म चाहेर पनि मेरो छोरीलाई लोक-दोहोरी गायिका बनाउन सक्दिँन : राजु परियार

काठमाडौं । वरिष्ठ लोकदोहरी गायक राजु परियारले पछिल्लो समय लोक गीतहरुमा धेरै विकृतिहरु आएको बताएका छन् ।न्यूज २४ टेलिभिजनको इ टक कार्यक्रममा बोल्दै उनले चाहेर पनि विकृतिकै कारण आफ्नो छोरीलाई लोकदोहोरी गायिका बनाउन नसक्ने पनि उनले बताए ।

उनले अहिलेका गीतहरु मैले गाएको गीत यो हो भनेर परीवारलाई सुनाउन नसकिने अवस्थामा पुगेको भन्ने तर्कलाई पनि स्वीकार गरेका छन् ।कार्यक्रममा बोल्दै उनले भने, ‘पछिल्लो समय नेपाली लोकदोहोरीमा धेरै विकृतिहरु छन्। विकृतिहरुकै कारण म मेरो छोरीलाई लोकदोहोरी गायिका बनाउन सक्दिँन।’

नेपालमा गीतसँग सम्बन्धिन धेरै निकायहरु रहेपनि त्यसले के काम गरिरहेको भन्ने थाहा नपाएको उनको भनाइ छ । उनले लोक दोहोरी गीत सबैपरीवारमा बसेर सुन्न सकिने हुनुपर्ने बताए । उनले लोकदोहोरी गीतमा विकृति बढेको प्रति चिन्ता रहेको बताए।

उनले लोकगीत क्षेत्रमा पछिल्ला पुस्ताहरु धेरै राम्रो आएको विकृतिको पछि नलाग्न सुझाव दिए । उनले पछिल्लो समय एक हप्ते र तीन दिने गीतहरु मात्रै सुन्न थालिएको बताए । कालजयी गीतहरु स्रोताहरुले सुन्न छोडेको पनि बताए ।‘अहिले त हामीले एक हप्ते, तीन दिने गीतमात्रै सुन्न थाल्यौँ। कालजयी गीतहरु त सुन्नै छाड्यौँ,’ उनले भने, ‘हामीले पनि कालजयी गीतहरु खोज्नै छाड्यौँ।’

उनले पछिल्लो समय कलाकारहरु युट्युवमुखी भएको पनि आरोप लगाए । उनले भने, ‘विउ हालेपछि युट्युवले डलर झारिदी हाल्छनी भन्ने तिर लाग्यौँ।’कतिपय गायिक तथा गायकहरुलाई युट्युव कम्पनीले तपाईहरुले यही तरिकाले गीत गाउँनुपर्छ है भनेर बाध्यतामा पार्ने गरिएको पनि बताए ।

कलाकारहरुलाई युट्युव कम्पनीहरुले नै यस्तो गीत गाउनु पर्छ भनेर बाध्य पार्ने गरेको सुनाए । उनले भने, ‘तपाईलाई यो शब्दा गीतमा हाल्नै पर्छ है भनेर भन्ने गरेको पनि पाइएको छ। भ्युजका लागि।’गायक परियार लामो समयदेखि लोकदोहोरी गायन क्षेत्रमा सम्बद्ध छन् । उनले हालसम्म १६ हजार बढी गीतहरुमा स्वर भरिसकेका छन् ।