मेरी आमा घरभित्र जातीय छोईछाई नगर, बाहिर जे सुकै गर् भन्नुहुन्थ्यो : भीम उपाध्याय नेपाल सरकारका पुर्व सचिव

मलाई त छुवाछुत त कहिल्यै मतलब भएन। मेरा केही स्कूल र छिमेकमा साथीहरू कामी, दमाई सुनारहरू थिए। ती मेरा घरमा आउथे, म तिनका घरमा जान्थेँ। चिया खान्थेँ।

यो सबै विस २०३० साल अर्थात ४७ वर्षको अघिसम्मको कुरा हो। अहिलेको मेरो पुस्ताको परिवारमा त झन मतलबै छैन। छोराछोरीलाई त छुवाछुत के हो थाहा पनि छैन। तिनका छोराछोरीले झन् के थाहा पाउने होलान् ।

तर बजारमा अहिले जे स्यालहुईयॉ चलिरेहेको छ, मतलब नभए पनि तिनले पनि थाहा पाउने भए। यो यस्तो रोग हो जसको औषधी नै छैन तर नक्कली चिकित्सक नक्कली औषधी बॉड्दै हिड्दै ठग्ने दाउँ मात्र खोजिरहेका छन्। विदेशीहरूलाई हाम्रो देशको हितको हामी भन्दा बढी माया लागेझैँ चासो हुदै आएको छ। भाइ फुटे गवॉर लुटे यही हो। आफ्नो हित अहित केमा छ जुन पुस्ताले बुझ्दैन त्यो देश बस्नलायक हुदैन।

३७ साल अघिसम्म हाम्रो एउटा माटे फुसको एक कोठे घर थियो। तराईमा हामी गर्मीका कारणले बाहिरै सुत्थ्यौँ। पानी परेको बेला वा जाडोमा पिढीमा सुत्थ्यौँ। मेरा सुनार साथीहरूका ३ तले पक्की घरहरू थिए। उनीहरूको घरमा जाने गर्थेँ, चिया खाजा त कति खाईयो कति।

म संस्कृत पढेको मान्छे हैन, हिन्दु कर्मकाण्डी समाजमा हुर्किएको पनि हैन। पुजापाठ मन्दिर जानेमा मेरो कुनै लगाव पनि थिएन। व्रतवन्ध गर्दा गुरुले कानमा फुकेको गायत्री मन्त्र त्यो दिनपछि मैले कहिल्यै पढिनँ। त्यो मन्त्र के थियो बल्ल ६,७ वर्षअघिदेखि अहिले जानेँ । अहिले भने दैनिक गायत्रीमन्त्र पाठ गर्ने गरेको छु। मैले बाहुन भएर पनि जनै खासै लगाईनँ। मेरा मातापिताले पनि कुनै खास जोड गर्नु भएन। म अक्सर घरबाट बाहिर बाहिरै रहेँ, भएँ ।

कहिले पढ्न काठमाण्डौँ र विदेश त कहिले जागिरमा। सबै जातसंगै होस्टेलमा बसेँ , खाएँ। कसले पकायो कसले मतलब भएन होटेलहरूमा खाएँ। जहिले पनि मूल घर जॉदा पाहुना जस्तो भएँ। अहिलेसम्म म पाहुना जस्तै नै छु मेरो घरमा।

आमाले हो बेला बेलामा खै त तेरो जनै ? भन्दै गाली गर्दै एउटा खोजेर ल यो लगा भन्दै दिनुहुन्थ्यो। मलाई मतलब नभए पनि आमाको मन राख्न यसो एकदुई दिन जनै लगाई टोपल्थेँ। हाम्रो परिवार यस्ता मामलामा एकदम उदार हो। तर अहिले भने विगत १० वर्षदेखि जनै निरन्तर लगाईरहेको छु। म मन्दिर जादा पनि देउतालाई नमस्कार गर्दा लाज मान्ने गर्दथेँ तर अहिले जहॉ पुगे पनि सादर झुकेर नमस्कार गर्छु वा ढोग्छु।

ब्राह्मणको छोरा तर कुनै कर्मकाण्ड पनि नजान्ने हुँ। पहिले एउटा मन्त्र पनि नजान्ने तर अहिले ८/१० वटा पावरफुल मन्त्र दैनिक पाठ गर्छु। बाहुनको छोरा पवित्र हुन्छ भनेको नै बिहानै ४ बजे उठेर जाडो होस् कि गर्मीमा चीसो पानीले नुहाउने, ननुहाई चिया त खान नदिईने भएर होला। खानपीन र कडा अनुशासनमा चल्ने भएर होला।

३० सालतिर मेरा एउटा छिमेकी कामी दाइको छोरी जन्मियो। त्यसबेलासम्म मेरो त व्रतवन्ध पनि भएको थिएन। कामी दाइले आफ्नी छोरीको न्वारान गर्न भनेर मलाई अनुरोध गरे। मलाई मन्त्र र विधितरिका केही आउदैन दाइ भनेर जवाफ दिएँ। तिमी बाहुन हो त्यसै पवित्र हौ, तिमीले नै गरिदेउ भीम बाबु, म सबै सिकाउछु , त्यै त्यै गर्दै जानू भनेपछि न्वारान गर्न बसेँ। कामी दाइले यता अक्षता राख, उता फूल चढाउ, यसो गर उसो गर भन्दै गए । मैले उनले जेजसो गर भने त्यै त्यै गर्दै गरेर न्वारान १५ मिनेट जतिमा सकियो। ५ रूपैयॉ दक्षिणा दिए, फलफूल दिए। फलफूल घरमा ल्याएँ।

हामी त यसरी हुर्केको हो। चोर फटाहाहरूले अहिले मरेको बाघलाई ब्युत्याउन खोजिरहेका छन्। के सॉच्चै मरेको बाघलाई ब्युताउनै परेको हो?

(लेखक भिम उपाध्याय नेपाल सरकारका पुर्व सचिव हुन )