हिउँदे झरीले इट्टा गलाउँदा ३३ करोड बढीको क्षति

दुई दिनदेखि परेको अविरल झरीका कारण इट्टा गल्दा सर्लाहीमा करिब ३३ करोड बराबरको क्षति भएको छ। पकाउनका लागि तयारी अवस्थामा रहेको काँचो इट्टा गल्दा करिब ३३ करोड बराबरको क्षति भएको सर्लाही इट्टा उद्योग व्यवसायी संघले जनाएको छ।

जिल्लामा ९३ वटा इट्टा उद्योगहरु छन्। सबै इट्टा उद्योगको काँचो इट्टा झरीले नष्ट पारेको संघले जनाएको छ। करिब १५ दिन अगाडि आएको वर्षाले केही थोरै क्षति भएको थियो। तर दुई दिनदेखि परेको अविरल झरीका कारण बढी नोक्सान भएको संघका अध्यक्ष मेथुर चौधरीले जनाएको छ।

मेरो दुईवटा उद्योगमा मात्रै १ करोड ५० लाखभन्दा बढीको क्षति भएको अध्यक्ष चौधरीले बताएका छन्। दुईवटा उद्योगमा पकाउनका लागि तयारी अवस्था राखेको करिब ५० लाख काँचो इट्टा गलेर नष्ट भएको छ। एउटा काँचो इट्टा तयार गर्न करिब ३ रुपैँया खर्च हुन्छ। जिल्लामा रहेको प्रत्येक उद्योगमा करिब ५० लाखभन्दा बढी नै क्षति भएको छ।

दुई दिनको झरीले इट्टा उद्योगलाई तनाव दिन काम गरेको छ। सानो पूँजी हुने उद्योगीलाई उठिबास नै बनाएको छ। उद्योग कसरी चलाउने? बैंकको ऋण कसरी तिर्ने भन्ने तनाबमा छन् उद्योगीहरु। बैंकबाट ऋण लिएर व्यवसाय गरेका उद्योगीको हाल बेहाल रहेको अध्यक्ष चौधरीले बताए। ‘सिजनको सुरु वा अन्त्यमा पानी परेको भए यति धेरै क्षति हुँदैन्थ्यो,’ अध्यक्ष चौधरीले भने, ‘सिजनको बीचमा पानी पर्दा यत्रो ठूलो क्षति भएको छ।’

यसरी कात्तिक वा फागुन तिर पानी परेको देखेको थिएँ। तर, माघ महिनामा यसरी पानी परेको कहिले देखेको पनि थिएन र सुनेको पनि थिएन। काँचो इट्टाको इन्स्योरेन्स पनि हुँदैन। सरकारले इट्टा उद्योगीलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ। होइन भने धेरै उद्योगीलाई घरबार बेच्नुपर्ने अवस्था आउँछ।

चन्दन इट्टा उद्योगका सञ्चालक चन्दन यादवले आफ्नो उद्योगमा तयारी अवस्थामा रहेको इट्टा गल्दा समस्या भएको बताए। ब्रहम्पुरी गाउँपालिका ५ पडरियामा रहेको उद्योगमा पकाउनका लागि ठीक पारेर राखेको करिब १० लाख काँचो इट्टा गलेर नष्ट बनेको छ। अब कहाँबाट लगानी उठाउने त्यो चिन्ता थपिएको यादवले बताए।

दुई दिने झरीले इट्टा उद्योगीलाई ठूलो धक्का दिएको संघका सचिव भगवान मैनालीले बताए। आफ्नो पनि करिब ४ लाख काँचो इट्टा गलेको छ। त्यो बनाउन लागेको लागत कहाँबाट तिर्ने भन्ने टेन्सन छ। अधिकांश उद्योगीहरु ऋण काढेर उद्योग सञ्चालन गरेको थियो। अब कसरी ऋण तिर्ने, मजदुरलाई कहाँबाट पैसा दिने भन्ने चिन्ता थपिएको सचिव मैनालीले बताए। यस्तो विपत्ति कहिले पनि परेको थिएन। चारैतिरबाट उद्योगीलाई नै मार्ने काम भएको छ।