धन सार्कीले बेलायतमा शुरू गरेको ‘पोष्ट अफिस’ मेयरले गरे रिबन काटेर उद्घाटन

शिब भण्डारी

लण्डन । बेलायतको नेपाली समुदायमा सामाजिक अभियन्ता धन बहादुर सार्कीले खरिद गरेको पोष्ट अफिस अर्थात ‘हुलाक सेवा’ र आउटपोष्ट क्याफे’को एक कार्यक्रमबीच मंगलवार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

समाजसेवालाई आफ्नो मूल मर्म सम्झने अभियन्ता , नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष तथा ‘बाचौँ र बचाऔँ’ अभियानका संयोजक धन बहादुर सार्कीले सुरू गरेको अल्डरसट, रसमोर बरो काउन्सिल स्थित ‘नर्थ टाउन पोस्ट अफिस’ रशमोरका मेयर ब्रुस थमसले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मेयर थमससँगै काउन्सिलर किथ डिब्बल, काउन्सीलर गेनर अस्टिन, एनआरएनए यूकेका अध्यक्ष पूनम गुरुङ, रोयल नेप्लिज बरोका अध्यक्ष जित रानाभाट, तमुधिं लण्डनका पूर्वअध्यक्ष डेविड गुरुङ, शिवकल्चर कम्युनिटी सेन्टरका पूर्व अध्यक्ष रोहित गुरुङ, बीबीसी रेडियोका प्रस्तोता पिटर गोर्डन, गायिका गलिया मुट्लु लगायत उपस्थित भएर सञ्चालक सार्कीलाई बधाईसहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुले बेलायतमा नेपाली समुदायका मानिसहरुको व्यापार व्यवसाय बढ्दो क्रममा रहेको भन्दै धन बहादुर सार्कीले सुरु गरेको हुलाक सेवाले नेपालीभाषीहरुलाई अझै सजिलो हुने विश्वास व्यक्त गरेका थिए ।

खादा र ध्वजापतकासहित सजाइएको हुलाक उद्घाटन स्थल रमणीय बनाइएको थियो । हुलाक र आउटपोष्ट कफी शप उद्घाटन कार्यक्रममा सहभागि भएका सबैलाई धन्यवाद दिदै सञ्चालक सार्कीले उद्घाटन समारोहमा देखिएको उल्लासमय उपस्थितीले आफूमा काम गर्न उर्जा मिलेको बताए ।

अल्डरसट, रसमोर बरो काउन्सिल स्थित ‘नर्थ टाउन पोस्ट अफिसबाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिनेछ । ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड, आइडी भेरिफिकेशन, बैंकिङ कारोबार अन्तर्गत एकाउन्ट खोल्न, डिपोजिट–सेभिङ गर्न, पैसा निकाल्न, आइएसए खोल्न, चेक डिपोजिट गर्न क्रेडिट कार्ड लिन, मोर्गेज आदि सेवा उपलब्ध भएको सञ्चालक सार्कीले बताए ।

त्यसैगरी ट्राभल अन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने, इन्सुरेन्स, बस रेल, डिस्काउन्ट पास आदि समेत उपलब्ध छन् । इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत उपलब्ध छ ।

त्यस्तै पोष्ट अफिसको साइडमा रहेको आउटपोष्ट क्याफेलाई बेलायती तथा नेपाली समुदायका मानिसहरुलाई मिटिङ्ग पोइन्ट या भेटघाट गराउने स्थलको रुपमा विकास गर्ने गरी अघि बढेको सञ्चालकहरुले बताउँछन् । पोष्ट अफिसमा आउनेहरुले कफी, ब्रेकफास्ट लिन सकिन्छ । रमणीय बाताबरण रहेको देख्न सकिने यस कफी शपलाई मानिसहरुले मिटिङ्ग पोइन्ट बनाएका छन् ।

फरक र रणमीय स्थल बनाइएको यस ठाँउमा पोष्ट अफिस स्थापना हुँदा हुलाक सेवा र कफी पसलको अद्धितिय सान्दर्भिकता देखिन्छ ।

नेपालको गोर्खा जिल्लामा जन्मेर चितवन बसाइसरेका उनी पूर्व गोर्खा ब्रिटिस सैनिक समेत हुन् । विगत दुई दशक देखी बेलायतमा बसिरहेका सार्कीले समाजसेवा, जागिर र व्यवसायलाई एकैपटक व्यवस्थापन गर्न सक्षम भएका छन् ।

लण्डन नेपाल न्यूजको प्रश्नमा हाँस्दै उनले जवाफ दिए, ‘सवै सम्भव छ ।टेक्नोलोजीको जमानामा सबै कामहरु एकैपटक सहज रुपमा गर्न सकिन्छ । मैले समयको अधिकतम सदुपयोग गरेर अघि बढ्नेछु।’