आज विश्व क्यान्सर दिवस

भरतपुर, २१ माघ ।
आज विश्व क्यान्सर दिवस । ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन् ।

नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । वातावरण र खानपानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएका चिकित्सकको भनाइ छ ।

त्यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताइएको छ । नेपालमा बर्सेनि १५ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ ।

फोक्सोमा क्यान्सर हुने प्रमुख कारण धूमपान रहेको चिकित्सकले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाका अनुसार झन्डै ९० प्रतिशतलाई धूमपानका कारण क्यान्सर हुने गर्दछ ।

धूमपानपछि वंशाणुगत कारणले फोक्सोको क्यान्सर हुने गरेको डा. पियाको भनाई छ । विभिन्न अंगमा हुने क्यान्सरमध्ये बढी मानिसमा फोक्सोका क्यान्सर हुने गरेको छ । विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौँ मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।

सैबीच नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा सोमबार विभिन्न कार्यक्रम गर्दैछ । धूमपान र मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकले सुझाव दिएका छन् ।