बालबालिकाहरुलाई भोजन गराउँदै र न्यानो बाड्ँदै सुमि सँस्कृतिको भजन सार्वजनिक । (भिडियो सहित )

अनाथ बालबालिकाहरुको संरक्षण संस्था नवयूवा बाल सुधार समाजको परिसरमा बालबालिकाहरुलाई मिठो मसिनो खुवाएर केहि न्यानो टोपीसमेत वितरण गर्दै भजनको भिडियो लोकार्पण गरिएको हो । लोकप्रिय गायक तथा संगीतकार नरहरि प्रेमीको संगीत रहेको हिन्दी भजनको म्युजिक भिडियोको निर्देशन राज कुमारले गरेका हुन् । सजिना लामिछानेको मुख्य भुमिका रहेको भिडियोमा उनलाई ज्ञानु बस्नेतले साथ दिएका छन् ।

हरेक भजनको अर्थ भनेको धर्म हो र धर्मको मुल मर्म भनेकै सत्कर्म र सेवा रहेको हुँदा यो भजनको सार्वजनिकिकरणलाई पनि सेवा कर्मसँग जोडिएको निर्देशक राज कुमार बताउँछन् । उसो त कलाकार अनि कलाकर्मको धर्म भनेको कलाकारिताको माध्यमबाट समाजलाई सुसुचित र सुसंस्कृत गराउँदै लानु हो भन्दै संगीतकार नरहरि प्रेमीले भने ” संगीत समाजसेवासँग जोडिनैपर्छ त्यसैले हामीले यो कार्यक्रम बालबालिकाहरुका साथ उनीहरुलाई रमाईलो गराउँदै सम्पन्न गरेका हौँ “। कार्यक्रमकैक्रममा प्रेमीले थपे ” भजन भनेको संस्कार हो र संस्कार बालापनदेखिनै सुरुवात हुनुपर्छ । बालबालिकाहरुलाई सुसंस्कार दिन सकियो भने मात्र भोलिका सबल, सक्षम अनि असल युवा निर्माण हुन सक्दछन् ” ।

नव युवा बाल सुधार समाजका संचालक शिवशंकर परियारको सभापतित्वमा सञ्चालित श्रव्यदृश्य लोकार्पण समारोहमा प्रमुख अतिथिको भुमिका ग्रहण गरेका बुढानिलकण्ठ नगरपालिका ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले भन्नुभयो ” संगीतनै समाज रुपान्तरणको शसक्त माध्यम हो त्यसमाथि झन् भजनले त हरेक व्यक्तिलाई सत्यचरित्रमा लाग्दै असल मानवीय कर्म गर्न प्रेरित गरिरहन्छ ” । जागो जागो माँ भवानी भजनले पनि हरेक मानवलाई दैविशक्तिप्रति आस्था र विश्वास राखेर अगाडि बढ्नसके असंभव पनि संभव संभव भएर आउँछ , आस्थाले मानिसमा आत्मबल बढाउँछ भन्ने सन्देश सार्वजनिक गरिएको भजनले दिन खोजेको छ ।

कार्यक्रममा सहयोगी सबैलाई धन्यवाद दिँदै सुमधुर स्वरकि धनि गायिका, आध्यात्मिक व्यक्तित्व सुमि सँस्कृतिले भन्नुभयो ” साँचो मनले निस्वार्थ रुपमा दान गर्न सक्यो भने त्योभन्दा ठुलो आनन्द र त्यो भन्दा ठुलो धर्म केहि हुँदैन । त्यसैले पनि हामीले सानै भएपनि माया सद्भाव र न्यानो बाँड्दै भजन सार्वजनिक गर्ने कार्यलाई यो रुप दिएका हौँ “। औपचारिक कार्यक्रमलाई केक काटेपछि अनौपचारिक रुप दिँदै बालबालिकाहरुसँग खाना खाँदै र सबैलाई न्यानो टोपी लगाईदिँदै रमाईलो गरि सम्पन्न गरिएको थियो । सबैलाई न्यानो बाँडेर लोकार्पण गरिएको भजनले सबैको न्यानो पाओस् ।