एनआरएन यूके विवाद : समावेशी समूहले शनिबार बेलायतका सबै संघसंस्था र अगुवाहरुसँग छलफल गर्ने

लण्डन ।

गैर आवासीय नेपाली संघ, यूकेको आसन्न निर्वाचनका लागि गठित निर्वाचन समितिको गठन प्रक्रिया र समितिका समावेश व्यक्तिहरुका बारेमा असन्तुष्टि व्यक्त गरेको समावेशी समूहले आगामी शनिबार बेलायतस्थित नेपाली समुदाय सम्बद्ध सबै संघ संस्थाहरुसँग छलफल गर्ने भएको छ ।

निर्वाचन समिति संयोजक महेन्द्र कँडेलले एक पक्षीय रुपमा समितिमा चार सदस्य मनोनयन तथा सल्लाहकार समितिसमेत गठन गरेपछि समावेशी समूहले असन्तुष्टि जनाएको हो ।

निर्वाचन समितिमा मनोनित व्यक्तिहरु विवादास्पद रहेको र निर्वाचनमा सहभागी एक अर्को पक्षका उम्मेदवारहरुसँग निकट रहेको भन्दै सो समूहले उक्त समितिले गराउने निर्वाचन निश्पक्ष हुनेमा आशंका व्यक्त गरेको हो ।

एक पक्षीय रुपमा गठित समितिले निर्वाचनमा गर्न सक्ने संभावित धाँधली रोक्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गर्न बेलायतस्थित संघ संस्थाका प्रमुखहरु, समाजका अगुवाहरु तथा गन्यमान्य व्यक्तिहरुका बीचमा बैठकको आयोजना गरिएको समावेशी समूहका प्रमुख संयोजक शेर सुनारले जानकारी दिए ।

‘समिति गठनप्रति हाम्रो असहमति छ’, सुनारले भने, ‘यो समितिले निर्वाचनमा धाँधली गर्न सक्ने भएकाले त्यसलाई के कसरी रोक्न सकिन्छ भनेर छलफल गर्न बैठक बोलाइएको हो ।’

सुनारका अनुसार बेलायतको स्थानीय समय अनुसार शनिबार दिउसो दुई बजेका लागि बैठक आयोजना गरिएको छ । बैठक जुममार्फत भर्चुअल हुने छ ।

बैठकमा सहभागी हुन एनआरएनका अभियन्ताहरु, बेलायत निवासी समाजका गन्यमान्य तथा प्रबुद्ध व्यक्तिहरु, समाजका अगुवाहरु तथा नेपाली समाज सम्बद्ध विभिन्न संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरुलाई आग्रह गरिएको उनले जानकारी दिएका छन् ।

३१ जुलाईमा हुने निर्वाचनका लागि समावेशी समूहले वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरलाई अध्यक्षको उम्मेदवार तय गरेको छ । समितिका अन्य पदाधिकारी र सदस्यहरु पनि नेपाली समाजको प्रतिनिधित्व हुने तय गरिने एनआरएन निर्वाचन २०२१–२०२३ का लागि समावेशी समूहका संयोजक सुनारले जानकारी दिए ।

शनिबार हुने सर्वपक्षीय बैठकको निर्णय अनुसार निर्वाचन समितिका बारेमा थप धारणा तय गर्दै आवश्यक रणनीति बनाइने उनले जानकारी दिए ।