बेलायतका सामाजिक संघसंस्था भन्छन्, ‘प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार’

लण्डन । बेलायतमा रहेका नेपाली समुदायसम्बद्ध विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा अगुवाहरुले गैरआवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष प्रेम गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका छन् ।

समावेशी समूहले बेलायतमा सक्रिय नेपाली समुदाय सम्बद्ध सामाजिक संघ संस्थाका प्रमुखहरुसँग शनिबार आयोजना गरेको भुर्चुअल अन्तरक्रियामा सहभागी भई धारणा राखेका दुई दर्जन भन्दा बढी संस्थाका प्रमुखहरुले कार्य क्षमता, अनुभव र कार्यशैलीका कारण गाहा मगर नै उपयुक्त उम्मेदवार रहेको बताएका हुन् ।

मगर संघ यूकेका अध्यक्ष सुनिल रानाले खस्किँदै गएको एनआरएन यूकेको साख प्रेम गाहा मगरले नै पुनर्स्थापित गर्न सक्ने बताए । ‘एनआरएनको सुधारका लागि प्रेमको अनुभव उपयोगी हुन्छ, उनले भने ।

आदिवासी जनजाति महासंघ, यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले केही व्यक्तिहरुले एनआरएनलाई आफ्नो कब्जामा राख्न खोजेको बताउँदै एनआरएनलाई साझा संगठनको रुपमा स्थापित गर्न पनि गाहा मगरलाई विजयी बनाउनुपर्ने बताए । गुल्मी समाजका अध्यक्ष टोप पल्ली मगरले दुई कार्यकाल उपाध्यक्ष भइसकेको व्यक्तिलाई निर्विरोध अध्यक्ष बनाउन सकेको भए राम्रो हुने थियो भन्दै निर्वाचन नै भए पनि राम्रो व्यक्तिलाई चयन गर्नुपर्ने बताए ।

‘संस्थागत समर्थन’

सिर्जनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जीले प्रेम गाहा मगर नेतृत्वको समावेशी टिमलाई संस्थागत रुपमा नै समर्थन रहेको जानकारी दिए । स्याङ्जा समाज यूकेका अध्यक्ष शारदा गुरुङले एनआरएनलाई प्रेम गाहा मगर नभई नहुने व्यक्ति रहेको भन्दै निर्वाचनमा धाँधली गर्न खोज्ने व्यक्तिहरुको नाम सार्वजनिक गर्नु पर्ने बताए ।

त्यस्तै, गोरखा समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगरले नेपालमा जस्तै राजनीति यूकेमा पनि गर्न खोजिएको भन्दै राम्रो काम गरिरहेका व्यक्तिलाई अवसर दिनुपर्ने बताए । गुल्मी समाजका संस्थापक अध्यक्ष ओम थापाले संयमित भएर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउँदै निर्वाचन समितिका बारेमा चनाखो हुनुपर्ने बताए ।

अन्तरक्रियामा समाजसेवी डेभिड गुरुङ, रोड सेफ्टिी कोआर्डिनेटर थर्क सेन, समाजसेवी रणध्वज राना, एनआरएन यूके कार्य समिति सदस्य ज्ञानेन्द्र आले लगायतले पनि प्रेम गाहा मगर जस्तो अनुभवी र संस्थाको सुधारका लागि प्रयासरत व्यक्तिलाई अध्यक्ष पदमा निर्वाचित गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा समावेशी समूहका चुनावी अभियानका प्रमुख संयोजक शेरबहादुर सुनारले धाँधली गर्न पल्केकाहरुले हरेक चरणमा समस्या मात्रै सिर्जना गरेको बताए । पहिले सदस्यता अभियान शुरु भएदेखि नै केही व्यक्तिहरु धाँधलीको प्रयासमा लागेको र निर्वाचन समिति गठनबाट त्यसको पुष्टि भएको बताए । संभावित धाँधली रोक्दै निर्वाचन सफल पार्न लाग्नुपर्ने उनको भनाइ थियो ।

एनसीसी यूकेका उपाध्यक्षद्वय सुनिलबाबु खड्का र नारायण कँडेलले एनआरएनएलाई पारदर्शी बनाउँदै वास्तवमै सबैको साझा संस्था बनाउने अभियानमा आफूहरु लागेकाले साथ दिन बेलायतवासी सबै नेपालीहरुलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण अभियानका सदस्य सचिव रुद्र थापाले गरेका थिए भने अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले एनआरएनए युकेलाई बेलायत स्थित सबै नेपाली अटाउने संस्था बनाउने उद्देश्यले आफुले उम्मेदबारी दिएको बताए । आफु निर्वाचित भएमा सबै संस्था हरु संग सहकार्य गर्ने र समाज का अगुवा हरुको सुझाव र सल्लाह का आधार मा अगाडी बढ्ने वाचा पनि उनले गरे।

एनआरएनए युकेको नयाँ कार्य समिति चुन्न आगामी ३१ जुलाईमा चुनाव हुँदै छ।