एनआरएन यूके अध्यक्षका उम्मेदवार गाहा मगरलाई स्कटल्याण्डवासीको उत्साहजनक साथ!

लण्डन ।

संयुक्त अधिराज्य बेलायत अन्तर्गतको स्कटल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरलाई उत्साहजनक समर्थन जनाएका छन् ।

निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगर र उनी नेतृत्वको टिमका उम्मेदवारहरुलाई स्कटल्याण्डवासी नेपालीहरुले भव्य स्वागत गर्दै निर्वाचनमा मतदान गरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गाहा मगरको चुनावी अभियान अन्तर्गत स्कटल्याण्डका फाइफ, एडिनबर्घ, एबर्डिन र ग्लासगो गरी चार स्थानमा बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरिएको थियो ।

फरक फरक स्थानमा आयोजित अन्तरक्रिया तथा प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार गाहा मगरले आफूँ अध्यक्षमा निर्वाचित भएमा महिला, बालबालिका र युवाहरुलाई एनआरएनको मूल प्रवाहमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रबद्र्धन, बेलायतमा नेपाली कला, भाषा तथा संस्कृतिको प्रबद्र्धन, प्रतिस्पर्धात्मक तथा क्षमता अभिवृद्धि मूलक खेलकुद गतिविधिहरु पनि सञ्चालन गरिने बताए ।

अध्यक्ष पदका उम्मेदवार गाहा मगरले संस्थाको विकेन्द्रीकरणको नीतिलाई ठोस रुपमा अगाडि बढाउने बताउँदै स्कटल्याण्डसहित सबै राज्य समन्वय परिषदहरुलाई थप स्वायत्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
त्यसैगरी उपाध्यक्ष पदका उम्मेदवार नारायण कँडेलले गैर आवासीय नेपाली संघमा आन्तरिक सुशासनमा सुधार, गैर आवासीय नेपालीहरुको नागरिकता निरन्तरताको अधिकारको सुनिश्चितता, नेपालमा रहेको सम्पत्तिको सुरक्षा र बेलायतमा रहेका नेपालीहरुको स्वार्थ रक्षाको एजेण्डासहित आफूँहरु निर्वाचनमा होमिएको बताए ।

चार वटै स्थानमा आयोजित अन्तरक्रियामा स्कटल्याण्डवासी नेपालीहरुले संस्थागत सुदृढीकरण र आर्थिक पारदर्शिताको अभियानसहित चुनावमा होमिएको गाहा मगरको टिमलाई आफूँहरुको समर्थन रहने बताएका थिए । संस्था भित्रै रहेर आर्थिक पारदर्शिताको मुद्दालाई अगाडि बढाएको कर्मयोगी टिमलाई खुलेरै समर्थन गर्न पाउँदा आफूँहरुलाई खुसी लागेको पनि उनीहरुको भनाइ थियो ।

कार्यक्रममा स्कटल्याण्डमा रहेका नेपाली समुदाय सम्बद्ध १४ वटै संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो भने एनआरएनएका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमहरुमा उपाध्यक्षका उम्मेदवार मोहन कार्की, युवा संयोजक पदका उम्मेदवार तीर्थबहादुर मल्ल(अनिल) सदस्य पदका उपेन्द्र पौडेल लगायत प्रेम गाहा मगर टिमका अधिकांश पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष पदका उम्मेदवार काशीराम भण्डारीले स्कटल्याण्डवासी नेपालीहरुको सेवा गर्ने उद्देश्यसहित अध्यक्ष पदको उम्मेदवार बनेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।