अरुण थापाको २२ औं पुण्य तिथिमा भक्तपुरमा श्रद्धान्जली कार्यक्रम

नेपाली सांगितिक दुनियाँँका अजम्बरी स्व. अरुण थापाको २२ औं पुण्य तिथिको अवसर पारेर उन्को स्‍मृतिमा भक्तपुर सांगीतिक समाजले भक्तपुरको दुधपाटीस्थित “दि टिसा इन” मा उनकै गीत संगीत मार्फत श्रद्धान्जली कार्यक्रम गरेको छ । बि. सं २००८ सालमा जन्मिएका थापाको २०५६ सालमा रोगले थलिएर काठमाडौ बागबजारमा उनको देहान्त भएको थियो ।

उक्त अवसरमा गायक थापाको अत्यन्त कर्णप्रिय गीत “चोट के हो ब्यथा के हो” का रचयिता समेत रहेका वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेल र अर्का वरिष्ठ गायक एवं गायक रोशनकुमार राजभण्डारीको आतिथ्यता रहेको थियो । उहाँहरुकै कारण भक्तपुर सांगीतिक समाजले स्व थापाको स्‍मृतिमा बिगत ४ वर्षदेखि निरन्तर श्रद्धान्जली कार्यक्रम गरिरहेको स्मरण गर्दै अन्य संगीतकर्मीहरुले समेत यो स्‍मृति कार्यक्रमलाई निरन्तरता दिन प्रेरित गरे । उनीहरुले गायक थापा मरेर गएपनि उनका गीतहरुबाट उनी अमर रहेका भन्दै हामी पनि मरेर जाँदा समाजलाई केही दिएर जानुपर्नेमा जोड दिए ।

स्व थापाले गाएका राष्ट्रिय भावनाले ओतप्रोत गीत “करोड मुटुहरुको एउटै, ढुकढुकी नेपाल” को सांगीतिक धुनबाट शुरु भएको सांगीतिक श्रद्धान्जली कार्यक्रममा गायक शम्भोचरण राजभन्डारीले भजन “तिमी राम राम भजि बाँच” बोलको गीत गाए भने भक्तपुरका पुराना गायक सत्य नारायण प्रजापतिले थापाको “चोट के हो ब्यथा के को” गीत गाए । भक्तपुर सांगीतिक समाजका उपाध्यक्ष कपिल कसपालले “ऋतुहरुमा तिमी हरियाली बसन्त हौँ” बोलको गीत गाएका थिए भने अर्का गायक बिजेन्द्र चवालले “भुलु भुलु लाग्यो मलाइ सपनीमा” । त्यसैगरी गायक कुबेर राइले थापाको “जति माया लाए पनि जति कसम खाएपनि” बोलको गीत स्व थापाको स्‍मृतिमा समर्पण गरे भने “आखाँको निंद चोरी लाने” लाई गायक श्रीजल मधिकर्मीले प्रस्तुत गरे । कार्यक्रममा गायक सुनिल लोहलाले “लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, फक्रिएर वसन्तमा झर्ने फूलजस्तो’ गाउँदै गायक थापाको अभावले खट्किएको संगीत क्षेत्रकै कथा सुनाए ।

कार्यक्रममा किबोर्डमा बाध्यबादक कृष्ण सुन्दर सुखुजु, हार्मोनियममा शम्भोचरण राजभण्डारी, रिदम गितारमा सुनिल लोहला, गितारमा सरोज के.सी. र तबलामा रोशन भाषिमाले साथ दिएका थिए ।

उक्त अवसरमा समाजका आजीवन सदस्यद्वय रुकेश रन्जीत र रविन थापालाई उनीहरुले सामाजिक जीवनमा पाएको पछिल्लो सफलताका लागि सम्मान समेत गरिएको थियो ।

नेपाली सांगीतिक ईतिहासमा निकै कम संख्यामा गीत गाएर पनि श्रोताहरु माझ भने अपार माया पाएका निकै कम गायक श्रष्टामध्ये एक हुन अरुण थापा । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘चोट के हो, ब्यथा के हो’, ‘जति माया लाए पनि’, ‘साझको जुनसँग’, ‘बितेका मेरा तिता मिठा’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘अरुसँग नजोख मलाई’, ‘जिन्दगी के छ र आखिर’, ‘तिमी हेर्छौ भने’, ‘न पोखिने न जोखिने’, ‘आँखाको निद खोशी लाने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीकाका यात्राहरु’, ‘नपोखिने नजोखिने’, ‘यो मन को के भर हुन्छ’ जस्ता सदावहार गीत पस्केर गायक अरुण थापा नेपाली सांगीतिक दुनियामा सधै अमर अजर बनेका छन् ।

भक्तपुर सांगीतिक समाजका अध्यक्ष एवं गायक प्रविण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव अल्बर्ट बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन किरण सुवालले गरेका थिए । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको उद्धेस्य अनुरुप यस्ता कार्यक्रम गर्दै आएको र यस्को निरन्तरताको खाचो रहेकोले यस्तो कोरोनाको बिषम परिस्थितिका बाबजुद यो कार्यक्रम गर्न सकेको खुशी व्यक्त गर्दै अध्यक्ष शाहीले सबै सम्बद्ध पक्षप्रति आभार व्यक्त गरे ।