प्रशिक्षक अलमुताइरीलाई प्रधानमन्त्रीले गरे नगदसहित सम्मान

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नगदसहित सम्मान गरेका छन्।

चार महिनाअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई यसअघि सरकारले जनही ५ लाख रुपैयाँ प्रदान गरेको थियो।

त्यतिबेला अलमुताइरी नेपालमा नभएकाले सम्मानमा उपस्थित हुन पाएका थिएनन्। त्यहीँ सम्मान अलमुताइरीलाई शुक्रबार प्रदान गरिएको हो।

सरकारले खेलाडीहरूलाई जनही नगद ५ लाख र प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो। अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदा नेपालले च्याम्पियन बन्ने अवसर भने गुमाएको थियो।