एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले लियो शपथ

लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ का लागि नवनिर्वाचित कार्य समितिले शपथ लिएको छ ।

आइतबार साँझ अल्डरसटमा आयोजित विशेष समारोहमा निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलले नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरसहित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराएका हुन् । सोही अवसरमा राज्य समन्वय परिषदका नवनिर्वाचित कार्य समितिलाई पनि सपथ गराइएको थियो ।

अगष्ट २ र ३ मा सम्पन्न निर्वाचनको मतपरिणाम गत शनिबार बिहान घोषणा गरिएको थियो ।

एनसीसी यूकेको निर्वाचनबाट अध्यक्षसहित सबै पदमा प्रेम गाहा मगर नेतृत्वको प्यानल विजयी भएको छ । अध्यक्षसहित अधिकांश पदहरुमा त्रिपक्षीय प्रतिपस्पर्धा भएपनि गाहा मगर नेतृत्वको प्यानल अत्यधिक बहुमतसहित निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमितिलाई शपथ गराउँदै निर्वाचन समिति संयोजक कँडेलले बेलायती नेपाली समाजलाई एकताबद्ध बनाउन आग्रह गरे । एनआरएनएको गरिमा बढाउँदै समाजलाई थप एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो ।

निर्वाचन समिति संयोजक कँडेलले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायतवासी नेपालीहरुको समस्या समाधानमा मिलेर अगाडि बढ्न आग्रह गरे । ‘म तपाईंहरुको साथमा हुने छु’, नवनिर्वाचित समितिलाई बधाइ दिँदै उनले भने, ‘हामी सबै मिलेर समस्या समाधान गर्न सक्ने छौं ।’

राजदूत रेग्मीले गोर्खा समस्या समाधानका लागि नेपाल सरकारसँग समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यसैगरी गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवम् सल्लाहकार कुल आचार्यले बेलायतको निर्वाचनले संसारभर नै सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

लामो समयदेखि काम गरेका युवा साथीहरु आउनु भएको छ, उनले भने, उहाँहरुले पक्कै पनि समाजलाई एकताबद्ध बनाई अगाडि बढ्नु हुने छ ।

संघको आइसीसी अध्यक्षको उम्मेदवारका रुपमा चर्चा गरिएका आचार्यले अब बेलायतले एनआरएनएलाई पनि नेतृत्व दिनु पर्ने बताए ।

त्यस्तै, संघका अर्का सल्लाहकार एवम् एनसीसी यूकेको निर्वाचनका लागि केन्द्रिय पर्यवेक्षक विश्व आदर्श पण्डितले विगतका तिता अनुभवलाई बिर्सेर अगाडि बढ्नुपर्ने बताए । अनेकन आशंकाका बीच सर्वस्वीकार्य नतिजा सार्वजनिक भएको छ, उनले भने ।

‘मेरो जिम्मेवारी र दायित्व बढेको छ’

शपथ समारोहलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले निर्वाचनको परिणामसँगै आफ्नो जिम्मेवारी र दायित्व पनि बढेको बताए । ‘पक्कै पनि मेरो जिम्मेवारी र दायित्व बढेको छ, त्यसैलाई आत्मसात गर्दै काम गर्नेछु’ उनले भने ।

नवनिर्वाचित अध्यक्ष गाहा मगरले आफूले यसअघि नै सात बुँदे प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै सोही अनुसार काम गर्ने स्पष्ट पारे । उनले आफूसँगै अध्यक्षका लागि प्रतिस्पर्धा गरेकी रोजिना प्रधान राई र दीपक श्रेष्ठको समेत साथ लिएर उनीहरुले अगाडि सारेका प्रतिबद्धता कार्यान्वयन गर्ने दायित्व पनि आफूमा सरेको बताए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका संस्थापक सचिव चिरञ्जिवी ढकालले नेतृत्व चयनका लागि निर्वाचन एउटा प्रक्रिया मात्रैै भएको बताए । उनले बेलायतको निर्वाचनले विगतका केही अभ्यास र अवधारणामा भने परिवर्तन ल्याएको दाबी गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पूनम गुरुङले निर्वाचन सम्पन्न गर्ने निर्वाचन समितिलाई धन्यवाद दिँदै नयाँ कार्य समितिले सफलता पूर्वक जिम्मेवारी सम्हाल्ने विश्वास व्यक्त गरिन् । निवर्तमान उपाध्यक्ष एवम् अध्यक्ष पदकी उम्मेदवार रोजिना प्रधान राईले पनि नयाँ कार्य समितिलाई सफलताको शुभकामना दिएकी थिइन् । अध्यक्ष पदका अर्का उपविजेता, दीपक श्रेष्ठ, ले नयाँ टिमलाई बधाई दिंदै एउटा लिखित संदेश पठाएका थिए।