कमेडी च्याम्पियन: बिद्रोही र ऐतिहासिक कमेडियन विक्की अग्रवाल र ऋचा शर्माको सारगर्वित कमेण्ट

साहित्यको मीठो अचार मानिने हास्यब्यंग्यलाई रंगमन्चमा उतारिएपछि भनिने कमेडीका नेपाली सम्राट मानिन्छन मह जोडी । कमेडी च्याम्पियन कार्यक्रम सन्चालन गर्न कमेडियनको पर्याप्त संख्या पुगिनसकेकाले बेला नभएको भन्ने तर्क राख्ने दीपक राज गिरीहरुलाई गलत साबित गर्ने यो कार्यक्रमको दोश्रो सिजनको फाइनलको लागि अब केबल डेढ हप्ता बाँकी छ । यत्ति मात्रै नभएर कमेडी च्याम्पियनले आफ्नो यहाँँसम्मको छोटो यात्राको दौरानमा नै आफ्नै किसिमको ईतिहास पनि स्थापित गर्न सक्षम भएको छ ।

नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धनमा महत्वपूर्ण योगदान दिनेमा नेपाल बाहिरका सिक्किम, दार्जिलिंग, कालिनपोंग अग्रपंक्तिमा पर्दछन । पछिल्लो समय नयाँँ पुस्ताका रुपमा नेपाल आइडलका प्रतिस्पर्धी मार्फत चिनिएका भारत निवासी पुष्पन प्रधान, भुटानी शरणार्थीको रुपमा झापामा जन्मी हाल अमेरिका निवासी यो बर्षको भ्वाइस नेपालका बिजेता किरण गजमेर, भ्वाइस नेपालका संभावित बिजेताकै रुपमा लिइएका सिक्किम निवासी रवी घतराज र कमेडी च्याम्पियन दोश्रो सिजनमा शुरुदेखि नै चर्चामा रहेका सिक्किमकै विक्की अग्रवाल नेपाल बहिर बस्ने नेपाली भाषीमध्येका अमूल्य युवा निधि साबित भएकाछन ।

बिशेष गरी दोश्रो सिजनको सेमिफाइनल नेपालको कमेडी च्याम्पियनको इतिहासमा ऐतिहासिक हुनेछ । Kalte Stand-up Comedy Club का सह-संस्थापक र स्वतन्त्र फिल्म निर्माता विक्कीले हसाउन सक्ने प्रस्तुति पस्कन समस्या नभए पनि नेपालको सन्दर्भमा जुन प्रस्तुति दिनु अत्यन्तै छिटो हुने बुझ्दाबुझ्दै पनि बरु फाइनलमा नगए पनि सेमिफाइनलमा नेपाली कमेडी ईतिहासमा नयाँँ केही दिने चाहनानुरुप ‘पेन्टोमाइम’ प्रबेश गराएरै छाड्ने प्रतिबद्धताका साथ मनको बिषयमा प्रस्तुति दिएर उन्ले आफूलाई ऐतिहासिक र क्रान्तिकारी साबित गरे यो अवस्थामा पुगेर पनि यो किसिमको रिस्क मोलेका कारण ।

जजको रुपमा रहेकी अत्यन्तै शालिन अभिनेत्री ऋचा शर्माले बिक्कीले गरेको यो साहसिक कामको लागि बिद्रोही कमेडी भन्दै नेपाली कमेडीमा रिभोलुशन ल्याउने ब्यक्तिको रुपमा प्रसंशा गर्नुका साथसाथै विक्कीकै जुन प्रस्तुतिले कमेडीका सन्दर्भमा नेपालमा जुन प्रकारका छलफलको शुरुवातीलाई सम्भब गराइदियो त्यस्का लागि धन्यवादका पात्र भएको बताइन । यस किसिमका ट्यालेण्टलाई कमेडी च्याम्पियनले आगामी दिनमा हौसला दिन र प्रोत्साहित गर्न चुक्न नहुने पनि जोड थियो शर्माको । कमेडी च्याम्पियनले विक्कीलाई जुन विकिपेडिया नाम दिएको छ त्यस्लाई साँचो अर्थमा सार्थक बनाइदिएको बताउँदै शर्माले जिते पनि नजिते पनि विक्की आफ्नो लागि च्याम्पियन भएको बताउँदै उन्को लागि भोटको लागि आह्वान समेत गरिन । माइन्डको बिषयमा गरिएको प्रस्तुतिपस्चात जजको तर्फबाट उनीद्धारा गरिएको विस्लेषणात्मक र प्रोत्साहनपूर्ण कमेण्ट अत्यन्तै प्रसंशनिय छ ।

नेपाली भाषालाई एक्स्प्रेसिभ र इन्टेन्सिटीयुक्त भएको बिषयक प्रस्तुति, सकारात्मक सोचौं यो नकारात्मक संसारमा नकारात्मक भन्ने त केही हुँदैन त्यो त बस तपाईंंको सोंच हो भन्ने प्रस्तुति, चिया गफमा स्मारिका शर्मासंग गरिएको कुराकानीमा प्रस्तुत गरिएका उदाहरण जोक आदिले विक्कीको नेपाली भाषाका सम्बन्धमा भएको गहन ज्ञानको प्रमाण दिन्छ जति ज्ञान देखिनुपर्ने क्षेत्रमा बसेर काम गर्ने नेपालमा नै बस्नेमा पाउन मुस्किल पर्छ ।

अन्य कमेडीको जस्तो भनिहाल्ने बुझिहाल्ने जस्तो नभएर यदाकदा बुझ्नलाई समय आबस्यक पर्ने, सस्पेन्समा राख्दै कौतुहलता स्वत: स्फूर्त रुपमा जागृत गराइदिने गहन कमेडीका धनी हुन विक्की । कहिल्यै पूर्णता पाउन नसकेको श्रृंखलाबद्ध रुपमा आइराख्ने उन्को “हरिमाया भाउजू” को तिर्खा नेपाली दर्शकलाई लागिरहनेछ । साँच्चै नै विक्की मनोज गजुरेलले भने जस्तै Connecting Nepalese origin Around the Globe को पात्र र प्रदिप भट्टराईले भने जस्तै फाइनलमा प्रबेष गर्ने जस्तो संबेदनशिल समयमा हसाउने सामग्री दिन सक्ने क्षमता हुँदाहुँदै पनि समयभन्दा धेरै अगाडि गएर मेन्यु पस्किने एकदमै आँटिला कलाकार हुन ।

टप ४ मा भरतमणि पौडेलले प्रस्तुत गरेको ‘पारस सरकार’ र विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ले कमेडी च्याम्पियनलाई नयाँ उचाइ दियो । यी दुइकै प्रस्तुतिका कारण उक्त एपिसोड एक साताभन्दा बढी समय युट्युब ट्रेण्डिङको शीर्ष स्थानमा रह्यो ।

फाइनलमा पुगेका उत्कृष्ट तीन प्रतियोगीको फाइनल प्रतियोगितामा निर्णायकको रुपमा शोमा सहभागिता जनाएकी गर्भवती ऋचाले फाइनलमा उपस्थित हुने उन्को चाहनाका बाबजुद डाक्टरको सल्लाह अनुरुप स्वास्थ्यको कारण विश्राम लिनु पर्ने भएकोले शोमा निर्णायकको रुपमा अब सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

कमेडी च्याम्पियनको फाइनल आगामी असोज २ गते हुँदैछ । फाइनलमा अन्तिम तीन सहभागी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुनेछ र खुलिसकेको भोटिङ लाइन असोज २ गते रातको १०:३० बजेसम्म खुल्ला रहनेछ । @Ramkshrestha

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज