जात अनुसार प्युठानमा जल्दैछन् अलग अलग चिता

प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ।

आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो।

गौमुखी गाउँपालिका वडा नं. ६ का ३२ वर्षीय खिमबहादुर खत्रीको झिम्रुक खोला अन्तर्गत शालिकी सोना घाटमा चिता जल्दैछ।

त्यस्तै ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का, ११ वर्षीया छोरी एलिशा खड्का, मृतक वसन्तकी बुहारी तथा उपचाररत घाइते २५ वर्षीय बेहुला दानबहादुर खड्काकी दिदी २९ वर्षीया केशरी खड्का र बेहुला दानबहादुरकी ठूली आमा तथा वसन्तकी भाउजु ५२ वर्षीया नन्दी खड्कासहित पाँच जनाको झिम्रुक खोला अन्तर्गतको भन्च्याङ्खोला घाटमा जलाइएको छ।

त्यस्तै सोही वडाका जिप चालक ५२ वर्षीय बलबहादुर बुढामगरको लिवाङकै गुप्तीचौर घाटमा अन्त्येष्टि भइरहेको छ।

बुढा मगरमा जलाउने र गाड्ने दुवै संस्कार भएको हुँदा कसरी अन्तेष्टि गर्ने भन्ने एकीन नभएको स्थानीय दीपक वलीले सेतोपाटीलाई बताए।

त्यस्तै गम्भीर घाइते भइ उपचाररत दुलही १९ वर्षीया रीमा जिसीकी बहिनी नौबहिनी गाउँपालिका ६ लुङकी १८ वर्षीया बिपना जिसीको अन्त्येष्टि उनकै गाउँमा गरिने वलीले सेतोपाटीलाई जानकारी दिए।

शोकमा चिसो नभनी र रातदिन नभनी सबै गाउँले एकै ठाउँमा भेला भएको वलीले बताए। ‘हाम्रो संस्कार हो, दुःखको क्षणमा यताउता पुग्ने,’ वलीले भने, ‘हामी एक पटक यताको चिता जलाउन र त्यसपछि अर्को तर्फको चिता जलाउन सहभागी हुँदैछौं।’

गाउँ पुरै शोक र सन्नाटामा रहेको हुँदा चिता जलाउन लैजाँदाको क्षण शब्दमा उल्लेख गर्न सम्भव नरहेको स्थानीय दीपक वलीले तर्क गरे।

पोष्टमार्टम गर्न ढिला भएपछि बेलुका मात्रै शव अन्त्येष्टीको तयारी गरिएको वलीले जानकारी दिए।