विदुषी रमा शर्मालाई “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” दिइने घोषणा

दण्डपाणि अर्ज्याल स्मृति केन्द्र, काठमाडौँले बि. सं. २०७८ सालको “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” लामो समय प्राध्यापन पेशामा समर्पित विदुषी साहित्यकार श्रीमती रमा शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ । स्मृतिकेन्द्रकी सदस्य साहित्यकार डा. प्रभा कैनीको संयोजकत्वमा हरिहर अर्याल, ईश्वरचन्द्र वानिया सम्मिलित तीन सदस्यिय प्रतिभा छनौट उप समितिको सिफारिसमा मिति २०७८ असोज ८ गते बसेको केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

नेपाली साहित्यको सृजना र सेवाको क्षेत्रमा साहित्यकार रमा शर्माको जीवनभरको अतुलनिय योगदानको कदर स्वरूप सो पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय गरिएको कुरा स्मृति केन्द्रका संस्थापक मध्येका साहित्यकार राजेन्द्रप्रसाद अर्यालले जानकारी गराएका छन् । राष्ट्रिय जीवनमा रहेर बिभिन्न क्षेत्रमा कृयाशिल एवं समर्पित ब्यक्तित्वहरू मध्येबाट एक जनालाई प्रत्येक वर्ष प्रदान गरिने पच्चिस हजार नगद राशि र सम्मानपत्रसहितको सो पुरस्कार बिशेष समारोहको आयोजना गरी निकट भविष्यमा नै अर्पण गरिने छ ।

बिद्वान् पं. स्व. दण्डपाणि अर्ज्याल ईतिहासबिद, ज्योतिषज्ञ, समाजशास्त्री र दीर्घ शिक्षासेवी हुनुहुन्थ्यो । उहाँ र उहाँकी धर्म पत्नी नन्दकुमारी अर्ज्यालको संयुक्त नाममा स्थापित सो पुरस्कार वि. सं. २०६३ देखि प्रदान गरिदै आएको छ ।

स्व. अर्ज्यालसंग कतिपय ऐतिहासिक कुराहरुको सम्बन्धमा जानकारी लिन काठमाण्डौंदेखि धेरै प्रतिष्ठित ब्यक्तिहरु जाने गर्थे । त्यसैले उहाँको देहाबसान भएको बिषयलाई लिएर प्रकाशित गरेको समाचारमा गोरखापत्रले “जिउँदो ईतिहास” भनी उल्लेख गरेको थियो ।

यसअघि यो पुरस्कारवाट सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, मदनमणि दीक्षित, डा. सुरेन्द्र केसी, प्रा. दिनेशराज पन्त, ज्ञानमणि नेपाल, प्रा.डा. तुलसीराम वैद्य, प्रा.डा. प्रेमकुमार खत्री, डा. जगमान गुरुङ्ग, मोदनाथ प्रश्रित, पुण्यरश्मी खतिवडा, डा. हरिप्रसाद पोखरेल”मानसाग्नि”, सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस सुन्तली) पुरस्कृत भैसकेका छन् ।

हाल दण्डपाणि अर्ज्याल स्मृति केन्द्रमा कार्यवाहक अध्यक्ष विष्णु प्रभात रहेका छन् ।