यौनकथा- देवेन्द्रकी स्वास्नी

दुई चारजना अल्लारे ठिटाहरूसित पनि सङ्गत थियो देवेन्द्रको । सङ्गत यस अर्थमा थियो कि देवेन्द्र उनीहरूसँग कहिलेकाहीँ, कहिलेकाहीँ मात्र भेट्ने गर्थ्यो । देवेन्द्र अविवाहित ठिटो थियो र ती ठिटाहरूलाई पनि विवाहित भन्न त मिल्दैनथ्यो तैपनि उनीहरूका अनौपचारिक स्वास्नीहरू थुप्रै-थुप्रै भैसकेका थिए । देवेन्द्रले गाउँघरमा त्यति लेखपढ गर्ने मौका पनि पाएको थिएन ।

दिन बित्दै थिए, देवेन्द्रको बिहेको कुरा चल्यो । ती अल्लारे ठिटाहरू देवेन्द्रलाई अनेक कुराहरू भनेर जिस्काउँथे । तर देवेन्द्र उनीहरूको अधिकांश कुराहरू बुझ्दैनथ्यो र केही बुझ्थ्यो खिस्स हाँस्थ्यो ।

देवेन्द्रको विवाह पनि निकै नजिक आइसकेको थियो । … अल्लारे ठिटाहरूले कुरा मिलाए, देवेन्द्रलाई उसको विवाहको एकदिन अगाडि एउटा कुरा देखाउने भनेर । नभन्दै गाउँबाट दुई घण्टा सानो सहर बस्तीमा त्यसको लागि कुरा मिलाइयो ।

.. र देवेन्द्रलाई हाट्हुट्‌ गरेर विवाहको अघिल्लो दिन ती ठिटाहरूले गाउँ बाहिर भगाएर लगे । देवेन्द्र बिचरो सोझो थियो । उसले ती मशहुर अल्लारे ठिटाहरूले बनाएको कार्यक्रमलाई डरैले पनि नकार्न सकेन । केही दिनपछि ऊ पनि एउटी तरुनी स्वास्नी लिएर गाउँघरमा हिँड्ने भएको थियो – उसलाई लाग्यो यस्ता अल्लारे ठिटाहरूको केही भर हुँदैन, रिसको झोकमा भोलि केही गर्न पनि सक्दछन्‌ । त्यसैले उनीहरूको कुरा मान्नु नै ठीक लाग्यो उसलाई ।

देवेन्द्रलाई एउटा घरभित्र छिराइयो … । पूरा दुई घण्टासम्म देवेन्द्रलाई बीचमा राखेर उनीहरूले एउटा भिडियो चलचित्र हेरे – अश्लीलताले पराकाष्ठा छोएको त्यो चलचित्र हेरेर देवेन्द्रले सुरुको दश-पन्ध मिनेट त आफ्नै आँखालाई पनि विश्वास गरेन । ती अल्लारे ठिटाहरू भने देवेन्द्रको मुखाकृतिलाई हेरेर खूब रमाई-रमाई हाँसिरहेका थिए । तर धेरै बेर लागेन – देवेन्द्रलाई पनि त्यो चलचित्रले तान्न । अब त चलचित्रभित्रका दृश्यहरू हेरेर बेलाबेलामा दर्शकको झुन्डबाट आउने हाँसो र अनेक प्रकारका आवाजहरूमा देवेन्द्रको हाँसो पनि थपिन थालिसकेको थियो ।

****

आज देवेन्द्रले दुलही भित्र्यायो । तर उसको मस्तिष्कलाई हिजोको चलचित्रका अनेक रोमाञ्चक दृश्यहरूले नै हुँडलिरहेकै थिए । रात निकै छिप्पिसकेको थियो । अब उसले सोच्यो घरमा सबै सुतिसके … । उसले आफ्नी स्वास्नीलाई हिजोको चलचित्रकी सुन्दरी ठिटिभैँ देख्यो र अनेक प्रयत्नद्वारा त्यस्तै आकृतिमा बदल्न खोज्यो । तर स्वास्नीले उसको शरीरलाई धकेल्दै पर हुत्याइदिई ।

“म रण्डी त होइन नि यस्तो गर्न, लोग्ने-स्वास्नीको झैँ व्यवहार गर्नुस्‌ न … कि चाहिँ यस्तै गर्न मन छ भने बाहिर जानुस्‌ रण्डी खोज्न … म मेरो गहना दिउँला … ।” देवेन्रकी स्वास्नी अझ बरबराउँदै थिई । तर देवेन्द्र छक्क पर्यो, केही बोल्न सकेन । चुपचाप भित्तातिर कोल्टे फर्केर सुत्यो ।

***
पाँच वर्ष बित्यो देवेन्द्रको एउटा पनि सन्तान भएको थिएन । तैपनि देवेन्द्र हँसमुख नै देखिन्थ्यो । ऊ गाउँबाहिर बराबर जान्थ्यो र घण्टौँ गायब हुन्थ्यो । देवेन्द्रकी स्वास्नीको अनुहारमा तेज थिएन । सन्तानको लागि देवताको भाकलदेखि डाक्टरको सल्लाह लिने कामसम्म उसले गरिसकेकी थिई । तर फल पाएकी भने थिइन ।

देवेन्द्रकी स्वास्नीले पाँच वर्ष अगाडिदेखिको कुरा सोची । पाँच-पाँच वर्षको लामो अवधिमा उसले आफ्नो लोग्नेलाई आफूप्रति एकचोटि पनि आकृष्ट गर्ने कोसिस गरेकी थिइन र सायद गर्न सकेकी पनि थिइन र फेरि देवेन्द्रले विवाहको पहिलो रातमा झैँ जोसिलो भएर स्वास्नीलाई कहिले माया गर्न खोजेको पनि थिएन । उसलाई त के थियो र, गाउँ बाहिर
जान्थ्यो – भोक मेटाएर आउँथ्यो ।

धेरै दिनपछि आज देवेन्द्रकी स्वास्नीले एउटा कुरा सोची … र आफ्नो लोग्नेले पलङ्को डस्तामुनि राखेको अश्लील फोटोहरूको खातलाई ओल्टाई-पल्टाई हेरी … ।

साँझ पर्यो र केही घण्टापछि रात । देवेन्द्र पलङ्मा मात्र के पल्टेको थियो उसकी स्वास्नीले कोठाको ढोका लगाई । अनि तत्क्षणमै शरीरलाई बिभिन्न हाउभाउद्वारा विभिन्न आकृतियुक्त बनाएर उसले आफ्नो अङ्गहरू प्रदर्शन गर्न लागी । देवेन्द्र एकैछिन त आश्चर्यमा पर्यो। तर आफ्नी स्वास्नीलाई तानेर आफूसँगै राख्यो । पाँच-पाँच वर्षको लामो अवधिमा देवेन्द्रलार्इ आज मात्र आफ्नी स्वास्नी साँच्चिकै स्वास्नीझैँ लागेको थियो । … र सायद देवेन्द्रकी स्वास्नीलाई पनि देवेन्द्र आज साँच्चिकै आफ्नो लोग्नेजस्तो लागेको थियो ।

****
कथा यत्ति नै थियो ।

मैले यो कथा सुनेको एक वर्षपछि देवेन्द्रकी स्वास्नीले छोरो जन्माएकी छ भन्ने कुरा थाहा पाएँ ।

(२०२० सालमा बागलुङ जिल्लामा जन्मनु भएका लक्ष्मणप्रसाद गौतम त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनमा प्राध्यापन गर्नुहुन्छ । 

पाँच पुस्तक लेखिसक्नु भएका गौतमले  अभिनन्दन ग्रन्थ तथा विभिन्न साहित्य पत्रिका सम्पादनसमेत गर्नुभएको छ । उहाँको सम्पादन रहेको नेपाली यौन कथा भाग २ निकै चर्चित कृति हो ।

लक्ष्मणप्रसाद गौतम
उहाँले नारायणी वाङ्मय पुरस्कार (२०५२), नवकविता सम्मानपत्र (२०५७), दोभान प्रतिभा सम्मान (२०५९), प्रतिभा पुरस्कार (२०६०) जस्ता पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । उहाँ नेपाली लेखक सङ्घ तथा चितवन वाङ्मय प्रतिष्ठानसँग सम्बद्ध हुनुहुन्छ ।)