डिभोर्सी प्रेम

अलिअलि त दिँदै थिई । दिँदा दिँदै फ्याट्टै रिप्लाई दिन छोडी । गरेको फोन उठाउन छोडी । मैले सेन्ड गरेको म्यासेज सिन हुन छोड्यो । घरी घरी त पठाएको म्यासेज सेन्ड समेत भएन । कुन्नी कतिबेला हो, धन्न जान चाहिँ जाँदो रहेछ । तर, हेरे पो । पटक्कै हेर्दिन ।

आफैँले पठाएका म्यासेजका चाङ हेर्छु । अचम्म ! लेखेरै म्यासेजको सगरमाथा बनाएछु । के अब म यही सगरमाथाको टुप्पोमा गएर हाम्फालुँ ? आफैँलाई भन्छु, ‘भाइ हिमाल चढ्नु तेरो बुताको काम हैन् ।’

यसो घोरिन्छु । घोरिनु त हो नि । अरू त के गर्न सक्छु र ? रिप्लाई दिन्थी भने सोध्नु हुन्थ्यो, किन बोल्न छोडेकी नि त्यसरी ? के मैले नराम्रो भनेँ ? केही नराम्रो गरेँ  कि ? के कुरामा चित्त दुखायौ ? तर म्यासेजनै सिन गर्दिन् ।

दाहिने हातको चार औंलाले टाउकाको दाहिने पट्टी प्याट्ट हान्छु । धत्त लाटा, रिप्लाई दिन्थी भने त यो सब किन खाँचो पर्थ्यो र ? म नमिलेको दाँत किच्च पार्छु ।

***

त्यो दिन । ए हैन, त्यो रात पो त ।

“आँखामा नीद छैन् । मजस्तै यो मध्य रातमा ननिदाउने कोही छ ? नत्र बात मारुम् ।” हाहा वाला दुई स्टिकर सहित उसले रातको १ :४५ बजे आफ्नो वालमा पोष्ट गरेपछि म आफैँले बोलाएको थिएँ । लेखेको थिएँ, –

“मेरा पनि यी आँखामा निद आएन

लौ न कोही बताईदेउ किन आएन”

लेखेपछि एकपटक पढेँ । कवित‌ै भयो कि क्या हो ? ‘हो हो भयो’ आफैँले भनेँ । मख्ख परेँ । जिन्दगीमा पहिलो चोटि कविता फुर्यो । हैन्, एकैपटकमा फुर्यो त गाँठे । अलिअलि कवित्व मभित्र पनि रहेछ कि कसो ? पठाएँ । पठाउन साथ रिप्लाई आयो, -“कस्तो राम्रो ।”

“कविता कि म ?” मैले सोधेँ ।

“किन नसुत्नु भा ?” रोमनमा लेखेर पठाई । खै त मेरो जवाफ ? ‘तपाईं पनि राम्रो कविता पनि राम्रो’ भन्छे कि भन्ने लागेथ्यो । भनिन । खाईस लोभी मन ।

“तिमी नसुतेपछि मलाई निद्रा आउँछ त ?” सुरुमै जिस्किएँ ।

“आबुई ।” उ छक्क परी । भनी, -“त्यस्तो पनि हुन्छ ।”

“नहुने के छ र यो संसारमा ?”

“संसारमा होला तर यो त मध्य रात हो नि ।”

“रात भन्ने शब्द संसार भित्र पर्दैन र?”

“रात त समय हो नि ।”

“अनि समय कसरी निर्धारण हुन्छ त, सौर्य मण्डलको चक्रमा ग्रह घुम्ने हैन र ?” म जान्ने पल्टिएँ ।

“ल बाबा मानेँ ” ऊ लत्रीई ।

“बाबा नै त नभनेको भए पनि हुने ।” मैले अरू थपेँ, -“यता मेरो मुटु प्याट्ट फुट्ला नि फेरि । धेर‌ खुसीले ।”

“मुटुको ठाउँमा माटाको हाँडी हुनेहरूको फुट्न नि के बेर?” पेलेरै जवाफ फर्काई ।

“म त मुटुमा राखुँला भन्दैथिएँ । तिमी त मुटुमै बसी सकिछ्यौ नि ।”

“कसरी ?” उसले सोधी ।

“अनि माटाको हाँडी भनेर कसरी जान्यौ त ?” मैले सोेधेँ ।

“हिहिहि ।” ऊ हाँसी । भनी, -“रमाईलो हुँनुहुँदो रहेछ ।”

“अलिअलि त हुनै पर्यो नि ।” मैले भनेँ ।

पहिलो दिननै भएको यो गफले हामीलाई पहिल्यै देखि चिनजान भएझैँ नजिक गरायो । एकदम नजिक ।

अष्ट्रेलिया रहिछे । कुन स्टेट ? सोधिन् । स्टुडेन्ट भिसामा हुँ भन्थी । आखिर म पनि त परदेशनै थिएँ । परदेशको भोगाई मिल्यो । पतर पतर बोली रहने मलाई, बोल्न के को लाज ? बोलीरहेँ । म भन्दा कम ऊ पनि कहाँ हो र ।

प्राय मै बोलाउँथे उसलाई । तस्बिर लोड गरेका बेला उ पनि बोलाउँथी । म बुझ्थेँ । हतार हतार तस्बिरको मुनि लभ स्टिकर ठेल्थेँ । त्यतिले मात्र कहाँ पुग्छ ? सो नाईस तस्बिर नलेखी भाग्न पाईन्छ ? मलाई थाहा थियो कमेन्ट पढेर मख्ख ऊ पर्थी र ‘थ्याङ्क यू’ वाला रिप्लाई दिन ढिला गर्दिन थिई । तर लाईक कमेन्टमा खासै चासो नभएजस्तो गर्न पनि उसलाई कसले भेटोस् ? म मनमनै हाँस्थेँ । हाँस्नु स्वास्थ्यको लागि हितकर छ नि ।

निरन्तर च्याटमा कुरा हुन थाल्यो । कुरा गर्दै जाँदा हाम्रो सोचाई पनि धेरै हद सम्म मिल्यो भन्ने लाग्यो मलाई । मिल्नु भनेको आत्मिक हुनु पनि रहेछ । हामी आत्मिक भयौँ । ऊ भई कि भईन ? सोध्न मिलेन । तर म भएँ । मैले त्यस्तै महसुस गरेँ ।

एकदिन अडियो कलमा उसले बेप्रशङ्ग सोधी, -“सानोमा तपाईं कस्तो हुनुहुन्थ्यो ?”

“अहिले भन्दा पनि हेन्डसम थिएँ” मैले भनेँ ।

“हैन ब्यबहार कस्तो थियो के ?”

के जान्न खोजेकी हो ? के भन्नू ? भनेँ, -“गज्जब थियो ।”

“म त चोर्नी थिएँ ।”

“त्यो त अहिले पनि छौ । मेरो दिल चोरीराछौ त । चोर्नी ।” भन्न मन थियो । भनिन । बरू भनेँ, -“हुँ ? के चोर्यौ त तेतीबेला ?”

“मामाघरमा बस्थेँ नि ।” म सानोमा मामाघरमै बसेर पढेको भनेर उसले निक्कै पटक भनेकी थिई । थपी, -“मह चोरेर खाको मैले र बैनीले । त्यसको योजनाकर्ता मै थिएँ । पछि माईजुले थाहा पाउनु भएर झण्डै मारेको ।” उसले भनी र खित्त हाँसी ।

उसको हाँसोमा के जादु हो कुन्नी म भुतुक्क भएँ । उसले अझै थपी, -“एक पटक साथीको घरबाट कुखुराको चल्ला पनि चोरेथेँ । बाटोमा पुगेपछि लाग्यो ‘घर कसरी लानु ?’ डर लाग्यो । अनि बाटोमै छोडेर टाँप कसेँ । घर पुगेपछि चल्लाको मात्र याद आईरह्यो । डराउँदै माईजुलाई भनेँ । पछि उहाँले ल्याईदिनु भो । धन्न मरेको रहेनछ ।” ऊ रुँला रुँलाझैँ गरी । कति कोमल मन । बिचरी ।

“एउटा कुरा सोधुम् ?” बिचैमा मैले कुरा काटेँ ।

“दुईटा सोध्नुन ।” उसले भनी ।

“घरमा नबसेर किन मामाघरमा बसेको तिमी सानोमा ?”

“बाध्यता हो ।” उसले छोटो जवाफ दिई ।

“कस्तो बाध्यता ?”

“होस् । जुन कुरा सम्झेर मेरो छातीमात्र दुख्छ ।” उसले सुस्केरा हाली ।

“सरी ।” मैले भनेँ ।

“ईट्स ओके ।” उसले भनी ।

मेट्रो ट्रेनमा थिएँ । आफ्नो झर्ने स्टेसन आईसकेछ । झरेँ । आकाशमा धुम्म बादल लागेको रहेछ । दिउँसै अँध्यारो अँध्यारो थियो । पानी पर्छ कि कसो ? बिस्तारै हावा पनि बढ्न थाल्यो । छेउको कफी सपबाट कोल्ड कफी लिएँ र अर्पाटमेन्टतिर पुर्याउने बाटोमा पाईला चालेँ ।

“खासमा मेरो भन्नू क‍ोही पनि छैनन् ।” उसले नरम भएर भनी । थपी, -“म नौ महिनाको हुँदा बाबा ममी सडक दुर्घटनामा बित्नुभो । कस्तो संयोग ? बाबालाई ट्रकले किच्यो । त्यसको ठीक अट्ठाईस दिनपछि ममीलाई बसले ? भन्नुस त के रियल लाईफमा पनि यस्तो हुन सक्छ ? तर भयो । मेरो जिन्दगीमा त्यो घटना घट्यो । नौ महिनामा म बाबाबाट र दश महिनामा ममीबाट पनि एक्ली भएँ । टुहुरी भएँ ।” उसले फेरि सुस्केरा हाली ।

मेरा आँखा रसिला भए । मुटु ढक्क फुल्यो । हत्तेरिका कस्तो कस्तो सम्म पर्छ मान्छेलाई ।

“कुरा यतिमा मात्र सकिन्न ।” उसले भनी, -“मेरो दिदी पनि हुनुहुन्थ्यो चार वर्षकी । त्यो दुर्घटना पछि उहाँलाई र मलाई मामाघर लगियो । तर दिदी पनि सामान्य ज्वरोलेनै बित्नुभो । र म सदाका लागि एक्ली भएँ । त्यो बेला म मर्नु पर्थो । बाँचे । अचेल लाग्छ, खासमा म त्यतिबेलै मर्नु पर्ने किन बाँचे हुँला ?”

“हैट के भनेकी त्यस्तो ? चुप ।” मैले यति मात्र भनेँ । आँसु  भलभल बग्न थाले । अघि कतिबेला बिजुलीको पोलमा अडेस लागीरहेको रहेछु । थचक्क त्यहीँ बसेँ । भित्रैदेखि निचोरिएँ । भित्र दुख्यो मुटुसम्मै ।

“यति टाढा छु । हजुरबुबा हजुरआमा बुढा बुढी भैसक्नुभो । उहाँहरूको माया खुब लाग्छ । मलाई माया गर्नेहरू पनि उहाँहरू बाहेक को छ र ?” उसले रुँदै भनी ।

“म छु नि” मैले भनेँ तर मनमनै । कुन्नी के ले रोक्यो, आवाजले बोल्न सकिन ।

“ला ! मेरो नाकबाट त ब्लड आयो ।” उसले डराएझैँ गरेर भनी । म यता आत्तिएँ । लौ के भयो त ? के गर्ने अब ?

“साथीहरू छैनन् ?” मैले सोधेँ ।

“छन् तर ड्यूटीमा गाछन् ।” उसले थपी, -“कहिले काहीँ यस्तै हुन्छ नआत्तिनु । बरु म रेस्ट गर्छु अब ।”

आफ्नो केयर गर भनेर सम्झाईवरी फोन राखेँ ।

मन भारी भयो । पार्कतिर अबेरसम्म टहल्ली रहेँ । अबेर गरेर अपार्टमेन्ट फर्केँ । म्यासेन्जरमा उसैलाई खोजेँ । अफलाईन रैछे । कस्तो भो होला उसलाई ? कसरी सोध्नु ? अबेरसम्म निद्रा परेन ।

भोलिपल्ट ब्यूँझना साथ मोबाईल हेरेँ । अनलाईन देखेँ । हतार हतार सोधेँ, -“कस्तो छ ?” म्यासेज सिन भएन । मैले पठाएको म्यासेज मैले मात्र सिन गरेँ । गरि रहेँ दिनभर । तर उताबाट सिन भएन । तर म्यासेन्जरको हरियो थोप्लो दिनभरीनै देखाई रह्यो ।

के उसको नाकबाट बगेको रगत थामिएन ? कतै मुर्छमा त परिन ? परदेशमा को हुन्छ र ? कतै रुममा त ढलिन ? एक्लै बेहोस भयो भने पनि हस्पिटल लग्ने को हुन्छ र?  रुममेट त छ भन्थी । ऊ पनि त ड्यूटीमा होली । अनेक शंका उपशंकाको बादलले मन डम्म ढाक्यो । मनमा चिसो भैरह्यो हिउँजस्तै ।

अहो यसरी त हुन्न । म्यासेन्जर कल गरेँ । गरीरहेँ । अँह उठेन । उठ्दै उठेन । अब मसँग के विकल्प छ र ? उसका अरू साथी पनि त चिनेको छैन । तनाबको भारी झन गह्रुङ्गो हुँदै गयो ।

“मलाई गार्हो भएर हस्पिटल आको छु । मुटु दुखेर श्वास फेर्नै गार्हो भयो । हात गोडा दुखीराछ ” राती पठाएकी रैछे । बिहान उठना साथ पढेँ । तर ऊ अफलाईन छे । दोहोरो कुरा हुन सकेन ।

बोल्न मन छ । के के सोध्न मन छ । कुन्नी उसलाई कतिको पीडा छ । तर मेरो पीडाको उचाई यसरी बढेको छ कि, जसका अघि सगमाथा निकै तल देखिन्छ । एकाबिहानै चिट चिट पसिना आयो । तर मेरो के लाग्छ ? उठेर चिसो पानी घटघट पारेँ ।

लेखेँ, ‘के भयो ? मलाई साँच्चै पीर लागेको छ । साथीहरू कसैलाई भनेर साथै राख्नु । राम्ररी उपचार गराउनु । फ्रि भयौ भने म्यासेज गर्नु । खर्चको अवस्था के छ ? चिन्ता नलिनु । आवश्यक परे भन्नु । गेट वेल सुन । छिट्टै निको होउ है ।” सेन्ड बटनमा थिच्ने बेला आँसु तपलक्क स्क्रिनमै झर्यो । बुढी औंलाले पुछेँ दोहोर्याएर ।

मनमा एक तमाशले छटपटी भैरह्यो । दिनभर ओछ्यानमा पल्टी रहेँ । ड्यूटीमा जानै मन लागेन । कम्पनीमा फोन गरेर भन्दिएँ – ‘आज सञ्चो छैन । ड्यूटी आउन सक्दिन ।’

 

एक दिन, दुई दिन, तीन दिन बित्यो बिना कुनै रिप्लाई । मैले म्यासेज पठाइ रहेँ । उसले खास चासो दिईन । सोचेँ, गम्भीर बिरामी भै क्यार । म छटपटीई रहेँ ।

चौथो दिन उसले कमेन्ट गरी, -‘त्यो मूभि राम्रो छ । तर दयाहाङ राईको अघिल्ला मूभिहरू जति यो चाँही जमेको लागेन ।’ उसको कमेन्ट मेरो स्टाटसमा हैन । मेरो साथीको स्टाटसमा ।

कमेन्ट पढेर मन अमिलो भयो । उसका बारेमा यतिका चासो गरेर म यता दुखी रहेको छु । म्यासेज पठाउँछु रिप्लाई दिन्न । सिननै गर्दिन । ऊ उता मूभिको समीक्षा गरेर बसेकी छ । झनक्क रिस उठ्यो । कल गरेँ । उठाई । तर अचम्म उसलाई सुन्नासाथ रिस कुन्नी कता भाग्यो । बोली उसै नरम भयो । के प्रेममा यस्तै हुन्छ ? सोधेँ, -“कस्तो छ अहिले ?”

“भर्खर घर आएकी । सञ्चो छ अहिले त । औँषधी एक हप्तालाई दिएको छ ।” उसको बोली तगडा सुनियो । मन उसै चङ्गा भो । भगवानलाई अनेक धन्यवाद दिएँ ।

तर अचम्म छ । किन खुसी धेरै टिक्दैन मसँग ? म अनेक कुरा गरीरहन्छु । ऊ म्यासेजनै सिन गर्दिन । सिन गरे  रिप्लाई दिन्न । रिप्लाई गरे ‘अँ, हो, होला नि, ठीकै छ’ बस् यो भन्दा पर जान्न । कठैबरी ! मेरो माया । भर्सेला परोस् । भैगो कति ल्याङ गरीराख्नु । म पनि गर्दिन म्यसेज स्यासेज ।

तर मन किन मान्थ्यो र ? थाम्न सक्दिन । बोलाई हाल्छु । तर ऊ आफ्नो रुटिन बदल्दिन् ।

एकदिन त अत्ति भो । उसको ईनबक्समा गएर लेखेँ -“तिमी के सोच्छौ मलाई ? थाहा छैन् । तिम्रा अघि पर्दा मलाई अर्कै फिल हुन्छ । त्यस्तो फिल जो आजसम्म मलाई कहिल्यै भएको याद छैन् । तिमीले मलाई माया गर्दिन भने पनि स्विकार छ । तर म तिमीलाई हृदयबाटै माया गर्छु । जवाफ देउ ।” यति लेखेपछि मन हल्का भो ।

तुरुन्तै सिन गरी । तर केही भनिन । मेरो उकुसमुकुस त सकिएन तर पहिलेजस्तो छटपटी महसुस गर्नु परेन । किनकि जवाफ मलाई थाहा थियो, उसले मलाई माया गर्दिन्, ‘नो’ भन्नेछे । पर्खिरहेँ उसको ‘नो’ सुन्न ।

तर उसले ‘नो’ भनिन् । भन्नुस त मलाई कस्तो भयो ?

करिब पन्ध्र दिन पछि उसले पठाएको जवाफ यस्तो थियो, – मलाई जे कुराको डर थियो, त्यही भयो । तपाईँलाई लाग्यो होला म घमण्डी छु वा अर्कै केटासँग रिलेसनसिपमा छु । तपाईँले सोध्नु पनि भएको थियो । मैले पनि भनेकी थिएँ म सिङ्गल छु । कुनै रिलेसनसिपमा छैन् । हो म कुनै रिलेसनसिपमा छैन् । किन ? रिलेसनदेखि डर लाग्छ । रिलेसनसीप कुनै अँध्यारो खाडलजस्तै, गहिरो ईनारजस्तै बाल्यकालमा पढेको कथाको राक्षस बस्ने ओडारजस्तै डर लाग्छ । हो त्यस्तै लाग्छ । मलाई माफ गर्नुस्, केटा मान्छे देख्नासाथ मलाई राक्षसको अनुहारको याद आउँछ । किन यस्तो हुन्छ ? पख्नुस । भन्छु ।

मामाघरमै बढ्दै र पढ्दै गएँ । उमेर चौधकी हुँदा मेरो बिहे भयो । उमेरले झण्डै दोब्बर मेरा पतिलाई मेरा हजुरबुबा हजुरआमा र मामा माईजुले गोडा धोएर मेरो जिम्मा लगाईदिनु भयो । म दोष दिन्न उहाँहरूलाई किनकि एक टुहुरी न थिएँ । मेरो घर बसेको हेर्ने उहाँहरूलाई ठूलो रहर थियो । आवश्यकता भन्दा बढी बोझ यसैपनि उहाँहरूले बोकी नै रहनुनै भएको थियो । बिहे गरेपछि उहाँहरूमा पनि ढुक्क हुने थियो ।

बिहे गरेको दिन केही कौतुहलता मनैमा थियो । तर बिहेको पहिलो रातनै आफूलाई बलात्कृत भएको महसुस गरेँ । त्यो पनि आफ्नै पतिबाट । म सम्झन्छु त्यो रात । कि कति कहाली लाग्दो रात थियो त्यो । ऊ कति प्यासी थियो भने पाँच पटक बलत्कार गर्यो उसले त्यो रात । प्रतिकार गर्न सकिन । रातभरी रोई रहेँ । सिरानी भिजाई रहेँ आँसुले ।

भोलिपल्ट बिहान उठ्नै सकिन् । हनहनी ज्वरो आयो । सासुआमाले अोछ्यानमै सिटामोल ल्याईदिईन् । त्यो दिन झरी परेको थियो । तर के परेको थियो बाहिर, जति दिल भित्र परेको थियो । कसलाई सुनाउनु आफ्नो पीडा ? को छ र मेरो । उसै पनि टुहुरी केटी । मामाघरबाट त बिहे गरेर पठाई दिनु भएको थियो ।

ज्वरो कम भएको थिएन । रगतको आहालमा थिएँ । तर त्यस रात पनि उसले मलाई बुझेन । म उसको जबर्जस्तीका अघि निरीह भैरहेँ । लोग्ने नामको पशुलाई म के गर्न सक्थेँ र ? लोग्ने नामक बलत्कारीलाई बलत्कार गर्न यही समाजले लाईसेन्स दिएको छ । ऊ त आधिकारीक बलत्कारी रहेछ ।

त्यसपछि लोग्नेका प्रति मनमा श्रद्धा, सम्मान, प्यार भन्ने कुरानै उब्जेन । केवल घृणा मात्र जन्मियो । हो घृणा मात्र । असिमित ।

 

पहिलो कुरा त हाम्रो अनमेल बिबाह । सुरु देखिनै मनमा खिन्नता थियो । भनेको पनि थिएँ तर हजुरबुबाले अनेक कुरा गरेर मलाई चुप गराउनु भएको थियो । तर बिबाह पश्चात् जुन घटना घट्यो मेरो मनमा निकै गहिरो घाउ लाग्यो । मन कसैगरी पनि अडिएन । यो नर्कबाट कसरी फुत्कुँ भन्ने मात्र भैरह्यो ।

अलिअलि भए पनि पढेकी केटी थिएँ । डिभोर्स गरेर स्वतन्त्र जिउन चाँहे । सम्झाउनेहरू कसैको कुरा सुनिन । अनेक दुख कष्टले बिहेको ६ महिनामा डिभोर्स गर्न सफल भएँ । त्यो दिन लाग्यो मेरो जीवनको सबैभन्दा आनन्दको दिन हो ।

तर हैन रहेछ । मेरो नया परिचय भयो ‘डिभोर्सी’ समाजले यसरी पेल्न थाल्यो चिया पसलदेखि बाटो, घाटो, चोक, चौतारो वन पाखा र पानी पँधेरोसम्म मेरै चर्चा । हुँदा हुँदा आफन्त नातागोता साथीभाइ सबैतिर बाट म त अचम्मको पात्र बनेँ । एक्ली भएँ । बिचरी देखिन थालेँ । त्यो बेला मलाई कस्तो भयो होला ? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ ।

हुँदा हुँदा मामाको सानी ५ वर्षकी छोरीले समेत वाल्ल परेर हेर्ने, मसँग नबोल्ने गर्न थाली । जो बिहे अघि सम्म म सँगै सुत्थी । त्यो बेला बाँच्नै मन लागेन । पटक पटक मृत्युको कामना गरेँ । मृत्युको अनेक तरिकाहरू गुगलमामा सर्च गरेँ । डिप्रेसनको चरम बिन्दुमा पुगेँ तै पनि बाँच्न लेखेपछि कसको के लाग्दो रहेछ र ?

तर समस्यासँगै समाधान पनि त हुँदो रहेछ । पछि निको भएँ । टुटेको पढाइ पूरा गरेँ र आज यहाँ आफ्नो जीवन खोज्दैछु ।

तर तपाईं ठीक यही बेला मलाई झस्काईदिन आईदिनु भो । भाग्न खोजेँ सकिन । माफ गर्नुस, तपाईँले म भन्दा धेरै राम्री, पढेकी, बुझेकी केटी पाउनु हुन्छ । बिदा ।”

***

उसको म्यासेज पढेर भावुक भएँ । भित्र कतै दुख्यो । आँखाको डिलबाट फुतुरुक्क दुई दुई थोपा आँसु झर्यो । उसको साहसलाई सलाम गर्न मन लाग्यो । मायाको भटौली खोला झन उर्लेर आयो र बन्यो तामाकोशी । गम्लङ्ग अँगालोमा कसेर राख्न मन भयो ।

हतार हतार टाईप गरेँ, -“हैन तिमीजस्तो मनले समेत सुन्दर मैले कसैगरी पनि पाउने छैन् । प्लिज, मबाट पर हुन नोखज । म तिमीलाई यो संसारकै सबैभन्दा धेरै माया गर्छु । तिम्रो माया पाउनलाई म आगोमा टेक्न परे पनि निर्धक्क टेक्न सक्छु । लभ यू ।” यत्ति लेखेँ र सेन्ड बटन दबाएँ ।

लौ किन गएन ? दुई तीन पटक ट्राई गरेँ । अँह, गएन । ब्याक गरेँ । र ईनबक्स खोलेँ । उसको नाम त हराएछ । फेसबुक यूजर पो भन्छ । हरे, ब्लक पो गरी सकिछे । कठै ! मेरो एकोहोरो प्रेम पनि डिभोर्समा पर्यो ।  संसार शून्य लाग्यो । साप्ताहिक बाट