सिम चोरिस भन्दै ३ जना महिलाले निर्घात कुटपिट गरे,गर्बको बच्चाको ज्यान गयो,पिडित महिलाको अवस्था नाजुक(भिडियो सहित)

कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ)ले प्रहरीको लापरबाहीका कारण न्याय पाउनबाट बञ्चित हुनुपरेको छ । घटनाको प्रकृतिअनुसार प्रहरीले अनुसन्धान र मुद्दा दर्ता नगर्दा दोषीले उन्मुक्ति पाएका छन् भने पीडित थप अन्यायमा परेकी छन् ।

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कुटपिट गरेका थिए । कुटपिट गर्दागर्दै उनी बेहोस भएपछि पानी छ्यापेर होस आएको थियो । त्यसपछि शोभाको पूर्ण रूपमा मानसिक सन्तुलन गुम्यो । कुटाइबाट मानसिक सन्तुलन गुमाएकी शोभा बेहोसमा बोल्दा पनि गाउँका मानिसहरूले आमा देवी दर्जीलाई छोरीलाई ठीकमा राख्न भन्दै दबाव दिएका थिए ।

आमा देवीले कुटपिटबाट घाइते भएकी शोभालाई भोलिपल्ट पथरी अस्पतालमा उपचार गर्न लगेकी थिइन् । औषधि गरेपछि केही दिनमा ठीक हुन्छ होला भनेर छिमेकीसँग नराम्रो किन गर्नु भन्ने सोचेर कानूनी उपचारमा तत्काल नलागेको आमा देवी बताउँछिन् । कुटपिट भएको १ महिनासम्म पनि बिरामी ठीक हुनुभन्दा अवस्था झन् जटिल बन्दै गयो । बिरामीको अवस्था जटिल बन्दै जाँदा पनि पीडकहरूले उपचारमा कुनै सहयोग नगरेपछि पीडित परिवार न्यायका लागि इलाका प्रहरी कार्यालय पथरी गए । तर, प्रहरीले पीडक पक्षलाई उन्मुक्ति दिने किसिमले घटना प्रष्टै देखिँदा पनि अनुसन्धान प्रक्रियामा मिसिल नै कमजोर बनाएको अधिकारकर्मीहरू बताउँछन् ।