कविता: अटाउँदिनन् आमा

फराकिलो कोखभित्र फुलेको फुल
फुलाएर फलाउँछिन् आमा
फुलभित्रै हजारौं सपना बुनेर
दिन ढलाउँछिन् आमा

स्वप्न लहरी समाएर
सपनाभित्रै रमाएर

चोटहरू सहेर तिमीलाई
दुख कटाउँदिनन् आमा
तर किन तिम्रो सपनाको महलमा
अटाउँदिनन् आमा।।

आमा प्रकृतिको अनुपम सृजना
आकाश अनि धर्ती हुन्
तिम्रा लागि हर हमेशा
उपदेश अनि अर्ति हुन्

सम्झाएर भरोसाका बातहरु
दिएर स्नेहका हातहरु

तिमीलाई सागरको गहिराई नाप्न
पठाउँदिनन् आमा
तर पनि तिम्रो आलिसान महलमा
अटाउँदिनन् आमा

लाग्छ तिम्रो आमा अरुभन्दा
धेरै धेरै भिन्न छिन्
पिठ्युँको गुरुङ्गो भारी बिसाउन नपाउँदा
अल्लि खिन्न छिन्

फाटेका मनहरु सिलाएर
आफैंलाई भित्रभित्रै मिलाएर

तिम्रा लागि वात्सल्यको हिसाव
घटाउँदिनन् आमा
तर पनि तिम्रो सुखी परिवारमा
अटाउँदिनन् आमा

तिरस्कारका बचनबाणहरु लिएर
धन्न बाँचेकी छन् आमा
छियाछिया परेको मुटुभित्र तिम्रै लागि
माया साँचेकी छन् आमा

अझै भन्छिन्
चिरन्जीवी हुनु तिमी
नभमा चन्द्र छुनु तिमी

आशीर्वचन सुनाएर दुखका खबरहरु
पठाउँदिनन् आमा
तर पनि तिम्रो आमाको परिभाषामा
अटाउँदिनन् आमा
अटाउँदिनन् आमा।।।
धन्यवाद।।

प्रज्ञा घिमिरे।