नेपाल टेलिकमको ग्राहक संख्या २ करोड नाघ्यो, मुनाफा ७ अर्ब

काठमाडौँ, २२ माघ ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्राहकको संख्या २ करोड पुगेको छ । दूरसञ्चार प्राधिकरणको १८औं वार्षिकोत्सवको अवसरमा शनिबार सार्वजनिक गरिएको तथ्याङ्कमा गएको मंसिर मसान्तसम्ममा ग्राहक संख्या बढेर २ करोड २७ लाख नाघेको बताइएको हो ।

हाल मुलुकको करीब ७५ प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको सेवाको पहुँच पुगेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड १६ लाख ४५ हजार, सीडीएमएका ४ लाख ३८ हजार र पीएसटीएन सेवाका ग्राहक ५ लाख २९ हजार रहेका छन् ।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक १ लाख ७४ हजार तथा एफटीटीएच डाटा सेवाका ग्राहक १ लाख ५९ हजार रहेका छन् । गत कात्तिक महिनाको प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा ५४ प्रतिशत रहेको छ ।

गत मंसिरसम्ममा इन्टरनेट डाटा सेवातर्फ २ करोड २० लाख ९७ हजार भन्दा बढी प्रयोगकर्ता टेलिकमसँग आबद्ध भएका छन् । त्यसमध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १६ लाख ४५ हजार, एडीएसएलका १ लाख ३१ हजार ७ सय, एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता १ लाख ५९ हजार र वाई म्याक्स सेवाका प्रयोगकर्ता १८ हजार ५ सय रहेका छन् ।

जीएसएम फोरजी सेवाका ग्राहक करीब ८१ लाख ७४ हजार पुगिसकेको कम्पनीले जनाएको छ । कम्पनीले वायरलेस ब्रोडब्याण्ड सेवालाई पनि देशव्यापी रुपमा सञ्चालन एवं विस्तार गरिरहेको जनाएको छ । देशभर हालसम्म सम्पूर्ण ७७ वटा जिल्ला तथा ७२० स्थानीय तहसम्म यसको पहुँच पुगेको छ ।

कूल ४ हजार १८६ स्थान मध्ये ३ हजार ८१६ स्थानमा आयोजनाको कार्य पूरा भइसकेको कम्पनीले जनाएको छ । यसै आयोजना अन्तर्गत ६४० नयाँ टावर मध्ये ५०१ वटाको जडान सम्पन्न भई सो मध्ये ४ सय ५१ टावरबाट सेवा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने फाइबर टू दी होम सेवाको योजनालाई चालू आर्थिक वर्षमा निरन्तरता दिँदै सेवाको विस्तारलाई तीव्रता दिएको छ । उक्त सेवा हालसम्म देशका ६३ जिल्लामा पुगिसकेको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, मधेश र वाग्मती प्रदेशका जिल्ला, नगरपालिका र गाउँपालिकालाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउने कार्य द्रुत गतिमा अघि बढाइएको छ । सो क्षेत्रमा हालसम्म १ हजार १ सय १२ किमीमा कार्य सम्पन्न भएको, २६ स्थानमा उच्च क्षमताको डीडब्लूडीएम प्रणाली जडान भसकेको छ । २४ स्थानमा फाइबर सेवा सञ्चालनमा ल्याइसकेको एवं सम्पूर्ण ४७ स्थानमा कोर राउटर जडान कार्य सकिएको पनि प्राधिकरणले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउने गरी हालै सम्झौता भई कार्य अगाडि बढाइएको छ । उक्त क्षेत्रमा हालसम्म १०० किमी क्षेत्रमा फाइबर बिस्तार भएको, २२ स्थानमा डीडब्लूडीएम प्रणाली जडान भई १६ स्थानमा सञ्चालनमा ल्याउने कार्य जारी रहेको र कोर राउटर जडान कार्य समेत सुरु भएको छ ।

नेपाली नागरिकलाई वित्तीय पहुँच सहज रूपमा पुर्‍याउने उदेश्यले टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा सहायक कम्पनी स्थापना गरी नमस्ते पे सेवा पनि सञ्चालनमा ल्याएको छ । प्रथम चरणका सेवाहरूको रूपमा बैंकबाट वालेटमा टपअप गर्ने, दूरसञ्चार सेवाको रिचार्ज गर्ने, विद्युत तथा खानेपानीको महशुल तिर्ने लगायत सेवा उपलब्ध भइसकेका छन् । हाल यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्था थप गर्ने कार्य भइरहेको टेलिकमले जनाएको छ ।

आगामी दिनमा बस तथा हवाईजहाज टिकट खरिद गर्ने, इन्टरनेट, टिभी, स्कूल कलेजको बिल तिर्ने लगायत सेवा थप्ने कार्य योजना रहेको टेलिकमले जनाएको छ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, क्यासलेस सोसाइटीको परिकल्पनालाई साकार पार्ने र वित्तीय पहुँच विस्तार गरी सुशासन र वित्तीय कारोबारमा पारदर्शिता कायम गर्नमा यसले महत्वपूर्ण योगदान दिने टेलिकमको दाबी छ ।

कोभिड–१९ महामारीको असहज परिस्थितिकाबीच आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कूल आय ४२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको खुद मुनाफा ७ अर्ब १३ करोड रुपैयाँ भएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २१ अर्ब ४३ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । सो रकम कम्पनीले गत आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा प्राप्त गरेको राजश्वको तुलनामा ५.७५ प्रतिशतले बढी रहेको देखिएको छ ।