अमेरिकाको मेरिल्याण्डमा मन्दिर निर्माण गर्न १७ एकड जमिन सहित ८ लाख ५० हजार डलर नगदमा भवन खरिद

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकामा नेपाली समुदायको इतिहासमा सबै भन्दा पहिले सामुदायिक केन्द्रको जग्गा र सम्पत्ति जोड्ने ईतिहास रचेको नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी )ले मेरिल्याण्डमा अर्को सम्पत्ति जोड्न सफल भएको छ ।

गत अक्टोबर ८ शुक्रबारका दिन मेरिल्याण्ड राज्यकै जर्मन टाउन (शहर)मा ठूलो भवन सहित करिव १७ एकड जमिन खरिद गरेको छ । नेपाल शिक्षा तथा संस्कृति केन्द्र (एनईसीसी ) भवन तथा पशुपति बुद्ध मन्दिरमा अहिले पनि मेरिल्याण्डकै वेल्सभिलमा संचालनमा छ ।

एनईसीसीले उक्त नयाँ सम्पत्तिलाई ८ लाख ७५ हजारमा खरिद गर्ने प्रस्ताव राखेको थियो । बेच्ने घर धनीले उक्त प्रस्ताव स्वीकार पनि गरेका थिए भने नगद दिने समयमा सम्झौता भन्दा २५ हजार घटाई दिएको कारण ८ लाख ५० हजार नगद बुझाईएको छ ।

गत अक्टोबर ८ कै दिन जग्गा नेपाल शिक्षा तथा संस्कृति केन्द्रको नाममा अमेरिकाको मालपोत कार्यालयले पारित(अर्थात् पास)गरि दिएको छ । एनइसीसीको नाममा नामसारी भै सकेको छ भने भोग चलन अब एनइसीसीले गर्ने छ ।

१६. ८३ एकड जमिन अर्थात् १३३ रोपनी सम्पत्ति जोड्न एनइसीसी सफल भएको छ । उक्त जग्गा र सम्पत्तिसंग जोडिएका छेउछाउका घरहरुका बजार भाउ करिव १० लाख हाराहारीमा रहेको बुझिएको छ । यसमा एनइसीसी सँस्थाका नेतृत्ववर्ग र यस परियोजनामा लागेका सम्पूर्णले केही सुलभ मुल्यमा घर र जग्गा प्राप्त गर्न सफल भएका छन् ।

वर्तमान सभापति सरोज देवी प्रजापतिका अनुसार यो सम्पत्ति खरिद गर्न गत मे १५ देखि संस्था लागेको बताईन । प्रजापतिले जुन ११ भन्दा अगाडी नै लगभग किन्ने तयारी स्वरुप धरौटी समेत बुझाईएको ईनेप्लिजलाई जानकारी गराइन ।

सभापति प्रजापतिका अनुसार गत अगस्त सम्म के के सुबिधा पाउने ,गर्न हुने र गर्न नहुने आदी ईत्यादी बारेमा गहन अध्ययन र अनुसन्धान गरेको थियो । यी सबै कुराको शुभ संकेत प्राप्त गरे पछि मात्र एनइसीसीले हात हालेको हो ।

बेल्सभिल सम्पत्तिमा रहेका बुद्धको स्तुप ,डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका एक व्यक्तित्वले १० फिटको शिव मूर्ति प्रदान गर्ने प्रतिबद्धता जाहेर गरि सकेकोले उक्त मुर्ति सहित नयाँ सम्पत्तिमा ल्याइने छ ।

स्मरण रहोस ,नया घर र जग्गा लिनु भन्दा अगाडी अरु जग्गा पनि हेरिएको तर एनइसीसीले आफ्नो मापदण्ड पुरा गरे पछि अनुसार मात्र जग्गा प्राप्त भएको हो ।

उक्त जग्गामा मन्दिर निर्माण गर्न काउन्टीको पुरातात्विक बिभाग तथा काउन्टीसंग बुझेर मन्दिर बनाउन सकिने बिषयमा छलफल गरिएको थियो । र ,मन्दिरको लागि उपयुक्त र निर्माण गर्न सकिने नियम अनुसार दिने सकिने भए पछि मात्र यो निर्णयमा पुगी जग्गा खरिद गरिएको हो ।

जग्गा आफ्नो नाममा पास (पारित)गर्न एनईसीसीका पूर्व सभापति कृष्ण निरौला ,निर्वतमान सभापति खिलेन्द्र न्यौपाने र संस्थाको जग्गा किन्न संस्थाको तर्फबाट बोर्ड अफ ट्रस्टीका सभापति खिलेन्द्र न्यौपाने र सभपति सरोज प्रजापतिले हस्ताक्षर गरेका थिए ।

धनीपूर्जा आफ्नो हातमा आइ सके पछि उक्त सम्पत्तिको हाताभित्र पूजा अर्चना र नरिवल फुटाइएको थियो । सानो कार्यक्रम समेत गरिएको थियो । अब जाडो महिनाको सरुवात हुने हुनाले द्रुतगतिमा उक्त सम्पत्तिमा सर सफाई अभियान सुरु गरि हाल्ने सभापति प्रजापतिले बताइन ।

यो परियोजनाका तथा मन्दिरका लागि नयाँ जमिन खरिद गर्ने कार्यमा प्रवन्ध निर्देशक अभियन्ता(ई)उमेश निरौला ,प्रज्वल रेग्मी लगायतले अहोरात्र काम गरेका छन् ।

बेल्स्भिल स्थित सम्पत्ति अब बिस्तारै बिक्रि गरि उतै लगानी गरिने र अन्तत्वगत्वा जर्मन टाउन शहरमै नेपाल शिक्षा तथा संस्कृति केन्द्र(एनइसीसी)रहने छ ।