प्रकाश सपुत र मेलिना राईको गीतबाटै प्रार्थना कोरोनाविरुद्ध (भिडियोसहित)

काठमाडौं यतिबेला गायक प्रकाश सपुत खुसी छन् । आफ्नो नयाँ गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि उनी खुसी छन् । निषेधाज्ञामा धेरै संगीतकर्मी सुस्ताएको बेला गायक प्रकाश सपूत सक्रिय देखिए । उनले यसै बीचमा नयाँ गीत प्रार्थना रेकर्ड गरेर दर्शकमाझ ल्याएका छन् । यो गीतमा उनलाई गायिका मेलिना राईले साथ दिएकी छन् । यो गीतलाई अशोक शेरचनले लेखेका हुन् ।

यो गीतमा संगीत पनि प्रकाशले नै दिएका हुन् । जसमा योगेश काजीको संगीत संयोजन रहेको छ । गत महिना नेपाली युवाको पीडालाई समेटेर ‘मेरो पनि होइन र यो देशभन्ने गीत दर्शकमाझ ल्याएका सपूतले यसपटकको गीतमा कोरोना संक्रमणको समस्यालाई समेटेका छन् । मुलुकमा अहिलेसम्म जारी रहेको कोरोना महामारीले दैनिक सयौं नेपालीको ज्यान गइरहेको छ । यस्तो अवस्थामा मुलुकवासीलाई कोरोना संकटले दुःख नदियोस् भनेर यी गायकले गीतमार्फत प्रार्थना गरेका छन् । गीतमा उनले पार्थना गर्ने क्रममा कोरोनाका कारण कसैले ज्यान गुमाउनु नपरोस्, मृत्युका खबर पढ्न नपरोस्, कसैलाई समवेदना लेख्न नपरोस् भनेका छन् ।

यो व्यावसायिक गीत नभएका र सन्देश प्रधान गीत भएको सपूतले बताएका छन् । मुलुकवासीको पीडामा गीत संगीतबाट केही मात्रामा भए पनि मलम लगाउन आफूले यो प्रयत्न गरेको पनि यी गायकले बताएका छन् । कोरोनाको महामारीमा घरमै बस्नु पर्ने अवस्थामा आफूले उच्च सुरक्षा र सावधानी अपनाएर यो गीतको रेकर्डिङ गरेको उनले बताएका छन् । यस्तै उनले यो गीतको भिडियो छायांकन पनि सामाजिक दूरी कायम गरेर तयार गरेको बताएका छन् । यो गीतको भिडियो निर्देशन प्रवेश पौडेलले गरेका हुन् । गीतको भिडियोमा गायक प्रकाश सपूत, गायिका मेलिना राई प्रस्तुत भएका छन् ।