कीर्तिमानको खोजीमा मनाङ र एपीएफ

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार इतिहास कायम हुनेछ । फाइनल स्पर्धामा उत्रिन लागेका मनाङ मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ फुटबल क्लब जसले जिते पनि नयाँ इतिहास कायम हुनेछ ।
सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा ६ पटकसम्मको विजेता हो–मनाङ । यस्तै, १४ वर्षपछि मात्र एपीएफ फाइनल यात्रा तय गरेको छ ।

अर्को विभागीय नेपाल पुलिस क्लबको पनि हालसम्म ६ पटकको उपाधिमा नाम दर्ता गरेको छ । त्यसैले मनाङ २०औं संस्करणको उपाधि उचालेर उपाधिमा नयाँ कीर्तिमान कायम गर्न चाहन्छ भने एपीएफ पहिलोपटक च्याम्पियन बन्ने दाउँमा हुनेछ ।

पोखरा रंगशालामा शुक्रबार प्रि–म्याच कन्फरेन्समा दुवै टिमका प्रशिक्षकले आ–आप्mनो टिमले खेल जित्ने दाबी गरे । १२ पटक फाइनल यात्रा तय गरिसकेको मनाङका प्रशिक्षक फुजा तोपेले आफ्नो टिमले खेल जित्ने दाबी गरे । कप्तान विमल रानाले होम ग्राउन्ड पोखरा रंगशालामा फेरि उपाधि जित्ने दाबी गरे ।

एपीएफ प्रशिक्षक कुमार थापाले विपक्षी राम्रो टिम भएकाले सोहीअनुरुप रणनीति बनाएर मैदान उत्रिने बताए । आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको भन्दै उनले उपाधि आफ्नो टिमले जित्ने दाबी गरे । थापाले भने, ‘जसरी पोखरामा सहाराले महामारीकाबीच प्रतियोगिता आयोजना ग¥यो, त्यहीअनुरूप नै हामीले पनि तयारी गरिरहेका छौं । सहाराको दुःखलाई हामीले हेरेर न्यायसंगत तरिकाले नै प्रस्तुत हुनेछौं । एपीएफ यसअघि छैटौं संस्करणमा मात्र फाइनल पुगेर उपविजेतामै सीमित भएको थियो ।

उद्घाटनमा आयोजक सहारा क्लबलाई, क्वाटरमा पाहुना टोली अमेरिकी वाइएससी मिनिसोटा र सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एपीएफ फाइनल पुग्दा मनाङ क्वाटरफाइनबाट मैदान उत्रिएको हो । उसले नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनल पुगेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । विजेताले १० लाख र उपविजेता टिमले ५ लाख प्राप्त गर्नेछन् । यस्तै, विधागत रूपमा पनि पुरस्कार व्यवस्था गरिएको छ । गत ६ माघदेखि सुरु प्रतियोगितामा १० टिमले भाग लिएका थिए । राजधानी राष्ट्रिय दैनिकबाट