सर्त संशोधन नगरी एमसीसी पारित हुँदैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष दाहालले एमसीसीको सर्त संशोधन नभई कुनै हालतमा पनि पारित नहुने बताए ।

‘हामीले अमेरिकी सहयोग लिनै हुन्न भनेका छैनौं, अन्य सहयोग लिई पनि राखेका छौं, एमसीसीमा भएका केही प्रावधान संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन,’ अध्यक्ष दाहालले भने ।

एमसीसीकै कारण गठबन्धन टुट्ने कुरा हल्ला मात्रै भएको बताउँदै पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म नै रहने दाबीसमेत उनले गरे । पाँच दलीय गठबन्धन टुटाउनका लागि अनेक षड्यन्त्र भइरहेको बताउँदै उनले जति षड्यन्त्र गरे पनि सफल नहुने बताए ।

प्रमुख प्रतिपक्षी एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको दाहालको आरोप छ । अहिले एमसीसी पारित हुने कि नहुने चर्चा भइरहेका बेला उनले यही बीचमा गठबन्धन फुटाउने खेलसमेत गम्भीर रूपमा भइरहेको बताए ।

स्थानीय निर्वाचन जेठमा हुने उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीका हरेक गतिविधि गाउँ केन्द्रित बनाउनुपर्ने बताए । ‘पार्टी नेतामुखी, सहरमुखी भएको जनगुनासो आइरहेका छन् । तपाईंहरू गाउँ र जनतामुखी भएर लाग्नुस् । स्थानीय चुनावमा जनताको मन जितेर पहिलो शक्ति बन्नुस्,’ उनले भने ।

निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय चुनाव गर्न गरेको प्रस्तावप्रति सरकार सकारात्मक बनेसँगै दाहालले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित पार्टीको कार्यक्रम अगाडि बढाउन निर्देशनसमेत दिएका छन् । स्वकीय सचिव रमेश मल्लका अनुसार दाहालले कर्णाली प्रदेश कमिटीलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित हुन निर्देशन दिएका हुन् ।