मिडल्याण्ड क्षेत्रका १२ मध्ये ११ उम्मेदवारले गरे प्रेम गाहा मगरको टीमसँग सहकार्य गर्ने निर्णय

लन्डन – एनआरएनए यूकेको जुलाई ३१ तारिखमा हुने गइ रहेको निर्वाचनमा मिडल्याण्ड क्षेत्रका १२ जना उम्मेदवार आकांक्षीहरु मध्ये ११ जनाले अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरको टीमसँग सहकार्य गर्ने जनाएका छन्।

एनआरएन यूके निर्वाचनलाई केन्द्रित गरी गठन गरिएको मिडल्याण्ड प्रतिनिधि मण्डलको बुधबार सम्पन्न जुम बैठकले गाहामगरको टीमसंग सहकार्य गर्ने निर्णय गरेको प्रतिनिधि मण्डलका संयोजक एवम् साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए ।

“बैठकको अत्यधिक बहुमतले प्रेम गाहा मगरको टिम संग सहकार्य गर्ने निर्णय गरेको हो। उपाध्यक्षका एक जना उम्मेदबार बाहेक सबै ११ जनाले प्रेम गाहा मगरको टिमसंग सहकार्य गर्ने निर्णय गरेको हाम्रो बैठकको जूम रेकर्डमा पनि हेर्न सकिन्छ,” शर्माले भने।

उपाध्यक्ष पदका एक जना उम्मेदबार पवन शर्मा भने असहमति जनाउंदै बैठकबाट निस्किएका थिए।

“उहांलाई बैठक बाट बाहिर निकालिएको भन्ने समाचार सही होइन। उक्त समाचार प्रमाणित गर्न हामी चुनौती दिन्छौं,” शर्माले भने। “एनआरएनएको यो चुनावी समयमा मात्र यो एक महिने राजनीति नगर्न पनि म अनुरोध गर्दछु। “

गत जुन २३ तारिख साझा नेपाली समाजको पहलमा एनआरएनए मिडल्याण्ड क्षेत्रका अभियन्ता, विभिन्न समाजका प्रतिनिधि, साझाका पूर्व अध्यक्षहरू एवं पदाधिकारी र प्रत्यासी उम्मेदवारीहरूको भेलाले साझा नेपाली समाजका वर्तमान अध्यक्ष कृष्ण शर्माको संयोजकत्वमा एनआरएनए यूकेको आगामी अधिवेशन र निर्वाचनका लागि आवश्यक निर्णय लिन एक अधिकार सम्पन्न प्रतिनिधि मण्डल गठन गरेको थियो ।

मिडल्याण्ड प्रतिनिधि मण्डल

एनआरएनए यूके मिडल्याण्ड प्रतिनिधि मण्डलमा एनआरएनए आईसीसी सदस्य दयानिधि सापकोटा, आईसीसी मानार्थ सदस्य रण बहादुर केसी, एनआरएनए यूके सचिव कोशलेश्वर ढकाल, एनआरएनए यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद सचिव गोविन्द शर्मा खरेल, एनआरएनए यूके पूर्व सदस्य पवन शर्मा सदस्य रहेका थिए ।

बैठकमा एनसीसीका कुन उम्मेदवारको टिममा सहभागी हुँदा आफ्नो क्षेत्रका आकांक्षीहरुको जित सुनिश्चित हुन्छ भन्नेमा छलफल भएको थियो । एनसीसीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका प्रेम गाहा मगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईमध्ये प्रेम गाहा मगरको जित सुनिश्चित रहेकाले गाहा मगरकै नेतृत्वको टिममा सहभागी भई निर्वाचनमा उम्मेदवार बन्ने निर्णय गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

‘जित्ने गरी चुनाव लड्ने हो, अध्यक्षका तीन मध्ये प्रेम गाहा मगरको जित सुनिश्चित जस्तै छ, त्यसैले उनकै टिमबाट चुनाव लड्ने बैठकले निर्णय गरेको हो’ अध्यक्ष शर्माले भने, ‘मिडल्याण्ड क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न पनि प्रेम गाहा मगरकै टिमबाट हाम्रा साथीहरुलाई सहभागी गराउने निर्णय गरेका हौं ।’

नेपाली समुदायको बाक्लो बसोबास रहेको मिडल्याण्डबाट मात्रै एक हजार ३ सय भन्दा बढीले पन्जीकृत सदस्यता लिएका छन् भने आधा दर्जन व्यक्तिले एनसीसी कार्य समितिमा जाने इच्छा व्यक्त गरेका छन् ।

१ पद दुई व्यक्ति हुँदा समस्या

मिडल्याण्ड क्षेत्रबाट एनसीसी उपाध्यक्षमा गोविन्द खरेल र पवन शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

बैठकमा एक पदमा एकजना मात्रै उम्मेदवार बन्ने सहमति भएको थियो । आकांक्षीहरुले पनि समाजले तोकेको पदमा उम्मेदवारी दिने सहमति जनाइसकेका थिए ।

तर, बैठकमा सहभागी कार्यदलका सदस्य एवम् उपाध्यक्ष पदका आकांक्षी पवन शर्माले भने आफू जसरी पनि उपाध्यक्ष पदमा उम्मेदवार बन्ने र समाजले निर्णय गरे पनि नगरे पनि आफू अगाडि बढ्ने बताएपछि समस्या भएको हो ।

‘एक पद एक व्यक्ति उम्मेदवार बन्ने निर्णयमा मेरो समर्थन छैन, म जसरी पनि उम्मेदवार बन्ने छु’, बैठकमा शर्माले भने ।

कार्यदलका अन्य पाँच सदस्यले बारम्बार आग्रह गरिरहँदा पनि पवन शर्माले ‘आफू उम्मेदवार बन्न पाउने भए ठीकै छ, होइन भने बैठकमा नै बस्दिनं’ भन्दै अडान राखिरहे । उनले अडान राखिरहँदा उपाध्यक्षका अन्य आकांक्षीहरुसँग बसेर सहमति खोज्न सकिने अन्य सदस्यहरुले बताइरहेका थिए ।

अन्य सदस्यहरुले बारम्बार आग्रह गर्दा पनि पवन शर्माले ‘म अहिले बैठकबाट बाहिरिएँ, तपाईंहरु सल्लाह गर्नुहोला’ भन्दै बैठक छाडेका थिए ।

उपाध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय नहुँदै बैठक छाडेर बाहिरिएका पवनले नै लगत्तै विभिन्न मिडियालाई सम्पर्क गरी आफ्नो उम्मेदवारी रहने बताएपछि विवाद सतहमा आएको हो ।