सामाजिक अभियन्ता ज्वाला संग्रौलालाई दुःख दिन पक्राउ गरिएको भन्दै रिहाई गर्न माग : पुर्व सचिब उपाध्याय

सामाजिक अभियन्ता पूर्वसचिव भीम उपाध्यायले समाजसेवामा लागेकी ज्वाला संग्रोलालाई दुःख दिन पक्राउ गरिएको भन्दै उनलाई रिहा गर्न माग गरेका छन् । गरिब दुःखी जनताको साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न संग्रौला समाज सेवामा खटिएको सबैले देखेको उपाध्यायले सामाजिक सञ्जालमा लेखेका छन् । पढ्नुहोस ।

ज्वाला संग्रौलालाई रिहा गर-

ज्वाला संग्रौला बहिनीले बिदेशमा बस्दा होस् कि स्वदेश फर्केर होस्, गरिब दु:खी जनताको साथमा रहने र उनीहरूको कष्ट निवारण गर्न समाज सेवामा खटिएको सबैले देखेका छन्।

समाज सेवामा फिल्ड खटिनेका बिरूद्ध समाजको बदमासहरू जाई लाग्ने गरेको पनि यता आएर प्रष्ट देखिएकै छ।

कतै कही केही भनाभन, झडप भएको भए कानुन बमोजिम काम कार्यवाही सबैलाई गर्नुपर्छ तर कार्यवाही गर्दा तारेखमा वा धरौटीमा छाडेर गर्ने परम्परामा पुलिस फोर्स लाग्नु नै जनताको नजरमा लोकप्रिय र उत्तरदायी भएको देखिने हुन्छ। कसैको दबाबमा वा होहल्लामा जसलाई पक्रिहाल्ने, थुन्ने र दु:ख दिने नियत राखेर पुलिस फोर्सले कहिल्यै माया र जस पाउदैन।

अहिले ज्वाला संग्रौलालाई हिरासतमा लिएको समाचार बाहिरिएको छ। उनीसंग अबिलम्ब सोधपुछ गरेर, चाहिने वयान लिएर तुरून्तै रिहा गरेर कानुनी कार्यवाही अघि बढाउनु नै उचित हो, यसरी हिरासतमा राखिराख्न जरूरी छैन।

समाज सेवा गर्नेहरूकै बिरूद्धमा अलोकप्रिय नेताहरू र तिनका पिछलग्गुहरू जाईलाग्ने गरेको तथ्य पुलिसले पनि राम्ररी बुझ्नुपर्छ। नत्र जनताको सुरक्षामा खटिने प्रहरीप्रति जनताका समाज सेवकमाथिको गलत ब्यवहारलाई जनताले नै गलत नजरले हेर्दै जाने हुनाले यसबाट कसैको हित हुन सक्दैन। राज्यले कसैलाई थुन्नु बहादुरी हैन, अधिकारको दुरूपयोग हुन्छ। ननबेलेबल बाहेक सबै केसमा तारेखमा छाडेर कानुनी कार्यवाही गर्नु नै स्वच्छ पुलिस प्रशासनको कार्यशैली हुनुपर्छ। पुलिस शक्तिको दुरूपयोग हुनु भनेको शासन कबाडी भएको लक्षण भनेर बुझिन्छ।

तसर्थ हिरासतमा रहेकी ज्वालालाई तत्काल रिहा गर्न म अनुरोध गर्दछु।

ननबेलेबल कसुरबाहेक कसैलाई थुनामा नराखियोस्। यस्तो गरिनु शक्तिको दुरूपयोग त हो नै, राष्ट्रिय श्रोतको दुरूपयोग पनि मानिन्छ।
मुलुकमा पुलिस निरन्तर बद्नाम हुदै जानु पनि यस्तै अनपेक्षित पटक पटकका अविवेकी कार्यशैलीका कारण हुदै आएको छ। लोकतन्त्रमा पुलिसको छबि सुधार्न झन् जरूरी छ। नवनियुक्त गृहमन्त्रीको विशेष ध्यान जाओस्।