको क्षति छ थाहा हुनेछ । साधारण सुधार गरेर सञ्चालन गर्न सकिने रहेछ भने पानी आउँछ, काम नलाग्ने अवस्था रहेछ, सुरुङको गेट फेरी फेर्नुपर्ने अवस्था रहेछ भने विदेशबाट आयात गरेर जडान गर्नुपर्ने अवस्था आयो भने पानी आउन अझै केही बढी समय लाग्न सक्छ ।’

काठमाडौँ पानी पठाउने सुरुङको मुख्य प्रवेशद्वार झन्डै ३ सय मिटर रहेको अम्बाथान अडिटमा ग्रेगान छिरेको छ । सो अडिटभित्र झन्डै पाँच हजार घन मिटर लेदो थुप्रिएको हुनसक्ने उनले बताए ।

कुन परिमाणमा ग्रेगान  खाँदिएको छ सोही अनुसार छिटो सफाइको समय निर्धारण हुनेछ । मुख्य सुरुङभित्र भने ग्रेग्रान नपसेकोले सफाइ तथा मर्मतका लागि कम समय लाग्नसक्ने अनुमान गरिएको छ ।

आयोजना स्थलमा पुग्नका लागि अस्थायी सडक निर्माण भएपछि  एक साता अघिबाट काम सुरु गरिएको हो । पहुँच मार्ग स्थायी रूपमा निर्माण गर्नका लागि हालसम्म डिजाइनको काम नभएको हालका लागि आयोजनाको मुख्य सुरुङ मार्गमा पुग्नका लागि बगरै बगर डोजरले सडक जस्तो बनाएर त्यहाँसम्म पुग्ने पहुँच मार्ग बनाइएको पन्तले बताए ।

मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रो र अन्य केही स्थानीय ठेकेदारले संयुक्त रूपमा आयोजना स्थलमा काम गरिरहेका छन् ।

बाढी र पहिरोले थुपारेको गेग्रान सफाइ तथा सामान्य मर्मत गर्नका लागि सरकारले थप ३६ करोड बजेट व्यवस्था गरेको सूचना अधिकारी पन्तले जानकारी दिए ।

सरकारले यस वर्षको बजेट वक्तव्यमा आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर गरेको व्यवस्था अनुसार नै काम अघि बढाइएको पन्तले बताए । फागुनको मसान्तसम्म सफाइको काम सकियो भने चैतसम्ममा सुरुङमा पानी पठाएर परीक्षण गर्न सकिन्छ कि भन्ने अपेक्षा लिएको उनको भनाई छ ।

सुरुङको मुख खोलेपछि सुरुङभित्रको अवस्था के कस्तो रहेको छ भनेर परीक्षण गर्ने, सुरुङमा केही दिन हावा बहावका लागि समय दिने आयोजनाको योजना छ । सफाइपछि ‘कफर ड्याम’ बनाउने, हेडवर्क्सको ९ नम्बर गेट खोल्ने लगायतका काम हुनेछ ।

काम छिटो गर्नका लागि बिहानदेखि रातिको समयमा पनि काम भइरहेको छ । आयोजना स्थलमा अहिले तीनवटा डोजरबाट  सफाइको काम भइरहेको छ । डाइभर्सन टनेल तथा मुख टालिएका दुईवटा सुरुङ गरी तीनवटै स्थानमा सफाइको काम थालिएको हो ।

आयोजनामा स्थलमा तत्काल स्थायी बाँध बनाउने योजना नरहेको र बर्सातको समयमा आयोजना स्थलमा हुनसक्ने बाढी पहिरोको क्षतिलाई रोक्नका लागि के गर्न सकिन्छ भन्ने बारेमा अध्ययन भइरहेको आयोजनाको भनाई छ ।

आगामी वैशाखसम्ममा अस्थायी रूपमा काठमाडौँमा पानी ल्याउन सकिने मेलम्ची खानेपानी आयोजनाको उद्धेश्य रहे पनि सो समयमा काम सम्पन्न हुन्छ भन्ने कुनै निश्चितता भने छैन ।