आज शुक्रबार यसरी गर्नुहोस् सन्तोषी माताको पूजा (पूजाविधिसहित)

धार्मिक आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् ।आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ ।

धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन्।माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ ।

खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।सुख–सौभाग्यको कामना गर्दैं लगातार १६ शुक्रबार सन्तोषी माताको ब्रत बसेपछि सन्तोषीमाताको ब्रत पूरा हुन्छ । सन्तोषी मातालाई धनकी देवी लक्ष्मीको अवतारका रुपमा समेत लिइन्छ ।

पूजा विधिका लागि आवश्यक सामग्री:सन्तोषी माताको तस्वीर,कलश,पानको पात,फूल,प्रसादका रुपमा चना तथा गुड,आरतीका लागि कपूर,अगरबत्ती
दीपक,हल्दी,कुमकुम,कलश स्थापनाका लागि नरिवल,पहेलो अक्षता,यी सामग्रीहरु तयारी पारेपछि सूर्यदय हुनुपूर्व नै उठेर घरलाई सरसफाई गर्नुस् । नुवाई धुवाई गरेर पूजा प्रारम्भ गर्नुपर्छ ।

सवैभन्दा पहिले घरको पवित्र स्थानमा सन्तोषीमाताको तस्वीर, मूर्ति, प्रतिमा राख्नुस् । उक्त तस्वीर नजिकै एक सफा भाँडोमा पानी भरेर त्यसमा चना र गुड राख्नुपर्छ । प्रतिमाको नजिक कलस राखी गाईको घ्यूको दियो, अगरबत्ती बाल्नुहोस् । पूजा सामग्रीहरु फूल, पानको पात, पहेलो अक्षता, कुमकुम, नरिवललगायत प्रतिमाको वरिपरि राख्नुस् ।

त्यसपछि सन्तोषीमाताको कथा वाचन गर्नुस् । पूजा सम्पन्न गरिसकेपछि अन्य भक्तजनहरुलाई उक्त गुड र चना प्रसादका रुपमा बाड्नुस् ।घरलाई पवित्र बनाउन उक्त भाँडोमा भएको पानी घरका कुना कुनामा छर्नुस् । हरेक शुक्रबार (१६ शुक्रबार) सम्म यही विधि अपनाउनुपर्छ ।

जुन दिन व्रतको समापन गरिन्छ त्यो दिन ८ जना बच्चालाई खीर र पुरीको भोजन गराउनुपर्छ । यसका साथै ती बालबालिकाहरुलाई दक्षिणका साथ केरालाई प्रसादका रुपमाा ग्रहण गराउनुपर्छ ।सन्तोषी माताको व्रत बस्ने व्रतालुले अमिलो फलफू, सागसब्जी सेवन गर्नुहुँदैन ।