बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार देखिएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड  सिंहदरबारमा माओवादीका ६ मन्त्रीहरुसँग बैठक बसेका थिए । त्यहाँ उनले अब चाँडै निर्वाचन आचारसंहिता लाग्न सक्ने मन्त्रीहरुलाई बताए ।

    सरकार सञ्चालनसम्बन्धी माओवादीद्वारा गठित आन्तरिक संयन्त्रको बैठकमा सहभागी एक मन्त्रीले रातोपाटीसँग भने, ‘अध्यक्षज्यूको भनाइ सुन्दा स्थानीय चुनाव बैशाखमै हुने संकेत देखियो । चुनाव गर्न नसकेको आरोपसहित चौतर्फी दबाव झेल्नुभन्दा बैशाखमै स्थानीय चुनाव गर्ने प्रधानमन्त्रीको चाहना रहेछ भन्ने बुझियो ।’

निर्वाचन आयोग, राष्ट्रपति कार्यालय र प्रमुख प्रतिपक्षले समेत एकमुख भएर बैशाखमै चुनाव हुनुपर्ने दबाव दिइरहेका बेला शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय छलफल भएको थियो । सो छलफलपछि स्थानीय चुनावबारे औपचारिक सहमति जुटाउन शनिबार पाँच दलीय गठबन्धनको बैठक बोलाइएको छ ।

Ratopati बाट साभार