म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

लन्डन । च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति युनाइटेड घरेलु मैदानमा भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित हुँदै युनाईटेड बाहिरिएको हो ।

निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा युनाईटेडका ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो, ह्यारी मग्वाएर, डिएगो डालोट, स्कट म्याकटोमीने, फ्रेड र हुवान माटाले गोल गरे भने एन्थोनी इलंगा गोल गर्न चुके ।

मिड्ल्सब्रोका मार्टिन पाएरो, प्याडी म्याकनेयर, ली पेल्टाएर, डेल फ्राई, डुनकान वाट्मोर, सोल बाम्बा, मार्कुस र जोनी ह्वाउसनले गोल गरे । निर्धारित खेलको २५ औं मिनेटमा जेडान सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । तर, ६४ औं मिनेटमा म्याट क्रोक्सले गोल गर्दै मिड्ल्सब्रोलाई १–१ को बराबरीमा ल्याएका थिए ।