मोबाइलको सिम चोर्यो भन्दै मान्छेको ज्यान जाने गरि कुटपिट गरे, ३ जना महिलाहरुले कुटेको आरोप (भिडियो सहित)

तीन महिनाअघि छिमेकीले कुटपिट गर्दा मानसिक सन्तुलन गुमाएकी कानेपोखरी–५ मोरङकी शोभा दर्जी (डुकुमाया तामाङ)ले प्रहरीको लापरबाहीका कारण न्याय पाउनबाट बञ्चित हुनुपरेको छ । घटनाको प्रकृतिअनुसार प्रहरीले अनुसन्धान र मुद्दा दर्ता नगर्दा दोषीले उन्मुक्ति पाएका छन् भने पीडित थप अन्यायमा परेकी छन् ।

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले कुटपिट गरेका थिए । कुटपिट गर्दागर्दै उनी बेहोस भएपछि पानी छ्यापेर होस आएको थियो । त्यसपछि शोभाको पूर्ण रूपमा मानसिक सन्तुलन गुम्यो । कुटाइबाट मानसिक सन्तुलन गुमाएकी शोभा बेहोसमा बोल्दा पनि गाउँका मानिसहरूले आमा देवी दर्जीलाई छोरीलाई ठीकमा राख्न भन्दै दबाव दिएका थिए ।

आमा देवीले कुटपिटबाट घाइते भएकी शोभालाई भोलिपल्ट पथरी अस्पतालमा उपचार गर्न लगेकी थिइन् । औषधि गरेपछि केही दिनमा ठीक हुन्छ होला भनेर छिमेकीसँग नराम्रो किन गर्नु भन्ने सोचेर कानूनी उपचारमा तत्काल नलागेको आमा देवी बताउँछिन् ।

कुटपिट भएको १ महिनासम्म पनि बिरामी ठीक हुनुभन्दा अवस्था झन् जटिल बन्दै गयो । बिरामीको अवस्था जटिल बन्दै जाँदा पनि पीडकहरूले उपचारमा कुनै सहयोग नगरेपछि पीडित परिवार न्यायका लागि इलाका प्रहरी कार्यालय पथरी गए । तर, प्रहरीले पीडक पक्षलाई उन्मुक्ति दिने किसिमले घटना प्रष्टै देखिँदा पनि अनुसन्धान प्रक्रियामा मिसिल नै कमजोर बनाएको अधिकारकर्मीहरू बताउँछन् ।

दलित मुक्ति मोर्चा १ नं. प्रदेशका सह–इञ्चार्ज हुकुमसिंह नेपालीले सुरुमा इलाका प्रहरी पथरीका डीएसपी कृष्ण खड्काले सकारात्मक भई उपचारसहित न्याय पाउनुपर्ने भन्दै मुद्दा दरिलो हुने गरी जाहेरी ल्याउनू भनेको तर, जाहेरी लिएर जाँदा दर्ता नै गर्न नमानेको बताए । उनले भने, ‘सुरुमा सकारात्मक भई पीडितले न्याय पाउने गरी दरिलो तरिकाले जाहेरी ल्याउन लगाए तर, जाहेरी लिएर जाँदा दर्ता गर्ने मान्छे नभएको भन्दै लिनै मानेनन् ।’ त्यसपछि उनीहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गरेपछि भने पथरीमै उजुरी दर्ता भयो ।

डीएसपी खड्काले मुद्दा दर्ता त गरे तर, जातीय भेदभाव तथा छुवाछुत कसुरको मात्रै । सह–इञ्चार्ज नेपालीले आफूहरूले ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत कसुरको मुद्दामा जाहेरी दिन गएको भए पनि २ वटामा नमिल्ने भन्दै एउटामा मात्रै दर्ता गरेको बताए । प्रहरीले नियतवश मुद्दालाई कमजोर बनाई पीडितलाई झन् पीडित बनाएको उनको आरोप छ । उनले दोषी प्रत्यक्ष देखिँदा पनि पक्राउ गर्न ३ दिन लगाएको र २ जनालाई मात्रै पक्राउ गरिएकाले पनि पीडकलाई उन्मुक्ति दिन पहिल्यैदेखि लागेको आरोप लगाए ।

अधिकारकर्मी दुर्गा नेपालीले पनि प्रहरीले एउटै घटनाको २ वटा कसुरमा मुद्दा दर्ता नहुने भन्दै एउटामा मात्रै दर्ता गरेको बताइन् । अधिवक्ता जयराम सुन्दास भने ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा सजाय कसुरमा मुद्दा लाग्न सक्ने बताउँछन् । तर, प्रहरीले मिल्दैन भनेर ढाँट्ने काम गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘अदालतमा पेश भएको मिसिलमा रहेको मेडिकल रिपोर्ट हेर्दा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हुनुपर्ने हो तर, कमभन्दा कम सजाय हुने जातीय भेदभाव तथा छुवाछुत कसुरमा मात्रै दर्ता भएछ ।’

प्रहरीले मुद्दा कमजोर बनाएर पीडितलाई झन् पीडित र पीडकलाई उन्मुक्ति दिने काम गरेको उनले बताए । प्रहरीले ज्यान मार्ने उद्योग, कुटपिट र जातीय भेदभाव तथा छुवाछुत कसुरमा मुद्दा चलाउनु पर्नेमा पीडकले सहज उन्मुक्ति पाउने गरी मात्रै मुद्दा चलाएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्का भने पीडितको तर्फबाट आएको जाहेरी दर्ता गरी मुद्दा दर्ता अगाडि बढाएको बताउँछन् । उनले विभिन्न स्थानका कानूनका जानकारसहितको १०–१२ जनाको समूहले परामर्श गरेर लिएको जाहेरीलाई दर्ता गरेर अगाडि बढेको बताए । आफूसँग पनि लामो छलफल गरेर विभिन्न विकल्प दिएको उनले बताए । उनले भने, ‘उहाँहरूले जाहेरी तयार गरेर ल्याउनुभयो, दर्ता गरियो, प्रहरीले दर्ता नगरेको भन्ने कुरा होइन, यो घटनामा प्रहरीलाई दोष लगाउने ठाउँ छैन ।’ उनले प्रहरीले भएका विकल्प दिएको र त्यसमध्ये पीडित पक्षले ल्याएको उजुरी दर्ता गरिएको दाबी गरे ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर सजाय ऐन, २०६८ को दफा ७ (क) अनुसार जातीय भेदभाव तथा छुवाछुत गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्नसक्ने व्यवस्था छ । तर, शोभालाई जातीय भेदभाव गर्दै मरणासन्न हुने गरी कुटपिट गरे पनि अदालतले पनि ३ जनालाई जनही २५ हजार धरौटी र एक जनालाई सादा तारेख रिहा गरेको छ ।

पीडित परिवारले करिब एक महिना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागमा शोभाको उपचार गराउँदै आएका थिए । मानसिक रोग विभागमा उपचारमा रहँदा शोभाको अवस्था थप जटिल बन्दै गएपछि असार २५ गते आकस्मिक कक्षको आईसीयू (सघन उपचार कक्ष) मा राखिएको छ । १७ दिनदेखि सघन कक्षमा उपचार गरे पनि स्वास्थ्य अवस्थामा सुधार नआएको उनका पति उमेश तामाङले बताए । उनले भने, ‘माया त मारिसकेका थियौँ, अहिले घरिघरि आँखा हेर्न थालेपछि केही आशा पलाएको छ तर, सुधार भएको छैन ।’

विन्दा, बबिता, पुष्पा र निरमाया मगरको कुटपिटका कारणले शोभाको पेटमा रहेको ३ महिनाको गर्भ पनि खेर गएको छ । गर्भ खेर गएपछि अवस्था झन् जटिल बनेको छ भने पीडकहरू सबै छुटिसकेका छन् । असार ३० गते कुटपिटकै कारणले गर्भ तुहिएसँगै पुनः पूरक जाहेरी दर्ता गरिएको छ । विन्दा, बबिता, पुष्पा र निरमाया मगरविरुद्ध गर्भ संरक्षणविरुद्धको कसुर (गर्भपतन) मा जाहेरी परेको हो । उनीहरू ४ जनाविरुद्ध शोभाका बुबा हर्कबहादुर दर्जीले शुक्रबार इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दर्ता गरेका हुन् ।