अमेरिकामा महामारी पछि बिदेशीसंगै नेपालीहरुले मनाए हलोविन पर्व ,मनाउने क्रम जारी (तस्बिर सहित )

विजय थापा ,डिसी महानगर क्षेत्र । गत बर्ष २०२० मा कोरोना महामारीको चपेटामा परेको अमेरिकामा यस पटक अर्थात् २०२१ को हलोविन पर्व बिदेशी संगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक बर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व -२०२१ खुसी तथा मनोरंजनपूर्वक मनाएका छन् । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक हुनाको कही छिटो र कही ढिलो मनाउने क्रम जारी रहेको छ ।

यस बर्ष नेपालीहरुको महान चाड दशैँ समाप्त पछि हलोविन पर्व आएको छ । नेपाली समुदायले अमेरिकामा जन्मेका दोश्रो पुस्ता ,सानोमा अमेरिका आएका र बिद्यालय समेत जान थालेका छोराछोरीको साथमा हलोविन पर्व मनाएका छन् ।

अमेरिकामा मनाइने ईसाई पर्व ( क्रिसमस )थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस )सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले बिदेशीले झैँ मनाउन सुरु गरि सकेका छन् ।

तिहारमा देउसी भैलो खेले झैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन हलोविन पर्व मनाउछन । साथै ह्यापी हलोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

यो पर्वमा घर छिमेकमा जाने प्रायजसोले कालो रंगको पोशाक र विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाक लगाएको देखिन्छ । किशोरकिशोरी /बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई (चकलेट )दिएका छन् l हेलोविन पर्वमा खेल्न आउने बालबालिका तथा किशोर किशोरीलाई तिहार झैँ पैसा दिनु पर्दैन ।

अमेरिकामा बालबालिकालाई रातीको समयमा छिमेकी कै घर वरपर भएता पनि एकल छोड्ने चलन हुदैन । यसरी बालबालिका खेल्न जाँदा उनीहरुको सुरक्षा तथा मार्ग दर्शन गर्न उनीहरुको साथमा अभिभावक पनि साथमा आउछन ।

घरबेटीले अन्य खाने कुराहरु दिनु पर्दैन l नेपालको तिहारको समय र हेलोविनको समय कहिलेकाही एक दुई दिनको फरकमा पर्न जान्छ । २०२१ मा तिहार पछाडी परेको छ ।

बालबालिकाले पहेला ,निला ,काला ,सेता बस्त्र ,भूतप्रेत झैँ ,होलिका ,मुकुण्डो ,नकाव ,भोजमा लगाईने बिशेष पोशाकमा घर ,बजार तथा बिशाल बजारमा गएर मिठाई मागी मनोरंजन गर्दछन ।

हलोविन के हो ? र किन मनाइन्छ ?

हलोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो। हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ।

गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ। यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

यो चाड मनाउने देशको संख्या बढ्दो छ। आइरिस् (आयरल्यान्डका बासिन्दा) र स्कटिस् (स्कटल्यान्डका बासिन्दा)ले यो चाड उत्तर अमेरिका ल्याएका हुन्।

हलोविन शब्दको प्रयोग पहिलो पटक सोह्रौ शताब्दीमा प्रयोग गरिएको हो भने स्कट ल्याण्डमा All-Hallows’-Even (“evening”) को मतलब अर्थात् हेलोविन रात्री भन्दा अगाडी हो l यो आत्मा दिवसको पूर्व सन्ध्या हो भने सन्यासी दिवसको नामले पनि जानिन्छ l

अमेरिकामा हलोविन पर्वमा संचार माध्यम तथा सूचना जारी गर्दै आफ्ना बालबालिकाहरुलाई कसरी सुरक्षितसंग हलोविनमा सहभागी हुने ,कसरी सडक काट्ने आदी बारेमा पनि जानकारी गराईएको हुन्छ । यदी मुख्य बजार भित्र खेल्ने हो भने र बाटो काट्दा चम्किलो लुगा लगाउन समेत जानकारी गराइएको हुन्छ ।

ईशाई दिवस (क्रिसमस) र धन्यवाद दिवस (थाङ्क्स गिभिङ्ग ) पछिको सबै भन्दा खर्चिलो पर्वमा हालोविन पर्दछ । हलोविनमा घर बाहिर ,भित्र सजावट ,बालबालिकालाई लुगा कपडाको साथै अभिभावकहरु पनि सजावटको साथमा हिड्न थालेका छन् ।

हालोविन खेल्दा १२ बर्ष मुनिका भएमा अनिवार्य रुपमा अभिभावक साथमा हिड्ने गर्छन । यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकि वरपर मात्र खेल्न सुझाव गर्दछन ।