मैयाँसाहेब

राणाशाहीको र आजको प्रजातन्त्रसमेतको, गत पन्ध्र वर्षको, मेरो मानसिकतामा यत्रतत्र गरी एउटा शृङ्खला नभएको जानकारीको क्रम छ । ती सबै आज एक सूत्रमा उनिन चाहन्छन्, एउटा रूप लिन चाहन्छन् अर्थात् ती यत्रतत्र नरही कथा हुन चाहन्छन्- एउटा प्रभाव, अस्तित्व र आफ्नो एकांशको स्थापनासहित !

पन्ध्र वर्षअगाडिको शासनसम्बद्ध एउटा विशिष्ट परिवारकी एक जना मालिक्नी थिइन्, सबै महारानी भन्दथे । उनका दुई जना आफ्नै छोरी, दुई छोरा थिए । उनैकी भित्रिनीपट्टिकी सौताकी पनि एउटी छोरी थिइन् । सौतालाई दिने घृणा र हीनता अझ तिख्याउनलाई सौताकी छोरीलाई पनि महारानीज्यूले लगभग आफ्नै छोरीहरूको कक्षामा राखेकी थिइन् अर्थात् सौतालाई अप्रत्यक्षतः तर लगातार यस चेतनाले घोचि नै रहोस् कि उनकै छोरी भए पनि त्यो विशिष्ट उब्जा हो, विशिष्ट सन्तान हो र आमा भए पनि छोरीकै तुलनामा सौता हीन हो, घृणा हो, छोटो हो । यसरी आमा भएर पनि एउटा अव्यक्त पिरको बोध छोरीलाई देख्नेबित्तिकै उनी पइरहन्थिन् र त्यस पिरमा; कहाँसम्म भने आफैँले जन्माएको सन्तानलाई पर्यन्त उनी सहभागी बनाउन सक्तिन थिइन् । सन्तान, छोरी, त्यस परिवारकी थिई र उसैले आफ्नो जन्मको माध्यमले आमाको छोटो वंश, तुच्छताको विज्ञापन गरिरहेर पिरचाहिँ एकलौटी पारिदिएकी थिई । यद्यपि त्यो बालिका र अझै केटाकेटी मात्रै थिई । निश्चयतः यो अनौठो मनोवैज्ञानिक सृजना थियो ।

त्यस बालिकामा आफ्नो महत्ताले क्रमिक रूपले विकास पाइरहेको थियो । अझ उसमा विशिष्टता के थियो भने महारानीका छोरीहरूभन्दा, अलिक भए पनि, होच्चिइरहेर उसमा एकातिर मानवीय सन्तुलन भइरहेर त्यसबाट अहङ्कार र कृत्रिम दर्प परै रहन गएको थियो र आमा तथा अरूहरूभन्दा अलि उक्लिबस्न परेर बालिकामा स्वाभिमान र एउटा विशिष्ट मानवीय वस्तुले ठाउँ बनाउन लागेको थियो अर्थात् उनको निर्माण क्रमशः ‘पानीदार’ हुन लागेको थियो, ‘स्वात्म-बोध’ भइरहेको थियो । परिवारका अन्य छोरीहरूसरह ‘महारानी’ को संज्ञा पाउन नसके पनि ‘मैयाँसाहेब’ बोलाउने नाउँ हुन गएर बालिकाको एउटा सन्तुलित सत्ता बन्न गएको थियो जसमा अहङ्कारको विष पनि थिएन र मनुष्यलाई तल झार्ने, तुच्छ बनाइदिने हीनताबोध पनि थिएन । वस्तुतः अब उनी स्वाभाविक रूपको स्वसत्तायुत मैयाँसाहेब थिइन् ।

त्यसै परिवारमा काम गर्ने एक जना अधिकारी थिए । महारानीज्यूका कृपापात्र; साथै परिवारका साँच्चिकैका इमानदार, शुभचिन्तक भएर एउटा विशिष्ट अधिकार र सम्मानसम्पन्न ! उनका अन्य छोराहरूमध्ये एउटा ‘अजय’ भन्ने मैयाँसाहेबकै समवयस्क थियो । बाल्यक्रीडा, खेल र सम्पर्कमा दुवैमा एउटा क्रमिक आत्मीयताको अप्रत्यक्ष सृजना भइरहेको थियो जसले धेरै बेरसम्म कुनै निश्चित चेतना र स्थान पाउन नसकेको भए पनि तद्वत् आकर्षणचाहिँ ‘वयक्रम’ ले विस्तार पाइरहेको थियो ।
एक दिन आफ्नो पन्ध्र वर्षको उमेरमा दरबारको कम्पाउन्डभित्रै जब मैयाँसाहेबले साइकल सिक्ने चेष्टा गरिरहेकी थिइन्, बाहिरबाट आउन लागेको अजयको नजिक उनको साइकल ढलमलाएर लड्न लाग्दा अजयले उनीलाई अँगालो हाली समात्यो, लड्न दिएन । त्यसै बखत कुन्नि के भएर सहानुभूति, प्रसन्नता र मैयाँलाई बचाउने अचेत पौरुषको गर्वमा अनायास नै उसले मैयाँको म्वाइँ खायो । किन्तु तत्क्षणै स्वाभाविक सतर्कता आएर ती दुवैले यताउति हेरे, कोही थिएन । फेरि त्यही सतर्कता विस्तृत भएर एउटा बोध उब्ज्यो कि ती दुवै केही चाहन्छन्, कतैतिर बढिरहेका छन्, जहाँ उनीहरूको कुनै मधुरतम सम्मिलनले ती दुवैको प्रतीक्षा गरिरहेकने छ; साथै त्यस सम्मिलनको अगाडि लौकिक, सामाजिक र सबैभन्दा बढ्ता छोटाइ-बढाइको स्तरगत एउटा छेका छ; छेका तिखो, कठोर र निर्दयी पनि छ; अझ त्यसमा कुनै ठूलो सत्यानाशपर्यन्त पनि निहित छ । किन्तु यस बोधले चौबिस घण्टाभन्दा बढ्ता ठाउँ पाउन सकेन; बरु त्यसको स्थानमा क्रमशः कुनै अव्यक्त पिर, प्रभाव, बलियो आकर्षण र विवशताको भावनाले लियो । ती दुवै कुन्नि कस्तो मधुर, सुखमय र दर्दचेतनामा मुछिए, त्यसैमा सचिन्त, व्याकुल भई बस्नपऱ्यो । यो क्रम चलि नै रह्यो । के भएर हो, ती दुवै आआफैँ धेरैजसो परपर नै रहन लागे, कुराकानीमा कुनै अपराधजस्तो भावनाले ठाउँ बनाएर पहिलेको जस्तो त्यो सहज सजिलो रहन गएन र यो पनि ती दुवैका लागि एउटा क्लेशकै उपकरण हुन गयो ।

धेरै दिनपछि एक दिन बिहान आठ बजेको बखत प्रथाव्यवस्थानुकूल मैयाँसाहेब राम्ररी सिँगारिई भर्‍याङ ओर्लन लागेकी थिइन् र तलबाट अजय माथि उक्लन लागेको थियो । सिँढीको मध्यभागमा दुवै सँगसँगै पर्न गए र अजय माथि जानुको सट्टा उभियो । उसको मनको आँखाले क्षणैभरिमा ग्रहण गरिसकेको थियो कि ओर्लन लागेकी मैयाँ आज कत्तिकी राम्री, लोभलाग्दी भइरहेकी छिन् ! उनका ठुलाठुला, चपल तर भावमय दुवै आँखा, पातला ओठ, ठिक्क सुव्यवस्थित आकारको नाकले उनको बाटुलो, भरिलो मुखाकृतिमा कत्तिको मनोरमता, आकर्षण र सौन्दर्यको निर्दोष सृजना पाएको थियो; साथै गुलाफको कुनै मनोहारिता त्यहाँ कस्तो कोमल, सरल र निश्चल भई बसिरहेको छ । सिँढीको मध्यमा उभिएर अजयले अनायासै मैयाँको च्युँडो समाती अलिक उचालेर हेर्न लाग्यो । उसको नसा-नसामा लोभ उम्ल्यो- यस ईश्वरीय रचनाकलालाई प्राणैमा आत्मसात् गर्न सकिन्छ कि ? मैयाँसाहेबले कुनै प्रतिरोध गरिनन्, हतपताउन पनि हतपताइनन्, ठिङ्ग उभिइ नै रहिन् । पलभरिमा नै अव्यक्त तृप्तिबोध पाएर माथि उक्लन अघिल्लो सिँढीमा खुट्टा राख्ने सचेतनता आएपछि उसले देख्यो कि माथिल्लो भागमा सिँढी ओर्लन सागरी महारानी सरकारकी ठुली छोरी आउन लागेकी छिन् । ‘सागरी महारानीले देख्नुभो भो कि ? देखे पनि कसैसित भन्नुहुन्न, किन भन्नुहुन्थ्यो, त्यस्ती उत्ताउली उहाँ हुनुहुन्न ।’- अजयले साहस र अन्ततः आश्वासन सँगाल्यो । भन्न पनि सागरी महारानीले केही पनि भनिनन् । अजय माथि गयो ।

दरबारबाट घर आएर दिनभरि र राति सुत्ने बेलामा अजय सुख र चिन्ता दुवै भएको मैन तर्कनामा मुछिइरह्यो । तर्कनाले कुनै पनि निश्चय लिन सक्तैनथ्यो । ‘के हुने हो, केही पनि हुँदैन’ यसैको दुवै छेउमा त्यसका विचारधारा दगुरिरहेका थिए ।
हुन पनि केही भएन । अजयले गरेको मायाँ मैयाँसाहेबले प्राप्त गर्दै गइन् र अजयले पनि थाहा पाउँदै गयो कि ऊ मायाँ गरिरहेको छ, विवश हुँदै गएको छ; साथै उसलाई यस चेतनाले पनि छोडेन कि ऊ दुःख पाउँछ, अन्ततः कदाचित् दुःख मात्र नै बाँकी रहन जानेछ ।

यसरी मनको आकर्षण बढ्दै गइरहेको थियो तर सँगसँगै एउटा अन्तश्चेतनाले पनि अन्यन्त सूक्ष्मतर भई पल्हाउँदै जान लागेको अजय र मैयाँसाहेब दुवैले थाहा पाएका थिएनन् । आकर्षणको प्रबलताले नै त्यसलाई छोपिराखेको थियो र जसलाई अनायास नै एक दिन अजय र मैयाँ दुवैले थाहा पाए-

मैयाँसाहेबलाई सन्चो थिएन र परिवारका सारा व्यक्तिहरूलाई वज्रयोगिनीमा पूजा गर्न जानुपर्ने थियो । मैयाँकी सुसारे अधबैँसे नोकर्नी, घरका पालेहरू र दुई-एक जना नगण्य नोकरहरूलाई छोडी सबै दिनभरिका लागि वज्रयोगिनी गए । मैयाँ आफ्नो कोठामा पल्टिरहेकी थिइन् । अजयलाई के थाहा थिएन र लगभग बाह्र बजे महारानी सरकारको दर्शन गर्न भनी ऊ आयो । कोही थिएन; मैयाँसाहेबलाई सन्चो छैन भन्ने सुनेर उनको कोठामा त्यो पुग्यो । बसेर सोध्यो- “यहाँलाई सन्चो छैन ? के भयो ?”

क्लान्त आँखाले अजयतिर हेर्दै अलि खिन्नतासाथ हाँसेर मैयाँसाहेबले भनिन्- “अजय, यसरी सोध्न सुहाउँदैन, दरबारको यति आवतजावत भएर कुरा गर्ने ढङ्ग थाहा पाउनैपर्ने थियो । सोध न- हजूरलाई आराम छैन कि ?” अनि अजय र मैयाँ दुवैका आँखा लामो कोठाको कुनामा बसेकी नोकर्नीतिर गए; त्यो कुनै काममा व्यस्त थिई । कुन्नि के-के सोच्दै टाउको निहुराई अजय बसि नै रह्यो । नोकर्नी कुनै कामले अर्को कोठामा भाँडो लिएर गई । अजयले भन्यो- “मलाई माफ गर्नुहोस्, हजुरसँग धेरै हेलमेल भएर दरबारी काइदामा चुँके । तर …।

“तर फेरि पनि त त्यस्तै बिर्स्यौ”- कुरो काट्दै मैयाँसाहेबले भनिन्- “मलाई माफ गरिदिबक्सियोस् भन्नु पर्दैनथ्यो?” र यति भनेर मैयाँ पुनः अलिक हाँसिन् ।

अजय चुप नै रह्यो । कतै भूल भैरहेको छ, केही ठिक छैन र अझसम्मका सारा चेतना, सारा प्राप्तिमा कतै सामञ्जस्य मिलाउन सकेको छैन भन्ने जस्तो लाग्यो । एकाएक उसलाई आफ्नो साधारण गृहस्थी, घर र रहनसहनको सम्झना भयो, आफूले लाएको लुगा, पहिरनमा पनि उसको दृष्टि गयो । उसले तुरुन्तै आँखा गुमाएर दरबारको सुसज्जित कोठा, मूल्यवान् वस्त्रभूषामा पल्टिरहेकी सुन्दरी मैयाँलाई हेऱ्यो । ‘कतै सामञ्जस्य छैन’ भन्ने कुरा उसले झन् सम्झ्यिो तर के सामञ्जस्य नभएको उसको दोष हो, अपराध हो ? मैयाँसाहेबलाई उसले यति दिनसम्म मायाँ गरेको छैन र ? मायाँ र सामञ्जस्य, सामञ्जस्य र मायाँ ….! अजयले बिस्तारै भन्यो- “तर सङ्कोच हटाएर यदि आज सोधूँ- के हामीले परस्पर मायाँ गरेका छैनौँ र ? हामी एउटाले अर्कालाई त्यति नजिक पारेका छैनौँ र जहाँ यी पहिला श्रेणीका सम्मानार्थक शब्दहरू कृत्रिम हुन आउँछन्, हाम्रो मायाँभित्र आलिङ्गन र म्वाइँ छैन र …. ? अनि …?”

“चुप लाग अजय”- अलि झर्किँदै मैयाँसाहेबले भनिन्- “हेर्दछु अनुमानभन्दा पनि तिमी साह्रै नै तल्लो श्रेणीका मानिस है कि ? अँगालो र म्वाइँ उद्धरणीय भएछन् तर आत्मसात् गर्न सकेनौ । अपसोच ! तिमी त्यो होइनौ जो प्यारलाई केवल उपलब्धिमा मात्र राखेर बाँच्तछन्, व्यवसाय बनाउँदैनन् । तिमी त्यो होइनौ, होइनौ ! भन्ठानेकी थिएँ कि हामी सहजमा नै जहाँसम्म पुगेर बसिरहेका छौँ तिमी पढेलेखेर त्यहाँसम्म अवश्वमेव पुगेका होउलाऊ तर कदाचित् पढेलेखेर त्यो हुँदैन, यद्यपि पढेलेखेर त्यसलाई आत्मसात् गर्न नसके पनि थाहा त पाउन सकिन्थ्यो तर तिमीले थाहापर्यन्त पाएका छैनौ । खै एउटा नराम्रो श्लेष प्रकट हुन आयो ?”

एकछिनसम्म दुवै चुप रहे । मैयाँको अनुहारमा विषाक्त र खिन्नता अत्यन्त स्पष्ट थियो । अजयले पनि सम्झ्यो कि कतै ठुलो भूल भैरहेको छ, कुनै थोक निश्चयतः थाहा पाउनुपर्ने नै थाहा पाउन सकिएन; अवश्यमेव कतै कुनै कमी छ, चाहे त्यो जानकारी होओस् या संस्कार……..। अजय सोचिरहेकै थियो, मैयाँसाहेबले अलि संयत स्वरमा पुनः भन्न लागिन्- “अजय, म तिमीलाई मायाँ गरेको अस्वीकार गरेर आज दोस्रो भूल गर्न चाहदिनँ; मायाँ गरेकी छु; गरि नै रहनेछु तर यो भूल नै ! यद्यपि कुन्नि केले हो, परिवारमा पहिलेदेखि नै तिमीलाई मायाँ गर्न मलाई लोभ लागेर आएको थियो, साथै ‘तिमीलाई मैले मायाँ गर्नु हुँदैन’- यो सम्झना पनि थियो तर आफ्नो मायाँलाई असमर्थ बनाउन म चाहन्नथेँ, आज पनि चाहदिनँ, तिम्रो भित्री र बाहिरको समेत अजयलाई परै राखेर केवल अजय प्राणीलाई एकान्तभावले मैले आफ्नो स्नेह, प्यार र हृदयको आकर्षण सुम्पेर आफ्नो आत्माभित्र बसालेकी थिएँ, बसालेकी छु । यसबाट म स्वंय नै बाच्न सक्दिनँ, बाच्न पनि चाहदिनँ तर म केवल मायाँ मात्र गर्न चाहन्छु, कुरा गरेर सुख पाउन चाहन्छु, मैले प्यार मात्रैको परिचय सँगालेकी छु । तिमीलाई हेरेर प्रसन्न हुन चाहन्छु, नजिक बसालेर आनन्दित हुन चाहन्छु, कुरा गरेर सुख पाउन चाहन्छु र तिमीलाई लगातार सोचिरहेर आत्मालाई तृप्त पार्न चाहन्छु; अझ तिमीलाई केही खुवाएर, तिमीलाई केही चिनो दिएर, तिमीबाट पनि कुनै उपहारवस्तु सँगालिराखेर र सकेसम्म तिम्रो प्रत्यक्ष-अप्रत्यक्ष आदर गरेर अर्थात् प्यारको निमित्त गर्नुपर्ने प्रत्येक उपकरण र व्यवहार सम्पन्न गरेर तिमीलाई प्यार मात्र गर्न चाहन्छु; यो मेरो नितान्त लोभ हो । अतः मैले उपलब्ध गरेकै मात्रको पात्र भएर के तिमी यस सौन्दर्यलाई मात्र आत्मसात् गरी आफ्नो पूर्ति लिन सक्तैनौ कि तिमी कुनै एउटी नारीको निश्चयतः प्रियपात्र हौ ? आफ्नो स्तरअनुकूल तिमीले जे पनि सम्झे पनि कदाचित् एउटा पुरुषका लागि जीवनमा यसभन्दा बढिया श्रेय-उपलब्धि अरू केही पनि छैन होला जस्तो मलाई लाग्छ ।”
केही बेरको शान्तिपछि अजयले भन्यो- “कदाचित् प्यारको यो व्याख्या र वर्णन सामाजिक श्रेणी, पद, मर्यादा र सम्पत्ति-वैभवको उब्जा हो तर मायाँको वास्तविकता होइन र मलाई हीन मानेर परपरै रही ठुल्याइँको इज्जत बचाउने लोभ यो होइन र ?”

“छिः अजय, प्यारलाई म एउटा नारीले शब्द, वाक्यभित्र ल्याएर यत्ति ओराले पनि, तिमीले त्यत्ति पनि उक्ली त्यसलाई भेट्टाउन सकेनौ । हेर, तिमी भन्छौ यो मायाँको वास्तविकता होइन तर यसमा मायाँको श्रेष्ठता किन देख्तैनौ ? प्रत्येक वास्तविकता स्वयंमा श्रेष्ठ हुन्छ, अजय ! जो श्रेष्ठ छ निश्चय त्यही अन्तिम वास्तविक हुन्छ । तल्लोका जोजति छन् तिनलाई ‘जस्ताको तस्तै’ भनेर माने पनि तबसम्म पूर्ण वास्तविक हुँदैनन् जहिलेसम्म तिनीहरूमा बनाउने, उठाउने अथवा उकालने ठाँउ रहन्छ । निश्चयतः वास्तविकतासम्म ती पुगेका हुँदैनन्, वास्तविक होइनन् । वास्तविकता अन्तिम वस्तु होइन र ?”
नोकर्नीले केही खाने पथ्य तयार पारी ल्याई । पलङबाट ओर्लेर तल ओछ्याइएका डसनामा बस्तै मैयाँसाहेबले भनिन्- “अजय, तिमी मेरो यो पथ्य त के रुचाउलाऊ तर चियासम्म खाएर जाऊ !”

“होइन, अब म जान चाहन्छु”- अजयले भन्यो ।

हतारो गर्दै आफैँ उठी बिजुलीको केतलीमा करुवाको पानी खन्याएर मैयाँसाहेबले स्विच जोरिदिइन् र भनिन्- “आफैँ पकाएर केही खुवाउने अझैसम्म मौका नै पाएको छैन, आज सन्चो छैन तर मैले पकाउन लागेको चिया खाएरै जाऊ, अजय ।”

चिया तयार नहुन्जेल पनि नखाई मैयाँसाहेब पनि बसिरहिन् । पानी उम्लन लागेपछि कपमा चिया छानी अजयलाई खान दिएर आफ्नो पथ्य पनि खान लागिन् । अजय चुपचाप चिया खान लागेको थियो र मैयाँ आफ्नो पथ्यको प्रत्येक गाँसमा अजयले खाएको चियाको स्वाद लिन लागेकी थिइन् । कुराकानीको जम्मै नरमाइलोपना मानौँ उनको मानसिक पटलबाट पखालिएर गएको थियो र त्यस सुन्दर नारीले चिया खान लागेको बेला अजयतिर जुन निश्चल, तृप्त भावले हेरिरहेकी थिई त्यो त्यस बखत नैसर्गिक नै देखा परिरहेको थियो ।

केही दिनपछि स्वाभाविक पारिवारिक क्रमले अजयको विवाह भयो । चलनअनुसार दुलहादुलही दरबारमा महारानी र मालिकहरको दर्शन गर्न गए । अजय र उसकी दुलही मैयाँसाहेबको कोठामा पनि गए । अभिवादनादिपछि मैयाँसाहेबले दुलहीलाई आफ्नै पलङमा बसाली अत्यन्त प्यारो गरेर उसको च्युँडो समाती भनिन्- “कत्तिकी राम्री, सुधी दुलही !तिमी अजयकी दुलही; अजयले तिमीलाई धेरै मायाँ गर्नेछ है, धेरै मायाँ गर्छ ! उसलाई राम्ररी स्याहारेर सेवासुसार गरिराख्नुपर्छ ।” अनि मुसुमुसु हाँसिरहेको अजयसित पनि भनिन्- “यो तिम्रो स्नेह र स्याहारको वस्तु हो, मायाँ गरिराख है। अपरिचित वस्तु हो, गर्न सके बढ्दै जाने कुरो हो ! म तिम्रो यस दुलहीलाई झन् मायाँ गर्नेछु, तिमी जति यसलाई मायाँ गर्नेछौ त्यत्तिकै म पनि यसलाई प्यारो गरिरहनेछु, यो मेरो अन्यतम साथी हुने भई ।” अनि मैयाँले आफ्नो बाकस खोली एउटा सारी र आफ्नै हातले बुट्टा भरेको एउटा अत्यन्त राम्रो टेबुलक्लथ झिकी दुलहीलाई उपहार दिँदै भनिन्- “दुलहीलाई यो मेरो स्नेहको पहिलो उपहार हो । घरमा गएर आजै यो सारी लाउनू, अनि यो टेबुलक्लथ ओछ्याएर यसैमा आफ्नो अजयलाई चिया खुवाऊ है !”

बिहेको सात दिनपछि नै मैका पारेर अजयले एकान्तमा मैयाँसाहेबसँग भन्यो- “बाआमाले मेरो बिहे गरि नै छाडे तर …. !”
रातो मुख लाएर मैयाँसाहेबले बिचैमा भनिन्- “अजय ! मायाँको अपमान नगर न । प्रस्टै भनिरहेछु, तिमीलाई म अत्यन्त मायाँ गर्छु भने तिम्री दुलहीलाई लिएर त्यो झन् दोब्बर भएर जानेछ, किनभने यो तिम्री पत्नी हो र प्यार चढाउने सामग्री हो जसलाई मैले तिमीलाई दिएकी छु । प्यार आआफैँमा अत्यन्त बलियो वस्तु हो अजय, यो किन बिर्सन्छौ ? मैले अस्ति तिमीहरूलाई दिएको टेबुलक्लथ धेरै दिनदेखि बनाई राखिछोडेकी थिएँ; अत्यन्त लोभ र लालसा थियो कि कुनै दिन ओछ्याई त्यसमा चियाको सेट सजाएर सौन्दर्यमय वातावरणमा तिमीलाई चिया खुवाउनेछु । कमसेकम त्यस दुलहीको माध्यमले मेरो त्यो आदार गर्ने लालसा पूरा हुनेछ । तिम्रो बिहा भएर कमसेकम अब त तिमीले थाहा पाउनु नै पर्ने थियो कि तिमी मेरो ‘प्राप्य’ होइनौ । यो कुरा मलाई पहिल्यैदेखि नै थाहा थियो । त्यसैले त्यो कुरा परै राखेर म तिमीलाई मायाँ गरिरहेकी छु र मायाँ गरि नै रहनेछु ।”

अजयले सहन सकेन, भन्यो- “के सामाजिक माथिल्लो तहमा बसेरै प्यारको प्राप्य-अप्राप्य छुट्टयाउने हो र ? प्यारमा भेद कहाँ छ ?”

अजयप्रति दयनीय भएको जस्तो हाँसेर मैयाँसाहेबले भनिन्- “भन्न मात्र भनेछै अजय कि ‘प्यारमा भेद कहाँ छ’ तर यो मान्न सक्ने क्षमता तिमीमा नै छैन र यो कुरा पनि पहिले नै मैले थाहा पाइसकेकी थिएँ । किन्तु केवल उब्जेको मायाँको सत्यलाई आफ्नै निकट प्रवञ्चना बनाउन नचाहेर आफूलाई नै छल्न नचाहेर मायाँलाई मैले आधार दिएँ र दिइ नै रहनेछु । भन्छौ, प्यारमा भेद कहाँ छ ? ठिक हो तर अस्ति म बिरामी भएको बखत तिमीले कुरा गर्दा मेरो प्रति ‘तपाईँ’ र ‘गर्नुस्’ इत्यादि शब्दहरूको प्रयोग मलाई मधुर लागे पनि र नचाहेर पनि तिमीलाई रोकेको थिएँ; आज पनि सोच्दछु कि- हाम्रो परिवार र वंशका साराका अगाडि के तिम्रो मुखबाट त्यस्ता मध्यम श्रेणीका शब्दहरूको प्रयोग फुट्न सक्छ र, त्यस्तो साहस राख्छौ ? प्रस्ट छ कि तिमीमा यो छैन कदापि छैन, अनि प्यारमा यो भेद जसरी भए पनि, तिम्रो मान्यता वा बाध्यतामा नै कि छ ? यहीँ एउटा खास भेद छ, अजय ! म प्यारलाई, त्यसले पाउनुपर्ने जत्तिकै सम्मान दिएर, सादर प्यार गर्दछु, विश्वासपूर्वक ! तिमी…. तिमी प्यारको स्वाद पाउन चाहन्छौ, त्यसको सम्मान नगरेर पनि, अक्षम भएर पनि अविश्वासपूर्वक ! मलाई यो जम्मै थाहा छ र त्यसैले तिमी स्वयंभित्र जति छौ, जहाँ छौ, त्यस स्थानमा मेरो आस्था छैन तर ‘मायाँ’…. त्यो मेरो मुटुको उब्जा हो, मेरो प्रेय हो; तयसलाई आदर नगरी म रहनै सकिनँ; म तिमीलाई मायाँ गर्छु, प्यार गर्छु साथै त्यसकै माध्यमले तिम्रो पनि आदर गर्छु ।”

एकछिन दुवै चुप रहे, कदाचित् दुवै सम्झिरहेका थिए कि अब यसभन्दा बढ्ता खँदिलो प्रस्टताको आवश्यकता छैन । अजयको अन्तरको कुन्नि कुन भागमा एउटा विशिष्ट किसिमको प्रकाशरेखा परिरहेको थियो जहाँ उसले आफ्नो वास्तविक रूप देख्यो, आफ्नो भित्री वास्तविकताको दर्शन गऱ्यो साथै देख्यो कि उसको सामुन्नेकी यो नारी कत्तिकी महिमामयी छ, कत्तिकी परिष्कृत, अझ अद्भुत प्रकारले आदरणीय । दुवैको भेद त्यस बखत स्पष्ट भएर गएको थियो र कदाचित् त्यहाँ अजयले नसोची सुख पाएन कि प्यार महान् हो, स्वाद त्यसको  !

अजयले आफ्नी दुलहीलाई स्वास्नीजस्तो अँगाले पनि मायाँ गर्न सकेन; साथै तत्कालीन राणाशासनको विरुद्ध एउटा गुप्त राजनीतिमा त्यसले भाग लिन थाल्यो । उसको घरमा एउटा अर्द्धमूक विरोध, प्रतिरोध र वादप्रतिवाद चल्न थाल्यो; कहिले दुलहीलाई लिएर र कहिले राजनीतिलाई लिएर ! पत्ता लाएर एकदिन मैयाँसाहेबले अजयलाई एउटा चिट्ठीमा लेखेकी थिइन्- ‘…… थाहा पाएकी छु तिमीले आफ्नी स्वास्नीलाई उसको नारीत्व लिएर पनि उपेक्षित पारिराखेका छौ; के साँच्चिकै तिमीमा स्वादभन्दा अगाडि स्नेहको बीजाणु नै छैन र ? र तिमी मेरो सामुन्ने प्यारको दावा गर्न आएका थियौ । छिः अजय ! यो केही पनि सहज होइन, स्वाभाविक होइन र प्रतिक्रिया भए पनि यो प्यारको प्रतिक्रिया होइन, कुनै अर्कै थोकको भए होला ! पत्नीको नारीदेह राम्ररी प्राप्त गरेछौ, प्यार दिन सकेनौ, होइन ! लज्जा लागेन, यदि यसैलाई प्यारको प्रतिक्रिया मानेका छौ भने ठुलो भूल गरिरहेछौ, भ्रम सँगालिरहेका छौ, आफैँलाई ठगिरहेका छौ । सुन्दछु, तिमी कुनै गुप्त राजनीतिक षड्यन्त्रमा पनि उत्रेका छौ; विरोध छौन तर भन त, देशभक्तिले विह्वल भएर हो कि यसमा कुनै प्रतिक्रिया छ; प्रतिक्रिया नै हो कि कुनै लालसा ? …..,’ इत्यादि ।

यसपछि अत्यन्त त्वरित् गतिले अनेकौँ परिवर्तन भए । मैयाँसाहेबको बिहा भयो; रक्तपरम्परामा मैयाँसाहेबकै अनुकूल श्रेणीका एक जना प्रौढ राणाज्यूका साथ ! अजय राजनीतिक षड्यन्त्रमा जेलमा पऱ्यो र साल-डेढ सालपछि एउटा क्रान्ति भएर राणशासनको समाप्ति भयो, देशमा जनताको प्रजातान्त्रिक शासनको प्रारम्भ भयो । राजनीतिक बन्दीहरू बाहिर आएर केही शासनकार्यमा आए, केही अन्य कुनै पार्टीमा लागे । अजय पनि तत्कालीन अधिकाररूढ नेपाली काङ्ग्रेसको एउटा सक्रिय साथै महत्त्वप्राप्त सदस्य भयो । सामन्तवर्गको हालत सरकारी आर्थिक सहायता, संरक्षक इत्यादि छुटेर तेजीसाथ बिग्रँदै गयो । सरकारी भत्ता र जागिरमा भएकाहरूको अवस्था, दुवैबाट वञ्चित भएर, अझ तिनीहरूको रोब-रवाफको अभ्यासले, आयस्रोत नभएका व्ययद्वारा झन् खराब भयो । मैयाँसाहेबको पतिगृहको अवस्था पनि आर्थिक अवसानतिरै लम्किरहेको थियो ।

परिवर्तनको तत्कालीन अस्तव्यस्तता केही सुध्रेर देशमा तत्काल बनेको उत्तरदायी जनसरकार अलि स्थिर र सशक्त भएपछि एक दिन सिनेमाहलमा मैयाँसाहेबसित अजयको भेट भयो । आफ्नो लोग्नेसित परिचय गराउँदै मैयाँसाहेबले अजयको स्वास्थ्य, उसकी दुलही र बच्चाको हालसमाचार, अजयका बाआमाको स्वास्थ्यसमाचार इत्यादि सोधिन् र पिक्चर सुरु भएपछि उतैतिर सबैले ध्यान दिए । किन्तु अजयले पिक्चरको कथामा मन लगाउन सकेन । उसलाई लाग्यो कि अझ पनि कतै कुनै ठुलो भेद छ र मैयाँसाहेबमा पुरानो सत्ताजन्य पारिवारिक रवाफ नरहे पनि, अजय कल्पना गरिराखेजस्तो, मैयाँसाहेब लत्रिएकी पनि छैनन् । अजयले यो पनि तत्क्षणै थाहा पायो कि अब जो शेष छ त्यस त्यो नारीको निर्माण नै हो र कदाचित् कहिल्यै पनि जाने छैन, यद्यपि अजयले कल्पनाको यो अप्रत्याशित कुरो थियो ।

सिनेमाबाट फर्केर राति ओछ्यानमा अजयलाई निद्रा परेन र ऊ कुन्नि के-के सोच्दै कोल्टे फेर्दै लडिरह्यो । एउटा अप्रस्ट चेतनाले उसलाई लगातार उसलाई घोच्तै रह्यो कि मैयाँसाहेबलाई अजयले रत्ती पनि प्रभावित गर्न सकेन, उनीहरूको रवाफ आज अजयजस्ताहरूको श्रेणीमा आए पनि मैयाँसाहेब र अजय ठाउँको ठाउँमै छन् । अजयलाई एउटा क्षोभ, आक्रोश र पछिबाट एउटा अत्यन्त अप्रकट सूक्ष्म अभिमानले समात्यो तर आक्रोश, क्षोभ कसको प्रति थियो, र त्यो अभिमान हो अथवा अहङ्कार, अजयले निधो गरी चेतनामा प्रस्ट पार्न सकेन । भोलिपल्ट उसले एउटा निकै लामो चिट्ठी मैयाँसाहेबलाई लेखी गुप्त तवरले पठायो र दुई-तीन दिनपछि आएको मैयाँसाहेबको पत्रमा लेखेको उत्तर थियो- ‘….. प्रेम गरेको छु भने मुक्ति छैन अजय, अप्रत्यक्ष भए पनि आज सत्तासम्पन्नजस्तो भएर प्यारको अपमान गर्ने धृष्टता नगर न; मलाई पक्का थाहा छ तिमी राजनीतिक खेलाडी होइनौ, राजनीतिक दम्भी भए होलाऊ ! तर त्यस दम्भको प्रयोग प्रेमभित्र गरेर अब यसभन्दा पनि बढ्ता आफूलाई नओराल न ! मलाई दुःख लाग्छ; किनभने तिमीलाई म आज पनि त्यस्तै मायाँ गर्दछु, प्यार गर्दछु, अत्यन्त प्यार गर्दछु, जस्ताको तस्तै ! मेरो प्यार अझ पनि अविजेय छ अजय, तिमीबाट त्यो विजित हुनेछैन । हाम्रो समाज र श्रेणीको ओरालो प्रारम्भ भए पनि यो मेरो नजिक कुनै अप्रत्याशित कुरो थिएन र यसबाट दुःख पाए पनि सहज भावले नै अँगालेकी छु । तिम्रो सहानुभूतिको आवश्यकता छैन, त्यो फिर्ता पठाएकी छु, तिमी नै सँगालिराख तर शिष्टताले त्यसका लागि धन्यवाद अवश्य ज्ञापन गरिरहेकी छु । एउटा अनुरोध छ, आफ्नो यस मैयाँसाहेबलाई अब पुनः धन्यवाद दिनुपर्ने कुनै बाध्यतामा तिमीले ल्याउने चेष्टा नगरे कृतज्ञ हुनेछु । आशा छ, यत्तिको मनुष्यता अवश्यमेव समात्नेछौ । ….. तिमी आज पनि मेरो प्रिय छौ, आजन्म प्रिय नै रहनेछौ; पूर्ण वयस्क र संसारको अनुभव पाएर निःसङ्कोच भन्दछु कि यसबाट मेरो मुक्ति छैन, मुक्त हुन पनि चाहन्नँ, किनभने यत्तिको प्यार गर्न सकेकी छु, छातीको यस्तरी प्राणप्रवाह आजको दुरवस्थामा पनि सहज स्रोतमय राख्न सकेको कुरा मेरा निम्ति कम्ती गौरवको वस्तु होइन तर खै, अझ पनि तिमी त्यो बुझ्न असमर्थ नै छौ र हाँसो उठ्तछ कि आज सूक्ष्म रूपले, सकेसम्म लुकाएर पनि आफ्नो भरौटे सत्ता प्रदर्शित गर्न पनि तिमी चुकेनौ । तिम्रो दोष यो होइन, तिमी जो हौ त्यही मात्र प्रस्ट हुन गएको छ । तिमीले उत्तरै नदिनुपर्ने एउटा कुरा सोध्छु अजय, के तिम्रो यस मैयाँसाहेबको मायाँभन्दा बढ्ता गौरव तिमीले आफ्नो प्राप्त उच्छिष्ट सत्तालाई दिएका छौ ? यसो छ भने छातीको अत्यन्त हाहाकारभित्र मैले सम्झनुपर्छ अत्यन्त अपात्रमा मेरो प्यार परेको छ तर पहिलेदेखि नै क्रमशः बुझ्दै गएर समालेर तिमीलाई प्यार (जुन नगरी सुखै भएको थिएन) गरेकी छु र आज जतिसुकै ठुलो हाहाकार गर्नुपरे पनि त्यसबाट मुक्त हुने बाटो छैन र मुक्त हुने चेष्टा गर्ने दम्भ पनि गर्दिनँ । अजय, हुन सक्छ भने गौरवान्वित होऊ तिमी मेरो प्रिय हौ, प्रियपात्र हौ …… ।”

पत्र पाएर अजयको अप्रत्यक्ष चेतनाले यो नसम्झी सुख पाएन कि अन्ततः सारा परिश्रम व्यर्थ गयो, सारा कष्टवरण मिथ्या भयो- राजनीति पनि, जेलयातना पनि, नेताइँ पनि ! उसले आज बल्ल सम्झ्यो कि हालै बितेको भूतमा उसले कति कठोर कष्ट भोगिसकेको छ तर व्यर्थैमा ! कहाँसम्म भने हुनै भएको क्रान्ति र आएको परिवर्तनमा उसको केही पनि छैन, उसले पाउन पनि केही पाएको छैन र गुमाएको मात्र छ । समातेको राजनीति उसको आफन्त होइन र हृदयव्यापारको प्राप्तिमा पनि कुनै लाभ्य पाइएन ! एउटा विराट् व्यर्थता उसको सामुन्ने उभियो जहाँ उसको परिवार पनि थिएन, स्वास्नी-बच्चा पनि थिएनन् र राजनीति पनि थिएन तर अब गर्नुपर्ने कुनै उपाय पनि थिएन, अतः राजनीतिको काममा आफूलाई अल्झाइ नै राख्यो ।

बिस्तारै-बिस्तारै क्रमानुसार सामन्तवर्ग र मैयाँसाहेबको आर्थिक अवस्था बिग्रँदै गयो । घरमा सञ्चित मूल्यवान् वस्तुहरू एक-एक गरी काठमाडौँका बजारमा बिक्री हुँदै गए र तीन वर्षभित्रैमा धेरैजसो मध्यमश्रेणीका सामन्तहरू टाट भएर गए । एक दिन अजयले थाहा पायो कि मैयाँसाहेबका लोग्ने घरपर्यन्त बेची बिदेसिन लागेका छन्; केही अवशेष पुँजी लिएर बाहिर कुनै बन्दबेपार गर्ने उनको योजना छ … ।

अनि एक दिन अप्रत्याशित रूपमा ऊ मैयाँसाहेबको घरमा पुग्यो, बैठक कोठामा दैन्य स्पष्ट थियो । मैयाँसाहेबका गहना, लुगा, परिच्छदहरूमा पनि दीनताको छाप थियो । त्यो नारी, जो एक दिन अत्यन्त महिमामयी देखा परिरहेकी थिई, हालै सिनेमाहलमा पनि महिमामयी नै देखिएकी थिई, आज एउटी अवश, गुज्रिएकी, उदास नारीदेह थिई । अजयलाई देख्नेबित्तिकै एउटा शुष्क हाँसो हाँसेर भनिन्- “आएछौ, आऊ बस; प्रसन्न भएकी छु, अजय ! अब हामी आफ्नो देश छाडेर जान लागेका छौँ, तिमीसित अब भेट हुनेछैन अथवा कुन्नि कहिले सम्झन गाह्रो छ । निःसङ्कोच भएर भन्दछु, आज तिम्रो स्वागत गर्न अझ पनि असमर्थ नभए पनि तिमीलाई केही खुवाउने, आदर गर्ने इच्छा लागेन तर त्यसको जरुरत पनि छैन भन्ने तिमीले पनि सम्झेकै होलाऊ । प्रचुर आदर, स्वागत पाइसकेका छौ, तिम्रो र मेरा निम्ति यो कुनै नयाँ कुरा होइन । तर …”

अजयले कुरा काट्दै सोध्यो- “होइन, हजुरहरू किन बिदेसिन लाग्नुभएको ? यहीँ बसेर पनि त आम्दानी हुने कुनै काम गर्न सकिन्थ्यो !”

एउटा खिन्न हाँसो हाँस्तै तर कुनै महान् पिरलाई अन्तरामा थिच्दै मैयाँसाहेबले भनिन्- “अजय, आम्दानी नै सबै थोक होइन, बाँच्नु-मर्नु पनि कुनै खास कुरो होइन तर बाँच्नु छ भने अन्यत्रै गएर मरौँला, आफ्नो वर्गको पिर खपौँला, हाम्रो पाप भोगौँला; भोग्नुपर्ने पनि हो ! किन्तु आज यी कुरा जान दिऊँ, बिदाको अन्तिम बेलामा एउटा कुरा सोध्नु छ र ज्ञानको होइन कि हृदयको उत्तर देऊ । आज त्यो उत्तर नसुनी विदेशमा मर्नु पनि असफल भएर जाला । अजय, धेरै सहेँ अब सहने शक्ति नै नभएर सोधिरहेकी छु, के तिमीले पनि मलाई मायाँ नै गरेका थियौ ?”

प्रश्न सुनेर अजय हतबुद्धि भएर टोलाउन लाग्यो । यो कस्तो सर्वनाशी प्रश्न हो र के आजसम्मका सारा अतीतको प्रामाणिक व्यर्थता यसले सिद्ध गर्न लागेकी हो कि ? अजयले समाल्नै नसक्ने भएर भन्यो- “यो कस्तो प्रश्न हो, बिन्ती छ, भनिबक्सिस्योस् यो कस्तो, मलाई कहाँ पुर्‍याउने प्रश्न हो ?”

अजय नजिकै आई हात समाती मैयाँसाहेबले भनिन्- “दुःख लिनु र उद्विग्न हुनु पर्दैन, अजय । यति मात्र भन, के तिमीले मायाँ गरेका थियौ ?”

यसलाई झन् सहनै नसकेर अजयले भन्यो- “मायाँ गरेको थिएँ भन्नु पर्दैन; के त्यही लिएर अझसम्म सम्पूर्णतः व्यर्थै हुन गएको, जन्म लिनु नै असफल हुन गएको होइन र !”

“हरे, त्यसो भए मलाई किन पाएनौ, किन प्राप्त गरेनौ ? पुरुष भएर पनि त्यति कायरता अँगाली प्रेमको दावा गर्ने अपदार्थ, मलाई किन छोड्यौ, अधिकारपूर्वक बल गरेर किन खोसिलिएनौ ?”

यस्तो हत्याकारी सोधाइ हो, प्राणको होइन कि जीवनैको अझसम्म बाँचेको र अब जति बाँच्नुपर्ने हो त्यसैको हत्या गर्ने प्रश्न….. ! अजय किङ्कर्तव्यविमूढ चुप टोलाइ नै रह्यो । मैयाँसाहेबले हारी थाकेकी जस्ती भएर मन्द स्थिर स्वरमा भनिन्- “प्रेम गरेका थियौ तर साहस नभएर त्यो प्रेम भएन । यद्यपि साहसलाई पनि अनेक प्रकारले उकास्ने चेष्टा कैयौँपटक तिमीलाई घोचेर मैले गरेँ तर तिमीमा बीजाणु नै नभएर त्यसले वास्तविक रूप नै पाएन, मन मारी बसेँ र आजन्म त्यही सम्झि नै रहेँ तथा आज प्रस्ट पनि भयो ! खै यही नै पुर्पुरामा थियो, नत्र आज यो मैयाँसाहेब यस्तरी अपदार्थ हुनुपर्ने कारण आउँदैनथ्यो । हुन्छ, प्यारलाई प्राप्य बनाउन सकेनौ भने अब आजीवन त्यसको व्यर्थता नै सम्झिराख !”

एकछिनसम्म भयानक नीरवता त्यहाँ व्याप्त भयो । त्यसपछि मैयाँसाहेबले लामो सास फेरेर भनिन्- “अजय, अब जाऊ, प्रवासका लागि मलाई धेरै काम छ । तिमी मोटरमा आएका छौ, हिँड, बाहिरसम्म पुर्‍याइदिऊँ !”

ढोकाबाहिर हुने बाटामा अलि रोकिएर मैयाँसाहेबले आफ्नो हातको एक मात्र मूल्यवान् हीराको औँठी झिकी अजयको औँलामा लाउने चेष्टा गर्न लागेको देखेर उसले भन्यो- “यो के गरिबक्सिएको ? यस्तो रित्तो अवस्थामा बिदेसिन परेर यसले केही सहायता नै गर्ला । हरे ! यसरी रित्तिएर किन जाने ! के आज पनि …. आज यसको समय छ र ? यो …..”

कुरा काट्दै मैयाँसाहेबले भनिन्- “अजय, परदेशमा अवश्यमेव कुनै आपत्तिमा यसले किञ्चित् सहायता गर्न सक्थ्यो तर यो नभएर पाएको कुनै दुःखमा यो सम्झने बाटो नथुन कि औँठीलाई मैले अन्तिम चिनो बनाएर अजयलाई दिएर आएकी छु । म जहाँ छु, सकेसम्म मलाई त्यहीँ नै रहन देऊ न, अजय !”

अवाक्, हतबुद्धि अजयले मौन नै रही मैयाँसाहेबको अनुहारमा दृष्टि गडाई हेऱ्यो र त्यस महिमामयी नारीको अवलोकन सहन नपाएर अनि तप-तप-तप अबाध भावले उनको आँसु नझरी रहेन । वातावरण एकदम स्तब्ध थियो र बाहिर तथा भित्रका सन्धिस्थलको मध्यढोकामा दुई प्राणीका शरीर मात्र उभिएर आफ्ना सासद्वारा, आर्द्रताको अर्घ्यद्वारा त्यसको साक्षित्व गरिरहेका थिए जसले एउटा प्रेमार्द्र तर पानीदार हृदयको महान् परिव्याप्तताले त्यस नीरवतालाई गह्रुङ्गो बनाइरहेको थियो ।