“ईनास आकस्मिक कोष” स्थापनार्थ ईनास मेरिल्याण्डका अध्यक्ष तथा गायक सृजन ताम्राकारबाट सहयोग कोषको शुभारम्भ

विजय थापा ,डिसी महानगर । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आकस्मिक कोषको स्थापनाको लागी ईनास मेरिल्याण्डका अध्यक्ष तथा ओकिलीका चर्चित गायक / संगीतकार सृजन ताम्राकारले सहयोग संकलन र प्रचारप्रसारको शुरुआत गरेको छ ।

गत हप्ता अमेरिकाको भर्जिनियामा सम्पन्न इनासको नर्थ अमेरिका महाधिवेशनबाट मेरिल्याण्ड राज्य समितिको अध्यक्षको पुनः दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेका उनले आफ्नो जन्मदिनको अवसरमा पारेर नेपाली भाषा, साहित्य र कला क्षेत्रमा समर्पित सर्जकहरुको भइ आईपर्ने आकस्मिक सहयोगको संस्थागत बिकास र ब्यबस्थापनलाई मध्यनजरमा राखेर “ईनास आकस्मिक कोष” को अवधारणालाई अघि सारेका छ्न्।

नेपाली भाषा, साहित्य, कला र मनोरञ्जनको क्षेत्रमा समर्पित नयाँ पुराना सबै सर्जकहरुलाई ऐक्यवद्ध गरि पुरस्कृत र सम्मानित गर्दै यस क्षेत्रको बृहत्तर हितको लागि प्रवर्द्धन र सम्बर्द्धन गर्दै विश्व बजारमा स्थापित गराउने उद्देश्य राखेर अघि बढिरहेको ईनासको करिव ७५ राष्ट्रमा फैलिएको बिश्वब्यापी बिशाल संजालसम्म आजको बिज्ञानप्रबिधिले दिएको संचार र संजालहरुको उच्चतम प्रयोग गर्दै बिश्वभर छरिएरका नेपाली कला प्रेमी र कलाकर्मीहरुलाई आपसमा जोड्दै, आपसी साथ र सहकार्यमा यो आकस्मिक सहायता कोषको अवधारणालाई स्थापित गराउने र स्थायित्वको लागि पहल गरिने अध्यक्ष ताम्राकारले बताए ।

उनले सहयोगको प्रारम्भ आफैबाट हुने र सबै कलाप्रेमी मनकारी मन र दानवीरहरुलाई यो पवित्र कार्यमा सहयोग गर्न समेत आह्वान गरिसकेको बताएका छन् भने केही दिनको अवधिमा उनले उक्त कोषमा जम्मा भएको रकम ईनास मेरिल्याण्डको आकस्मिक कोषमा जम्मा गरिने बताएका छन्।

साथै पारदर्शिता सम्बन्धमा जिज्ञाशा राख्दा निर्वाचित कार्यकारी समिति भएकोले निर्णय पनि सामूहिक हुने भएकोले पूर्ण पारदर्शिता हुने कुरामा कुनै दुविधा नहुन र भ्रम नराख्न उनले सबैलाई बिश्वस्त हुन् आग्रह गरे ।

भाषा, कला, साहित्य लगायतका क्षेत्रमा अझैपनि राज्यको खासै चासो, सहकार्य र समन्वय नपुगेकोले कारण आजपनि धेरै नेपाली कलाकारहरुले अर्थ र पहुँचको अभाव समयमा उपचार नपाउँदा ठूलो चुनौती ब्यहोर्नु परिरहेको छ । यस्ता आकस्मिक तर विकराल समस्याहरुलाई समयमै ब्यबस्थापन गरि सानै भएपनि आकस्मिक उपचार सहयोगका लागि हामी सबै कलाकारहरु आफैले पनि आफ्नो बन्दोबस्तीको लागि यो आकस्मिक कोषको स्थापना अपरिहार्य भएकोले स्थापना गर्नु परेको गायक ताम्राकारले ईनेप्लिजलाई बताए ।

आफ्नो जन्मदिनको अवसरमा फेसबुक संजाल मार्फत प्राप्त प्रबिधिको सदुपयोग गर्दै आफ्ना आफन्त, साथीभाइ तथा शुभचिन्तकहरुबाट प्राप्त सहयोग उपहार र थप स्वयंबाट राखेर यो कोषको शुरुआत गरेका छन् । “यो सहायता कोष सबै कलाकारहरुको लागि हुनेछ । नेपाली भाषा, साहित्य र कलामा समर्पित सर्जकहरुको आकस्मिक सहयोगका लागि कलाकार आकस्मिक सहायता कोषको निर्माण गरिएको हुँदा सबैसँग सानो सहयोगका लागि अपिल गर्दछु।” भनेका छन् ।

घाउ चोटपटक लाग्ने बित्तिकै वा बिमारी पर्दा थोरै मल्हम वा सिटामोलले पनि ठूलो ओखतीको काम गर्दछ, उनि भन्छन । त्यसैले विभिन्न बिपद र दुर्घटनामा परेका कलाकारहरुको सहयोगमा यो कोष पूर्ण पारदर्शी रुपमा समर्पित रहने गरि जम्मा भएको सम्पुर्ण सहयोग हाल ईनास मेरिल्याण्डको आकस्मिक सहयोग कोष मार्फत संचालन गरिने कलाकार ताम्राकारको भनाई रहेको छ ।

इनास मेरिल्याण्ड कार्यसमितिको नयाँ टोलिमा अत्यन्तै प्रतिभाशाली कलाकारहरु रहेको र सबैको प्रतिबद्धता, साथ र हौसलाका कारण ईनास मेरिल्याण्डले रोपेको यो सहायता बिउ कालान्तरमा ईनासको ठूलो सहायता कोषको वृक्ष हुनेमा आफू बिश्वस्त रहेको गायक ताम्राकारले बताए ।

कलाकारहरु देशका गहनाको रुपमा लिइन्छ । कलाकारलाई मान ,प्रतिष्ठा र सम्मान पनि गरिन्छ तर कलाकारहरुले कतिपय अवस्थामा समाजसेवा झैँ बिना पारिश्रमिक पनि काम गर्नु पर्ने अवस्था पनि एकातिर छ । अर्थकै पछाडी दौडने भन्ने पनि ध्येय हैन । तर जीवन नै कलाकारितामा मै समर्पित गरेका कलाकारहरु आपत बिपत र अर्थको अभावमा दुख पाएका र उपचार गर्न नपाउदा जीवन गुमाउनु पर्ने धेरै त्यस्ता उदाहरणहरु हामी सामु रहेका छन् ,उनले थपे ।

यस्ता प्रकारका समस्याहरुलाई समाधान गर्न यो आकस्मिक कोषले केहि हद सम्म थोरै भए पनि काम गर्नेछ ।