बि.सं. २१७५ ( लघुकथा ) – रवीन्द्र समीर

रवीन्द्र समीर,
विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २१७५ सालको हो । यो कुरा वि.सं. २२७५ को पनि हुन सक्छ ।
एम्बुलेन्सले एक जना बृद्ध नेतालाई बेहोश अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ्ग सुई दिइयो, जुन त्यो बेलामा चिकित्सा विज्ञानले पत्ता लगाएको थियो ।

होसमा आएपछि उनले भने –‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगेँ । राष्ट्रपति बन्ने धोको छ । कान्छी पत्नी बल्ल बीस वर्ष पुगिन् । मलाई शारिरिक एवम् मानसिक रूपमा जवान हुनुपर्नेछ । पैसाको चिन्ता छैन । स्वीस बैंक, चाइना बैंक, इन्डिया बैंकदेखि प्रत्येक महादेशमा थुप्रै पैसा छ मेरो । पहिले कृत्रिम एवं मृत व्यक्तिको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, किड्नी, स्नायु आदि प्रत्यारोपण गरेकोले स्वास्थ्य राम्रो भएन । यसपटक जीवित व्यक्तिहरूको सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्नुपर्यो ।’

मानवता शून्य भएका डाक्टरहरूले भने –‘तपाईंका सबै अङ्ग ड्यामेज भएका छन । छाला पनि रिपियर गर्न नमिल्ने भएको छ । फेरि अङ्गहरू म्याच पनि हुनु पर्यो । घटीमा दश जना स्वस्थ्य व्यक्ति तपाईंको लागि वलिदान हुन तयार हुनुपर्दछ । यो सम्भव छैन । हामी अर्गान बैंकमा रहेका अङ्ग प्रत्यारोपण गछौं । केही वर्ष स्वास्थ्य लाभ हुन्छ ।’

बृद्ध नेताले भने –‘लिनुहोस यो स्वीस बैंकको अनलिमिटेड कार्ड । भोलि शहरमा दंगा हुनेछ, प्रहरीले बल प्रयोग गर्नेछ । सबै एम्वुलेन्सले घाइतेहरूलाई यही अस्पतालमा ल्याउनेछन् । उपचारको क्रममा उनीहरूको मृत्यु हुनेछ ।’