माओवादी केन्द्रका नेता प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुखबीच सहकार्यबारे छलफल

माघ-१८, काठमाडौं ।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ् थाओबीच भिडियो कुराकानी भएको छ। शनिबार भएको कुराकानीमा चीनका विदेशमन्त्री तहका नेता सुङ्ले प्रचण्डलाई पार्टी अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिनुभयो ‘चीन र नेपाल पहाड र नदीले जोडिएका मित्रवत् छिमेकी र विकास साझेदार हुन् र उनीहरुको साझा भविष्य छ’सुङ्ले कुराकानीमा भन्नुभयो।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अनुसार सुङ्ले कुराकानीमा चिनियाँ राष्ट्रपति सी चिनफिङको अक्टोबर २०१९ मा भएको ऐतिहासिक नेपाल भ्रमणको चर्चा गर्दै उक्त भ्रमणमा दुई देशले विकास र समृद्दिका लागि रणनीतिक साझेदारी र मित्रताको सम्बन्ध स्थापित गरेको स्मरण गर्नुभयो।
‘दुई देशबीचको सम्बन्ध तीब्र विकासको नयाँ युगमा प्रवेश गरेको छ। चिनियाँ पक्ष नेपालसँग विगतमा शीर्ष तहमा भएका सहमति अनुसार सम्बन्धलाई अझै विकसित गर्न मिलेर काम गर्न चाहन्छ’, सुङ्ले कुराकानीमा भन्नुभयो।

चिनियाँ नेता सुङ्ले चीनले नेपालका राजनीतिक दलहरूसँग पारस्परिक राजनीतिक विश्वासका आधारमा परम्परागत सम्बन्धलाई अझै गहिरो बनाउन चाहेको बताउनुभएको नेपालखबर अनलाइनले जनाएको छ।‘नेपालसँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्क भित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीन चाहन्छ। ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटीका माध्यमबाट दुवै देश र जनतालाई लाभ हुनेगरी सहकार्य अघि बढाउने हाम्रो चाहना हो, उहाँले त्यस अवसरमा भन्नुभयो।

सुङ्ले चिनियाँ कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपालका प्रमुख राजनीतिक दलहरूसँग लामो समयदेखि छलफलमा रहेको बताउँदै त्यसले चीनसँग स्वस्थ र स्थिर सम्बन्ध विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। ‘हामी सत्तारुढ माओवादी केन्द्रसँग सम्बन्ध गहन पार्न चाहन्छौं। हाम्रा साशनका अनुभव साटासाट गर्न चाहन्छौं। पार्टी—पार्टीबीचको सम्बन्ध सुदृढ गर्दै चीन—नेपाल मित्रता तथा क्षेत्रीय शान्ति र स्थिरताका लागि अझै बढी योगदान गर्न चाहन्छौं’, सुङ्ले भन्नुभयो।
त्यस अवसरमा सुङ्ले चिनियाँ राष्ट्रपतिले विश्व आर्थिक मंच २०२२ मा भिडियोमार्फत् दिएको मन्तव्यबारे पनि जानकारी गराए। चीनले अघि बढाएका आर्थिक र सामाजिक विकासबारे पनि उहाँले प्रचण्डलाई बताउनुभयो। त्यसैगरी बेइजिङ हिउँदे ओलम्पिकको तयारीबारे पनि उहाँले अध्यक्ष प्रचण्डलाई जानकारी गराउनुभयो।
भिडियो कुराकानीमा प्रचण्डले चीनले नेपालको आर्थिक तथा सामाजिक विकास र कोरोना महामारीसँग लड्न दिएको सहयोगका लागि धन्यवाद दिनुभयो। उहाँले चिनियाँ नयाँ बर्ष र बेइजिङ विन्टर ओलम्पिकको पूर्ण सफलताको लागि शुभकामना दिनुभयो। त्यस अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्ध र सहकार्य सुदृढ गर्दै दुई देशबीचको सम्बन्ध सकारात्मक रुपमा विस्तार गर्नेबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागले जनाएको छ।