बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल

काठमाडौं, १४ माघ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो । बैठकमा हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचन तथा यसै वर्ष हुनुपर्ने स्थानीय, प्रदेश र संघीय निर्वाचनबारे छलफल भएको थियो ।

निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भन्दै चाँडोभन्दा चाँडो मिति तोक्न आग्रह गर्दै आएको छ ।

सत्ता गठबन्धनले वैशाखमा हुनुपर्ने निर्वाचनलाई पर धकेल्ने प्रयास गरिरहेको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने योजनामा गठबन्धन छ । ऐनमा स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु दुई महिनाअघि नै स्थानीय तह निर्वाचन हुनुपर्ने उल्लेख छ । तर संविधानमा कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गरे हुने उल्लेख रहेको छ । ऐनलाई संशोधन गरेर संविधान अनुसार बनाउने तयारी गठबन्धनले गरिरहेको छ ।

कायाकैरनबाट