बेलायतबाट एनआरएनए युरोप उपसंयोजकमा साझा उम्मेद्वार दयानिधि सापकोटा

लन्डन । एनआरएनए आइसीसीको आसन्न निर्वाचनको लागि केही साता बांकी रहंदा चुनावी सरगर्मी बढ्दै गएको छ । विभिन्न पदमा आफ्नो उम्म्मेद्वारी घोषणा गरेका आकांक्षीहरु यतिबेला आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय बनिरहेका छन् ।

यसपटक आइसीसी निर्वाचनमा बेलायतबाट पनि आधा दर्जन बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । जसमध्ये युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार दयानिधि सापकोटा अहिले मजबुद अवस्थामा देखिएका छन् ।

आफ्नो उम्मेद्वारीमा बेलायतसहित सिंगो युरोप क्षेत्रबाट प्राप्त सकारात्मक प्रतिक्रिया र समर्थनले उनलाई अहिले उत्साहित बनाएको छ । ‘संस्थामा नयाँ जिम्मेवारी बोकेर काम गर्छु भन्ने मेरो आकांक्षामा अग्रज, सहकर्मी, शुभचिन्तक सबैले हौसला बढाउनुभएको छ’, उनी भन्छन्, ‘यसले मलाई उत्साहित मात्र बनाएको छैन, काँधमा जिम्मेवारी पनि थपिएको महशुस भएको छ ।’

दयानिधिको युरोप उपसंयोजक पदको उम्मेद्वारी बेलायतबाट ‘सर्वसम्मत’ बनेको छ। यसअघि बेलायतबाटै युरोप उपसंयोजक पदमा उम्मेद्वारी घोषणा गरेका ललितकुमार न्यौपानेले दयानिधिलाई समर्थन गर्दै पछि हटेपछि उनको स्थिति झन् बलियो बनेको हो ।

बेलायत आउनुअघि एक दशक बढि समय युरोपमा बिताएका दयानिधि अब एनआरएनएमा युरोप क्षेत्रका नेपालीहरुको प्रतिनिधिका रुपमा काम गर्न खोज्दैछन् । ‘लामो समय युरोपमा बस्दा यहाँका नेपाली दाजुभाई-दिदीबहिनीको अवस्था नजिकबाट देखेको र अनुभव गरेको छु । उहाँहरुको भावना, चाहना र आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ’-उनी भन्छन् ।

दयानिधिले निर्वाचनको मुखमा पपुलिष्ट र महत्वाकांक्षी प्रतिवद्धताहरु बाँडिरहेका छैनन् ।’सामाजिक कार्यमा सकेको योगदान गरौं भन्ने चाहना छ । त्यसैले पदभन्दा पनि प्लेटफर्मको खोजी गरेको हुँ’, उनले भने, ‘कुरा मात्रै भन्दा पनि जति सकिन्छ कामै गरेर देखाउने रहर मेरो हो ।’

दयानिधिको उम्मेद्वारीलाई यतिबेला मिडल्यान्डका अभियन्ताहरुले पनि आफ्नो क्षेत्रकै गौरवका रुपमा प्रचार गरिरहेका छन् । एनआरएनए यूकेको निर्वाचनमा दुई-तीन समूहमा विभाजित अभियन्ताहरु पनि अहिले दयानिधिको समर्थनमा एकै ठाउँमा खुलेका छन् ।

मिडल्यान्डको लेष्टर शहरमा बस्दै आएका सापकोटा एनआरएनए अभियानमा यूकेका एक स्थापित अभियन्ता हुन् ।

एनआरएनए यूकेभित्र मिडल्यान्डलाई निर्णायक शक्तिका रुपमा उभ्याउने अभियानमा उनले खेल्दै आएको भूमिकाले पनि उनलाई एक सक्षम लिडरका रुपमा स्थापित गराएको छ ।

दुई वर्षअघिको निर्वाचनमा आइसीसी सदस्य पदमा निर्वाचित सापकोटाको एनआरएनए अभियानको सक्रियता निरन्तर छ । हालै सम्पन्न एनआरएनए यूके निर्वाचनमा निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेर समेत उनले काम गरिसकेका छन् । – नेपाली लिङ्क