‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रियसभा र त्यस अन्तरगतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ ।  पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी कांग्रेस, भारतको माथिल्लो सदन र अष्ट्रेलियाका संसद र संसदीय प्रणालीहरुको अनुभव समेत समेटिएको छ ।

शुक्रबार सिंहदरवारमा आयोजित सो पुस्तकको छलफल कार्यक्रममा संसद सचिवालयका महासचिव भरतराज गौतमले राष्ट्रियसभा र यसका समितिहरुका कामबारे जानकारी गराउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले पुस्तकमा राष्ट्रियसभा र त्यसका समितिहरुमा विधेयकका बारेमा हुने छलफल, समितिका सभापतिहरुको अनुभव र संसदीय समिति प्रणालीबारे विभिन्न देशका अनुभवहरुलाई समेत समेटिएको बताए ।

राष्ट्रियसभा अन्तरगत दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोेजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन  । संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति संयुक्त समितिको रुपमा रहेका छन । ती सबै समितिका सभापतिहरुको अनुभूति  पुस्तकमा समावेश गरिएको छ ।

त्यसैगरी पुस्तकमा सांसदहरुले समितिमा काम गर्दाको समितिगत प्रणालीबारे पनि जानकारी दिने प्रयास गरिएको छ । राष्ट्रियसभाको समिति प्रणालीबारे जानकारी दिने उद्देश्यले प्रकाशित यो पुस्तक राष्ट्रियसभा र त्यसका समितिहरुका कामलाई अझ प्रभावकारी बनाउन उपयोगी हुने विश्वास लिइएको संघीय संसद सचिवालयले जनाएको छ ।