अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटरद्वारा महाबिर पुन सम्मानित

विजय थापा ,डिसी । अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडी मात्र प्राप्त गरेका थिए । डा पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् ।

उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक संजाल मार्फत म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी सार्वजनिक गरेका छन् ।

उक्त प्रमाणपत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसीले सापकोटा मार्फत पुनलाई पठाएका थिए। पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।

अमेरिकाको भ्रमणको लागि पुनलाई आमन्त्रित र अमेरिकाको भ्रमणको संयोजनको भूमिका निर्वाह गर्ने सापकोटाले डा महाबिर पुनलाई करीव एक महिनाको लागि विभिन्न राज्यहरुमा नेपाली समुदायसंग अन्तरक्रिया र भेटघाट गराएका थिए ।

४ दिन अगाडी मात्र अर्थात् जुलाई ६ का दिन पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका थिए । डा पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो ।

पुनको अमेरिका भ्रमण निकै सफल रहेको छ भने उनले आविष्कार केन्द्रको बारेमा नेपाली समुदायलाई धेरै जानकारी दिन सके ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ ।आर्थिक सहयोग मात्र नभई केन्द्रलाई आफूले विदेशमा आर्जन गरेको शिप र ज्ञान पनि सहयोग गर्ने वचनबद्धता र प्रतिबद्धता जाहेर गरेका छन् ।

अमेरिकाका नेपाली समुदायले पुनलाई स्वत स्फूर्त रुपमा सहयोग गरेका छन् भने केन्द्रलाई निरन्तर रुपमा सहयोग गर्ने सबैले बचन दिएका छन् ।

। हाल सम्म ६.५ करोड पर्ने ५५ वटा वायु प्रवाहक (भेन्टीलेटर )सहित अन्य आर्थिक संकलन गर्दै करिब १० करोडको सहयोग नेपाल भित्रिने अनुमान छ।