डा. केसी संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा दुई दिन सहभागि

पेन्सेलभेनिया,क्यालिफोर्निया तथा टेक्ससका कार्यक्रममा सहभागिता जनाउदै

विजय थापा । डिसी । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा डा. गोबिन्द केसीले सहभागिता जनाएका छन् ।

गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म संचालन भएको कार्यक्रममा डा केसीले क्रियाशील रुपमा सहभागिता जनाएका छन् । त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरु प्रदर्शन समेत गरेका छन् ।

विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनास, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ । डा केसी अझ अमेरिकाका बिभिन्न राज्यहरुमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन । डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागी क्यालिफोर्निया तथा टेक्सस जानेछन् ।

डा. केसी जो आफ्नो जीवनको समेत प्रबाह नगरी दिन दुखीहरुको आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुतीका लागि निरन्तर लडी रहेका छन् । उनले थालनी गरेको पवित्र कर्मको लागि अमेरिकाका नेपाली समुदायले साथ दिएका छन् ।

गत सेप्टेम्बर १७ का दिन डा केसी सोलिड्यारिटी_फर_डा_केसी_एलाइन्सका अमेरिकाका लागि संयोजकको भूमिका निर्वाह गर्ने लेखक तथा सामाजिक अभियन्ता शिव प्रकाश अमेरिका आएका हुन् ।

डा प्रा केसीले हाल सम्म १९ औं पटकमा २५५ दिन अनशन आन्दोलनका रूपमा सत्याग्रह गर्नु भएको छ । प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्धाहरु नेपालमा मात्र हैन बिश्वब्यापी मन्चमा उठाउनु दायित्व ठानी त्यसलाई मुर्तरुप दिन अमेरिकाका आएका हुन् ।

२१, सेप्टेम्बर २०२१ विश्व शान्ति दिवस रहेको थियो र संयुक्त राष्ट्र संघको महासभा भएकोले उक्त अवसरमा बिश्वको ध्यान पुगोस भन्दै शान्ति प्रदर्शनमा सहभागिता जनाएका हुन् ।

सम्पन्न भएको शान्तिपूर्ण प्रदर्शनीको मुख्य उद्धेश्य विश्वमा फैलिएको हिंसा र युद्धको अन्त्य ,शान्ति ,सद्भाव र समानता ,जलवायु विनासको रोकथाम र सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने रहेको डा केसीको रहेको थियो ।