लन्डन दूतावासमा पत्रकार महासंघ यूकेको नवनिर्वाचित समितिलाई सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ ।

शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष अर्यालसंगै उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम र सदस्यहरु नगेन्द्र नेम्वांग, मिलन तमु र बम थापा सुर्यवंशीलाई खादा ओढाएर सम्मान गरे । सोहि अवसरमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् सफलताको शुभकामना दिए । पत्रकार महासंघ यूके एवम् यहाँस्थित नेपाली पत्रकारहरुबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुशी व्यक्त गरे ।

मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरुबारे पनि समाचारहरु बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ‘बेलायतमा रहेका पत्रकार साथीहरुले दुवै खालका भूमिका निभाइरहेको मैले पाएं, जुन साँच्चीकै सकारात्मक र तारिफयोग्य छ ।’

पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’ लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए ।

दूतावासकी नियोग उपप्रमुख एवम् प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससंगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन् । बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रसंशा गरिन् ।

पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरुमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे ।
दूतावास र पत्रकार महासंघ यूकेबीच विगतमा निकट सहकार्य रहंदै आएको स्मरण गर्दै उनले भने, ‘भविष्यमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाओस् भन्ने हामी चाहन्छौं । हामीसंग रहेको मिडिया प्लेटफर्म र माध्यमहरुको अधिकतम सदुपयोग गर्न हामी दूतावासलाई आव्हान गर्दछौं ।’

त्यसअवसरमा पत्रकार महासंघ यूकेका संस्थापक सल्लाहकार भगिरथ योगी र पूर्व अध्यक्ष चिरन शर्माले पनि शुभकामना मन्तव्य राख्दै दूतावास र पत्रकार महासंघ यूकेबीच रहँदै आएको सहकार्य निरन्तर र थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

सोही अवसरमा पत्रकार महासंघ यूकेका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ गर्दै खादा र पुष्पगुच्छा प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन लन्डन दूतावासका सेक्रेण्ड सेक्रेटरी रामबाबु नेपालले गरेका थिए । कार्यक्रममा दूतावासका सैनिक सहचारी रत्न गोदार एवम् सहचारीद्धय गजेन्द्र राई र पुजन पाण्डे लगायतका कर्मचारीहरुको पनि सहभागिता थियो ।