‘गोर्खा कप प्रतियोगिता’लाई प्रेम गाहा मगरले गरे २११० पाउण्ड सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले तमु धि यूकेले आगामी साता आयोजना गर्न लागेको १९ औं गोर्खा कप प्रतियोगिताका लागि दुई हजार एक सय दश पाउण्ड सहयोग प्रदान गरेका छन् ।

गाहा मगरले उक्त प्रतियोगिता अन्तर्गत पाराशुट जम्पतर्फको पुरस्कारका लागि सहयोग प्रदान गरेका हुन् । प्रतियोगिता जुलाई २४ मा लण्डनमा सञ्चालन हुने छ ।
’१९ औं गोर्खा कप २०२१’ को पाराशूट जम्पको प्रायोजन (२११० पाउण्ड) सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं,’ तमु धि यूकेले वक्तव्य जारी गर्दै भनेको छ ।
तमु धि यूकेद्वारा जारि वक्तव्यमा भनिएको छ, ‘नेपालका पूर्व राष्ट्रिय खेलाडी, ब्रिटिश बक्सिङ्ग टिमका पूर्व सदस्य गाहा मगरले यो संस्थाद्वारा स्थापना कालमा आयोजित फूटबल प्रतियोगितामा पनि खेल्नु भएको थियो। सामाजिक काममा रात दिन सक्रिय, युवाहरुलाई सधैं साथमा लिएर हिडने, कुरा कम काम बढी गर्ने, मिलनसार व्यक्तित्व श्री गाहा मगरलाई उहाँका सामाजिक अभियानहरुमा सधैं सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहन्छौं।’

पूर्व बक्सिङ्ग खेलाडी गाहा मगर खेलाडी र युवाहरुका बीचमा लोकप्रिय मानिन्छन् । यसअघि उनले नटिङघम नेपाली समाजले आयोजना गरेको क्रिकेट प्रतियोगिताका लागि पाँच सय एक पाउण्ड सहयोग प्रदान गरेका थिए ।

तमु धि यूकेका अध्यक्ष हितकाजी गुरुङले प्रतियोगिताको लागि प्राप्त सहयोगप्रति धन्यवाद दिँदै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् ।